काठमाडौं । सरकारले पछिल्लोपटक ल्याएका अध्यादेशलाई संसद्बाट फास्ट ट्र्याकमा पारित गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हालै जारी भएका अध्यादेश फास्ट ट्र्याकमा पारित गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभएको हो । अध्यादेशहरू कार्यान्वयनका लागि फास्ट ट्र्याकबाट पारित गरेर आवश्यक नियमावलीहरू बनाउने निर्णय भएको जानकारी दिँदै गुरुङले भन्नुभयो, ‘हिउँदे अधिवेशन माघ १८ गते सुरु हुँदै छ । यो हिउँदे अधिवेशनबाट राष्ट्रपतिबाट पारित भएका अध्यादेशहरूलाई संसद्मा फास्ट ट्र्याकबाट पास गर्ने काम हुन्छ । ती अध्यादेशहरू कार्यान्वयनका लागि नियमावलीहरू तदारुकताका साथ बनाउने निर्णय गरेका छौँ । अध्यादेश कार्यान्वयनमा जान्छ ।’
सरकारले सुशासन प्रवद्र्धन र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न अध्यादेश ल्याएको उहाँको जिकिर छ । विपक्षीले भने जस्तो संसद् छल्ने बदनियत सरकारको नभएको स्पष्टीकरण दिँदै प्रवक्ता गुरुङले भन्नुभयो, ‘सुशासन प्रवद्र्धन गर्नका लागि र अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्नका लागि अध्यादेश ल्याइएको हो । संसद्मा दर्ता भइसकेको छ । छलफलपछि पारित हुन्छ । सरकारले संवैधानिक अधिकारको प्रयोग गरेर नै अध्यादेश ल्याएको हो । अध्यादेश कसरी बदनियत हुन्छ ? यो प्रतिपक्षीको भाषा होला ।’ अध्यादेश कार्यान्वयनका लागि नियमावली बनाउने काम तदारुकताका साथ अघि बढ्ने उहाँको दाबी छ । संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेबाट सुरु हुँदै छ । सोही दिन सरकारले ल्याएका ६ वटा अध्यादेश पेस गर्ने तयारी छ । गत पुस २६ गतेको मन्त्रिपरिषद्को बैठकले ६ वटा अध्यादेश ल्याएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिशमा अध्यादेश जारी गरिसक्नु भएको छ । राष्ट्रपति पौडेलले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र भूमिसम्बन्धी अध्यादेश जारी गर्नुभएको हो ।
कार्यव्यवस्था परामर्श समिति बैठकमा कांग्रेस र माओवादीबीच नोकझोक
संसद्को हिउँदे अधिवेशनको बैठकबारे छलफल गर्न सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेपाली कांग्रेस र माओवादीबीच नोकझोक चलेको छ । मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेबीच सरकारले ल्याएको अध्यादेशलाई लिएर भनाभन भएको हो । बैठकबाट बाहिरिने क्रममा प्रमुख सचेतक पाण्डेले आफूहरूले अध्यादेशको बारेमा बैठकमा कुरा उठाएको जानकारी दिँदै भन्नुभयो, ‘हामीले अध्यादेशको विषयमा कुरा उठाएका छौँ । सरकारले अध्यादेश किन ल्यायो ? अहिले भन्ने विषय आजको बैठकमा उठायौँ, मन्त्रीज्यू पूरै समय बस्नुभएन । उहाँले आवश्यकताअनुसार ल्यायौँ भन्नुभयो । तर, सदनको सबैभन्दा ठूलो दलको प्रमुख सचेतकले अब सरकार त अध्यादेशबाटै चलाउने हो भन्नुभयो ।’ कांग्रेसका सचेतक घिमिरेले अध्यादेशको पक्षमा बोलेपछि आफूले प्रतिप्रश्न गरेको जानकारी दिँदै पाण्डेले भन्नुभयो, ‘योभन्दा अगाडि त संसद् नै विघटन भएको थियो । अहिले पनि ६ वटा त आएकै छ भनेँ । उहाँले अब सदनमा विधेयक नआएपछि त अध्यादेश नै ल्याएर चलाउने हो भन्नुभयो । त्यसपछि प्रतिपक्षको तर्फबाट मैले अब सधैँ अध्यादेशबाटै चल्न खोजेको हो ? भन्दै प्रश्न उठाएको छु ।’ पाण्डेको प्रतिक्रियापछि कांग्रेसका प्रमुख सचेतक घिमिरेले आफूले बोलेको कुरालाई बंग्याएर प्रचार गरेको प्रति असन्तुष्टि जनाउँदै भन्नुभयो, ‘उहाँ (पाण्डे)ले भर्खरै बोल्नुभएको मैले सुनेँ । तर, संसद्मा कानुन निर्माण गर्ने प्रक्रिया धिमा गतिमा भयो । दुई वर्षको अवधिमा जम्मा ११ वटा कानून मात्रै बनाएका छौँ । त्यसैले यो ढिलाइ हुने प्रक्रियाको कारणले सरकारलाई अध्यादेश ल्याउन प्रेरित ग¥यो । त्यसकारण हामीले कानुन बनाउने प्रक्रियालाई गति दिनुपर्छ भन्ने कुरालाई उहाँले अतिरञ्जित गरेर अब अध्यादेशले मुलुक चलाइन्छ भन्नुभयो भनेर बोल्नुभयो । उहाँले नबोल्ने कुरा बोल्नुभयो ।’
पहिलो बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने
प्रतिनिधि सभाको पाँचौँ अधिवेशनको पहिलो दिन राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले माघ १८ देखि सुरु हुन लागेको हिउँदे अधिवेशनको पहिलो दिन शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका पारित गरेको हो । कार्यव्यवस्था महाशाखा प्रमुख तथा संसद्का प्रवक्ता एकराम गिरीले प्रत्येक राजनीतिक दलबाट पहिलो बैठकमा सम्बोधन हुने कार्यतालिका पारित भएको जानकारी दिनुभएको छ । पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी भएको तर निश्चित भइनसकेको बताइएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले पहिलो बैठकमा सम्बोधन गर्न इच्छा राखेको जानकारी दिनुभएको छ । पहिलो दिनको बैठकमा अध्यादेश पेस हुने, राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन हुने र राजनीतिक दलका प्रतिनिधिले सम्बोधन गर्ने कार्यतालिका पारित भएको हो ।
अध्यादेशप्रति आमरूपमा सकारात्मक प्रतिक्रिया आएका छन् : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति आमरूपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको दाबी गर्नुभएको छ । यही माघ १८ गतेदेखि सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा मंगलबार बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले स्वदेशमा काम गर्ने उचित वातावरण दिन, जनताका सेवामा प्रभावकारिता ल्याउन र उद्योग-व्यवसाय सुसञ्चालनका लागि सहज वातावरण बनाउन अध्यादेश ल्याइएको जिकिर गर्नुभयो । ओलीले विभिन्न अध्यादेशबाट २९ वटा कानुनमा संशोधन गरिएको र छिट्टै प्रतिस्थापन विधेयक ल्याएर स्थायी कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्ने जानकारी दिनुभयो । ओलीले सदनमा तथ्य र तर्कका आधारमा संयमित र जिम्मेवार रूपमा प्रस्तुत हुन तथा प्रभावकारी उपस्थिति जनाउन सांसदहरूलाई आग्रह गर्दै अरूले गलत आरोप र भ्रम छरेमा रचनात्मक र सशक्त प्रतिवाद गर्नसमेत निर्देशन दिनुभएको छ ।
संसद्लाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर छ : बर्तौला
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद्लाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर रहेको बताउनुभएको छ । मंगलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि बर्तौलाले भन्नुभयो, ‘संसद्को बैठकका मितिहरू हेरफेर गरिएका छन् । कार्यसूची त लगभग त्यही नै भयो । २४ गते अध्यादेशहरू संसद्मा पेस हुनेछन् । २५ पनि बैठक हुनेछ । २७, २८, २९ गते बैठक हुनेछ । संसद्लाई प्रभावकारी बनाउने कुरामा सत्तापक्ष अलि बढी जिम्मेवार हुनुपर्छ । पाल्र्यामेण्ट्री कमिटीहरूको बैठकमा कोरम पुर्याउने सन्दर्भमा भन्ने कुरा उठाउनु भयो । संसद् र संसदीय समितिमा सत्तापक्ष महत्वपूर्ण हुन्छ । बढी जवाफदेही रूपमा भूमिका निर्वाह गर्नुपर्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच