अर्घाखाँची । जिल्लाको सन्धिखर्कस्थित कुँडुले फाँटमा अर्घाखाँची महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी मेला आयोजना हुने भएको छ । अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा पुस २९ गतेदेखि माघ १२ गतेसम्म सञ्चालन हुने महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादनको प्रवर्द्धन र पर्यटकीय क्षेत्रको विकास रहेको छ ।
“कृषि, पर्यटन, उद्योग र व्यापार, स्थानीय उत्पादनको प्रयोग रोजगारीको मुख्य आधार” भन्ने मूल नारासहित आयोजना गरिने महोत्सवले जिल्लाको आर्थिक तथा सांस्कृतिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप मिश्रकाअनुसार महोत्सवमा जिल्लामा उत्पादित रैथाने खाना, फलफूल र विभिन्न सामाग्रीको बिक्री तथा प्रचारप्रसार हुनेछ। धार्मिक र पर्यटकीय स्थलहरूलाई व्यापक प्रचार गरेर पर्यटन क्षेत्रको विकासमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष मिश्रले बताउनुभयाे ।
साना उद्योगबाट उत्पादन गरिएका आयमूलक वस्तुहरूका लागि महोत्सवमा निःशुल्क स्टलको व्यवस्था गरिएको छ । स्थानीय व्यवसायीहरूलाई प्रोत्साहन गर्न ५० प्रतिशत छुटमा स्टल प्रदान गरिने जानकारी पनि उहाँले दिनुभयाे ।
महोत्सवको समुद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम रहेको छ । यस महोत्सवमा करीब ३०० स्टल रहने भएका छन् भने र ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । साथै, महोत्सवबाट ५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको उद्योग बाणिज्य संघ अर्घाखाँचीले जनाइएको छ । महोत्सवमा विद्यार्थीहरुलाई प्रवेश शुल्क ५० रुपैयाँ, सर्वसाधारणलाई ८० रुपैयाँ प्रवेश शुल्क लिइनेछ भने जेष्ठ नागरिक, अशक्तहरुलाई प्रवेश निःशुल्क बनाइएको छ ।
दैनिक दर्शकहरूको मनोरञ्जनका लागि महोत्सवमा स्थानीय, प्रदेश तथा केन्द्रीय स्तरका कलाकारहरूको प्रस्तुति रहनेछ । सांस्कृतिक संयोजक सन्तोष बस्नेतकाअनुसार स्थानीय झाँकी र विविध सांस्कृतिक कार्यक्रमले महोत्सवलाई थप आकर्षक बनाउनेछन् ।
महोत्सवलाई व्यवस्थित रूपमा सञ्चालन गर्न अध्यक्ष मिश्रको संयोजकत्वमा मूल आयोजक समिति र विभिन्न उपसमितिहरू गठन गरिएको छ । यस महोत्सवले अर्घाखाँचीको सांस्कृतिक पहिचानलाई उजागर गर्दै स्थानीय उत्पादन र पर्यटन विकासमा दीर्घकालीन योगदान पुर्याउने विश्वास गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच