
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कांग्रेस-एमाले गठबन्धन सरकारको अकर्मण्यताका कारण नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानीसम्बन्धी ‘ग्रे लिस्ट’ मा परेको आरोप लगाउँदै माओवादी केन्द्रले प्रधानमन्त्रीको राजीनामा मागेको हो । आइतबार बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले वर्तमान सरकारले नैतिक रूपमा मार्गप्रशस्त गर्नुपर्ने जिकिर गर्दै भन्नुभयो, ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामलामा निगरानी राख्ने अन्तरदेशीय अन्तर्राष्ट्रिय संस्था एफएटिएफले नेपाललाई आधिकारिक रूपमा ग्रे लिस्टमा चढाएको छ । सरकारको अकर्मण्यता, वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभाव र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल अन्ततः यो लज्जाजनक अवस्थामा पुगेको छ । यसप्रति खेद व्यक्त गर्न चाहन्छु, निन्दा व्यक्त गर्न चाहन्छु ।’ यो घटनाले सरकार सुशासनका पक्षमा छैन र सरकार सम्पूर्ण रूपमा असफल भएको संकेतका रूपमा आफूहरूले लिएको टिप्पणी गर्दै सांसद सापकोटाले भन्नुभयो, ‘सरकारको त कुनै विश्वास र भरोसा रहेन नै । सिंगै देशको इज्जत, प्रतिष्ठा र मान–संरक्षण र रक्षाका खातिर सम्मानित प्रतिनिधि सभाले विशेष महत्वको रूपमा लिएर थप कदमका लागि गम्भीर बनोस् भनेर ध्यानाकर्षण गराउन चाहन्छु ।’
पूर्वराजाको अभिव्यक्तिप्रति सांसदहरूको आक्रोश
पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिले संसद्मा प्रवेश पाएको छ । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले शुभकामना सन्देश दिने क्रममा आफूले गरेको त्यागलाई कमजोरी नठान्न चेतावनी दिनुभएको थियो । तर, सांसदहरूले जनताको मतलाई पूर्वराजाले अन्यथा व्याख्या गरेको भन्दै आपत्ति जनाएका छन् । सत्तारूढ दलको प्रमुख घटक नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर संसद्मा आउन चुनौती दिँदै भन्नुभयो, ‘सत्तामा नै यदि फर्किने चाहना छ भने टीका लगाएर या कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै २०८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस् । पूर्वराजाका समर्थकलाई पनि यही बाटो अवलम्बन गर्न आग्रह गर्दछु ।’ सांसद न्यौपानेले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले सार्वजनिक गरेको अभिव्यक्तिलाई लिएर समाजमा अराजकता फैलाइएको टिप्पणी गर्दै भन्नुभयो, ‘प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले सार्वजनिक गरेको विचारलाई लिएर समाज तरंगित त भयो नै पक्ष र विपक्षमा मतहरू छताछुल्ल भए । यो व्यवस्था नै ठीक छैन भन्ने डंका पनि पिटिए । जसले यो व्यवस्था ल्याउन कुनै योगदान गरेनन्, यो व्यवस्थाको भरपुर फाइदा उठाए । विडम्बना उनैले संविधानविरुद्ध बोलिरहेका छन् ।’
पूर्वराजा लक्षित वामदेवको चेतावनी : ब्रिटेन र फ्रान्सको घटना दोहोरिन सक्छ
राष्ट्रियसभा सदस्य वामदेव गौतमले पुनः राजा बन्ने चाहना परित्याग गरेर प्रजातान्त्रिक प्रक्रियामार्फत प्रधानमन्त्री बन्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिनुभएको छ । आइतबार राष्ट्रिय सभाको बैठकमा गौतमले राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गरी २०८४ मा हुने निर्वाचनमा भाग लिन सुझाव दिँदै भन्नुभयो, ‘राजा महेन्द्रलाई चितवनको दियालो बंगलामा हत्या गर्ने पनि राजपरिवारकै व्यक्ति हुन् । त्यसपछि राजा वीरेन्द्रको राजासहित वंश विनाश गर्ने पनि राजपरिवारकै सदस्यहरू हुन् । तपाईंले पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुस् र केही समयपछि २०८४ मा हुने निर्वाचनमा भाग लिनुस् । निर्वाचित भई संसद्बाट प्रधानमन्त्री बन्नुस् ।’ सांसद गौतमले ज्ञानेन्द्रले फेरि राजा बन्ने कोसिस गरे ग्रेट ब्रिटेन र फ्रान्सको घटना दोहोरिन सक्ने चेतावनीसमेत दिनुभयो ।
गोकुलको व्यंग्य- ‘प्लेन टिकट काटिदिनु राजा फर्किहाल्छन्’
नेकपा एमालेका सांसद गोकुल बास्कोटाले राजा फर्काउन आन्दोलन गरिराख्नु नपर्ने टिप्पणी गर्नुभएको छ । पूर्वराजा ज्ञानेन्द्रप्रति व्यङ्ग्य गर्ने क्रममा बास्कोटाले पोखरा पुगेका पूर्वराजा ज्ञानेन्द्र काठमाडौं फर्किन प्लेन टिकट किन्दिए मात्र पुग्ने उल्लेख गर्दै भन्नुभयो, ‘के गर्न राजा फर्काउने ? ०५९ सालको असोज १७ या ०६१ माघ १९ गते फर्काउन ? के को लागि फर्काउन ? राजा फर्काउन पोखरामा जुलुस गर्नुपर्छ ? धेरै दुःख गर्नुपर्दैन, एउटा प्लेन टिकट काटिदिनुस् हजुर, जुलुस नगरी फर्किहाल्छन् । फर्किने भनेको काठमाडौं त होला नि सिंहासनमा फर्किन त सम्भवै छैन ।’ सांसद बास्कोटाले दक्षिणपन्थी र वामपन्थी विचार बोक्नेको एउटै चुलो बलेको हो ? भनेर माओवादीसँग प्रश्नसमेत गर्नुभएको छ ।
रास्वपालाई प्रश्न, ‘दुई देशको नागरिकता छाडेको प्रमाण खोइ ?’
नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सहकारी ठगी सम्बन्धमा सरकारले गरिरहेका कारबाहीलाई प्रतिशोध भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आरोप गलत रहेको जिकिर गर्नुभएको छ । सांसद बास्कोटाले सभापति रवि लामिछानेले दोहोरो नागरिकता राखेको विषयमा बोल्न रास्वपालाई चुनौती दिँदै भन्नुभयो, ‘मेरो सामान्य प्रश्न छ, जनताको पनि प्रश्न छ-सहकारीमा बेइमानी, ठगी भएको कुरा के अरूले छानविन गरेर निष्कर्ष निकालेको कुरा हो ? त्यति कुराको हेक्का छ/छैन ? प्रतिशोध भन्ने हो भने दुईवटा देशको नागरिकता बोकेर हिँडेको अहिलेसम्म कारबाही भएको छैन । एउटा देशको नागरिकता छाडेको प्रमाण पेस गरेको खोइ ?’
नेताहरूको सम्पत्ति छानविन गर्न डिपीको प्रस्ताव
रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी)ले राज्यको उच्च तहमा पुगेका नेता तथा व्यक्तिहरूको सम्पत्ति छानविनका उच्चस्तरीय आयोग बनाउन आग्रह गर्नुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा अर्यालले प्रधानमन्त्रीले आफू पनि भ्रष्टाचार नगर्ने र गर्न नदिने बताउँदै आएको उल्लेख गर्दै राज्यको उच्च निकायमा सबैको सम्पत्ति छानविनका लागि उच्चस्तरीय शक्तिशाली छानविन आयोग बनाउन आग्रह गर्नुभएको हो । प्रधानमन्त्री केपी ओलीले आफ्नो र सत्तारूढ दलका नेतामाथि लाग्दै आएको आरोपको छानविनका लागि मार्गप्रशस्त गर्ने हिम्मत देखाउन चुनौतीसमेत दिनुभयो । सांसद अर्यालले भन्नुभयो, ‘दुई दलको दम्भले होइन नीति र विधिबाट छानविन गरौँ । त्यसपछि थाहा हुन्छ, आफ्नालाई नजोगाएर देखाऊ अनि थाहा हुन्छ हामीले किन छानविनको माग गरेका छौँ ।’
लिङ्देनको जवाफ- ‘गणतन्त्रमा लुटतन्त्र हुन्छ भने विरोध गरिराख्छौँ’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रमा लुटतन्त्र भइराख्ने हो भने आफूहरू निरन्तर विरोध गरिराख्ने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा सत्तापक्षका सांसदहरूले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि जवाफ दिँदै लिङ्देनले भन्नुभयो, ‘तपाईंले गणतन्त्र लडेर ल्याएको होस् वा विदेशीको बुई चढेर ल्याएको होस् । त्यो गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने हामी निरन्तर रूपमा विरोध गरिराख्छौँ । म नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ र राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ । गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नु हो भनेजस्तो अर्थमा यहाँ कुरा राखियो ।’
सहकारी ठगको पासपोर्ट र जग्गा रोक्का गर्न माग
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सहकारी ठगी र कृषि अनुदान दुरुपयोग गर्नेको पासपोर्ट जफत गर्न माग गर्नुभएको छ । ठगिएका सहकारी पीडितको रकम फिर्ता गर्न न्यायिक आयोग गठन गर्नुपर्ने उहाँको भनाइ छ । सहकारी पीडितको बचत फिर्ताका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने उल्लेख गर्दै सांसद भण्डारीले भन्नुभयो, ‘बचत फिर्ताको माग गर्दै सांसद र मन्त्रीको घरमा सहकारीपीडित धाइरहेका छन् । सहकारीको बचत दुरुपयोग गर्ने र कृषिको अनुदान खानेको पासपोर्ट र जग्गा प्रतिबन्ध नलगाई बचत फिर्ता हुँदैन, यसका लागि न्यायिक आयोग गठन गर्न जरुरी छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच