
पूर्वराजा ज्ञानेन्द्र शाहले ७५औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा दिएको एउटा सन्देश अहिले चर्चाको शिखरमा छ । विशेष गरेर गणतन्त्रवादी नेताहरूको निन्द्रा हराएको छ । देश अहिले व्याप्त असन्तुष्टि र निराशाले ढपक्क ढाकेको अवस्थामा ज्ञानेन्द्र शाहको त्यस वक्तव्यले कांग्रेस र कम्युनिष्टहरू आतंकित र त्रसित हुनु स्वाभाविकै हो । अर्को कांग्रेस र कम्युनिष्टहरू आफैं आन्तरिक झगडाले रुमलिएको स्थितिमा गद्दीच्युत राजाले आफ्नो उपस्थिति खोज्नुले परिस्थिति थप जटिल र अन्योलग्रस्त देखिनु कुनै नौलो कुरा भएन । उता नेपाली कांग्रेसमा पन्ध्रौं महाधिवेशनको विषयलाई लिएर विवाद छताछुल्ल भएको छ भने कम्युनिष्ट नामका पार्टीहरूमा पनि त्यही हबिगत छ ।
यता देशका कथित मुख्य भनिएका दलहरूप्रति आम नेपालीहरूको विश्वास घट्दो अवस्थामा पूर्वराजाले दिएको सन्देश निकै चोटिलो र पेचिलो बनेको छ । अरूभन्दा पनि ‘गद्दी त्यागेको विषयलाई कमजोरी नठानियोस्’ भन्ने वाक्यांशले गणतन्त्रादीलाई आतंकित र त्रसित बनाएको हुनुपर्छ । यद्यपि देखिने गरी कुनै त्यस्तो भाव नझल्किए पनि कहिँ न कहिँ चोटिलो प्रहार पक्कै पनि भएको छ भन्ने बुझ्न सजिलै सकिन्छ । पूर्वराजाबाट पनि परिस्थितिको सही समीक्षा र मूल्यांकन नगरी त्यसै झटारो हानिएको होला भन्न सकिँदैन । यसै पनि दलहरू (कांग्रेस कम्युनिष्टहरू)प्रति जनताको असन्तुष्टि चरमचुलीमा पुगेका बेला पूर्वराजाको झटारोले निःसन्देह मर्म-मर्ममा हानेको छ ।
यसर्थ ज्ञानेन्द्र शाहले आफ्नो उपस्तिथि खोज्नका लागि हानिएको झटारोलाई त्यति अन्यथा लिइएको जस्तो पनि देखिँदैन । यद्यपि प्रजातन्त्रको पुनस्र्थापना र गणतन्त्र स्थापनासम्म आइपुग्दाको भौतिक विकासको तुलनात्मक अध्यान, विश्लेषण गर्ने हो भने केही नभएको भने होइन तर पनि जनताको चाहना र आवश्यकता तीव्रगतिमा बढेकाले केही नभएको हो कि भन्ने भान पर्न गएको छ । अहिले सबैभन्दा बढी र विकराल रूप हो शैक्षिक बेरोजगार । बढ्दो शैक्षिक बेरोजगारीले आज ठूलो समस्या पैदा गरेको छ । बेरोजगार युवाहरू चाहे ती पढेलेखेका हुन् वा अपठित सबै खाले आजको मुख्य समस्या हो ।
पूर्वराजाको सन्देशपश्चात् राजनीतिक बृत्तमा ठूलै खैलाबैला फैलिएको छ । ज्ञानेन्द्र शाहको एउटा वक्तव्यले यस्तो तरंग ल्याइदिएको छ कि कतै उत्साह, उमंग देखिएको छ भने कतै भय र आशंका पैदा गरिदिएको छ । राजावादीहरू चुमुकचुमुक चम्किएका छन् ।
राणाहरूले शिक्षण संस्थाहरू खोल्दा आफ्ना खुट्टामा आफैंले बञ्चरो हानेको महसुस गरेका थिए रे । शिक्षित समाजका नागरिकहरू सबै खाले बेथितिलाई टुलुटुलु हेरेर बस्दैनन् । आहिले त्यही भएको छ नेपालमा । तुलनात्मक अध्ययन गर्दा वर्तमान नेपालमा शिक्षाको विकास भएको छैन भन्नु अन्याय हुन्छ । होला कहिँकतै छिटफुट मात्रामा शिक्षाको उज्यालो नपुगेको पनि हुनसक्छ तर त्यसो भन्दैमा केही पनि भएको छैन भन्नु सही नहुन सक्छ । समयको गति अगाडि बढिसकेको सन्दर्भमा पूर्र्वराजाले आफ्नो थप स्थानको खोजी गर्नु मनासिब हो कि होइन यस विषयमा बहस आवश्यक देखियो । तर, ७५औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा उहाँले दिएको वक्तव्यले प्रष्ट रूपमा सक्रिय स्थान खोजेको बुझ्न सकिन्छ ।
पूर्वराजाको सन्देशपश्चात् राजनीतिक बृत्तमा ठूलै खैलाबैला फैलिएको छ । ज्ञानेन्द्र शाहको एउटा वक्तव्यले यस्तो तरंग ल्याइदिएको छ कि कतै उत्साह र उमंग देखिएको छ भने कतै भय र आशंका पैदा गरिदिएको छ । राजावादीहरू चुमुकचुमुक चम्किएका छन् । दुर्गा प्रसाईं त सामाजिक सञ्जालमा भन्दैथिए म अब राजालाई हातमा समाएर दरबार लान्छु । हेरौं आर्मी पुलिसले के गर्छन् ? यति धेरै अराजक देखिएका दुर्गा प्रसाईं के पैसाकै बलमा मात्रै हो कि या अरू कुनै शक्तिको आडभरोस पनि छ त्यो त निकट भविष्यमा प्रष्टिँदै जानेछ तर खासै औपचारिक शिक्षा नपाएका प्रसाईं माओवादी र नेकपा एमालेबाट राजनीतिक प्रशिक्षण भने पाएका मान्छे रहेछन् । चाहे जे होस् उनको चुरिफुरी उनको कदभन्दा धेरै माथि भएको अनुभव गरिँदैछ ।
माओवादी केन्द्रका अध्यक्ष क.प्रचण्ड ज्ञानेन्द्र शाहको वक्तव्यपछि केही नरम भाषामा प्रकट भएका छन् र जनताको पक्षमा सबै मिलेर काम गर्नुपर्ने बताए । सत्तारुढ दलहरूको कुनै त्यस्तो प्रतिक्रिया सार्वजनिक भएको सुनिएको छैन । ज्ञानेन्द्र शाहको वक्तव्यलाई सत्तासीन दलहरूले खासै कुनै महत्व दिएजस्तो देखिँदैन । बरू डा.बाबुराम भट्टराईले भने पूर्वराजाले सीमा नाघे ठेगानमा राख्नुपर्छ भनेको सुनियो तर आमनागरिकमा भने त्यति नकारात्मक असर परे जस्तो देखिँदैन । पूर्वराजाको सन्देशलाई सकारात्मक रूपमै बुझेको पाइन्छ । यसको मुख्य कारण हो भ्रष्टाचारको दुर्गन्ध । अर्को कारण हो युवाशक्ति पलायन हुनु । तस्रो हो देशमा रोजगारी सिर्जना नहुनु र चौथो हो कृषियोग्य जमिन बाँझै रहनु ।
यी र यस्तै कारणले यो लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति जनताको विश्वास टुट्दै गएको मौका छोपी ज्ञानेन्द्र शाहले झटारो हानेका हुन कि भन्ने अनुमान गर्न सकिन्छ । कसै-कसैले त चीन, भुटान, भारतसँगको सहयोग र साथ पाउने अश्वासन पश्चात् मात्र ७५औं प्रजातन्त्र दिवस पारेर वक्तव्य रूपी झटारो हानेका हुन् पनि भनिन्छ । कतै त यस्तो पनि सुनियो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ज्ञानेन्द्र शाहको व्यापारिक साझेदार हुन् । त्यसैले ट्रम्पको हालैका कदम पूर्वराजाका लागि सघाउ पुर्याउन गरिएको हो पनि भन्छन् । जे होस् धमिलो पानीमा माछा मार्नेहरूका लागि यो वक्तव्य सहायक सिद्ध हुने नै भयो ।
आफ्ना लागि परिस्थिति अनुकूल हुँदैगरेको देखेर नै ज्ञानेन्द्र शाहले झटारो हानेका हुन् भन्न कुनै अप्ठ्येरो मान्नु पर्दैन । राजनीतिक विश्लेषकका कुरा सुन्दा पनि पूर्वराजाको सन्देश लोकतान्त्रिक गणतन्त्रका लागि त्यति सुखद् छैन । एकातिर लोकतान्त्रिक गणतन्त्रवादीहरू चर्को विवादमा पर्ने अर्कोतिर पूर्वराजाले आफ्नो स्थानको खोजी गर्नु संयोगमात्रै भन्न सकिने ठाउँ देखिँदैन ।
कहिलेकाहिँ यस्ता भनाइ चाहे त्यो वक्तव्यको रूपमा बुझौं या सन्देश तर त्यसले ठूलै तरंग ल्याइदिएको छ । यसलाई हल्का रूपले लिनु हँुदैन भन्ने बुझ्न जरुरी छ । पूर्वराजा ज्ञानेन्द्र शाह २४० वर्ष लामो बिरासत प्राप्त उत्तराधिकारी थिए भन्ने कुरा बिर्सनु हुँदैन । अब गणतन्त्रवादीहरू गम्भीर हुनुपर्ने देखिन्छ । यो गणतन्त्र किन डग्मगाउन थालेको छ भन्ने तथ्य जगजाहेर नै छ त्यो हो भ्रष्टाचार । भ्रष्टाचारका सिलसिलाहरू खात लागेर बसेका छन् । ती भ्रष्टाचार भयो भनिएका फाइलहरू एक-एक गरी केलाउनुपर्छ । आफ्नो र अर्को नभनी पुर्पक्ष नगरी चाहे जोसुकै परून् कानुनको कठघरामा उभ्याउनुपर्छ अनिमात्र गुम्दै गएको जन-विश्वास आर्जन गर्न सकिन्छ । आफू शक्तिमा हुँदा निदाएर बस्ने बाहिरिएपछि पश्चाताप गर्ने भुल कहिल्यै गर्नुहुँदैन ।
यदि हिम्मत छ भने बहुचर्चित गिरिबन्धु टिस्टेटको जग्गा सट्टापट्टा गर्न दिने मन्त्री परिषद् निर्णयमाथि छानविन हुनुपर्छ । त्यस्तै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर पैसा कुम्ल्याउने र देशको शिर झुकाउनेमाथि तुरुन्त कारबाही प्रक्रिया अघि बढाउनुको विकल्प खोज्नतिर लाग्न हुँदैन । यति गरेपछि रवि लामिछानेको मुख पनि थुनिन्छ । एउटा आश्चर्यको कुरा के छ भने गाउँगाउँ र घरघरमा संगठन पुगेका यत्रा ठूला दलहरू किन यति कमजोर छन् ? एउटा व्यत्ति दुर्गा प्रसाईं किन यति उच्च-मनोबलका साथ हिँडेका छन् ? यस्ता जिज्ञासाहरू अझै अनुत्तरित नै छन् । तथापि दलहरू विशेष गरेर कम्युनिष्ट र कांग्रेस किन जनआवाजलाई बेवास्ता गरिरहेका छन् ?
यही चालले देश चलाउँछौं भन्ने भ्रम पालिराख्ने हो भने निश्चय पनि दुर्भाग्यका दिन धेरै टाढा हुने छैनन् । यो कुनै कल्पनाशील कुरा होइन, ज्ञानेन्द्र शाहले हालै दिएको वक्तव्य नै काफी छ । तसर्थ परिस्थिति त्यति अनुकूल छैन गणतन्त्रका लागि । परिस्थिति अनुकूल हुँदैगरेको देखेर नै ज्ञानेन्द्र शाहले झटारो हानेका हुन भन्न कुनै अप्ठेरो मान्नुपर्दैन । राजनीतिक विश्लेषकका कुरा सुन्दा पनि पूर्वराजाको सन्देश लोकतान्त्रिक गणतन्त्रका लागि त्यति सुखद् छैन । एकातिर लोकतान्त्रिक गणतन्त्रवादीहरू चर्को विवादमा पर्ने अर्कोतिर पूर्वराजाले आफ्नो स्थानको खोजी गर्नु संयोगमात्रै भन्न सकिने ठाउँ देखिँदैन ।
यसर्थ विकसित पछिल्लो परिस्थितिलाई गम्भीर भएर सोच्नुपर्ने बेला आइसकेको छ । त्यसैले सुशासनको दिशामा पाइला चाल्न अब कत्ति पनि ढिला गर्नु हुँदैन । हालै प्रतिनिधिसभामा माननीय डा.स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको विवरण अत्यन्तै आक्रमक र चोटिलो छ । यस विषयले पनि राजावादीहरूको मनोबल बढाएको छ । सरकार र नेताहरू प्रतिका आरोप र आक्षेपहरू आपत्तिजनक छन् जसबाट गणतन्त्रको रक्षा हुन सक्दैन । यसर्थ सरकार र नेताहरूमाथि लगाइएका आरोप र लाञ्छनाहरूबाट छिटोभन्दा छिटो सफाइ लिनुपर्छ । अन्यथा गणतन्त्र बाई बाई हुने सम्भावना नकार्न सकिँदैन । पूर्र्वराजाको एउटा वक्तव्यले गणतन्त्र स्वाहा हुने दिन धेरै टाढा छैन । आतंकित र त्रसितमात्र भएर केही हुनेवाला छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच