
सिन्धुली । धान कुटेपछि निस्कने ढुटोमा बालुबा मिसाएर बिक्री गर्ने व्यापारीको धन्दाले सिन्धुलीका किसान मर्कामा परेका छन् । व्यापारीले पशुचौपायलाई खुवाउने ढुटोमा बालुवा मिसाएर बिक्री गर्दा किसानहरु मारमा परेका हुन् ।
जिल्लाको कमलामाई नगरपालिका–१० का किसान गंगा बहादुर थापाले बुधबार महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित नरेश गल्ला भण्डार र सिन्धुलीरोड बर्दिबासस्थित विकास राईस मिलबाट नौ बोरा ढुटो खरिद गर्नुभएको थियो । बिहिबार विहान पशुचौपायलाई खुवाउने क्रममा ढुटो र बालुवा सराबरी पाइएको प्रभावित किसान थापाले गुनासो गर्नुभयो ।
प्रभावित किसानको गुनासोलाई सम्बोधन गर्न बिहिबार प्रभावित क्षेत्र पुगेका खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली, उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुली, कमलामाई नगरपालिकाको कार्यालय र इलाका प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख तथा प्रतिनिधिहरुले संयुक्त रुपमा ढुटो पानीमा हालेर घोल्दा उल्लेखनीय रुपमा बालुवा पाइएको बताएका छन् ।
उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुलीका प्रमुख धुर्व प्रसाद ढकालले ढुटोमा बालुवा मिसाएर बढी पैसा कमाउने खराब नियतले व्यापारीहरुले यस्तो कार्य गरेको हुनसक्ने बताउनुभयो ।
‘ढुटो भारी बनाउन व्यापारीहरूले बालुवा मिसाउँछन्, जसले उनीहरूलाई फाइदा हुन्छ तर किसान र पशुचाहिँ मारमा पर्छन्,’ उहाँले भन्नुभयो, “कानून विपरित कार्य गर्न कसैलाई पनि छुट छैन । हामी किसानले ढुटो खरिद गरेको व्यापारी बारे अनुसन्धान गरेर कारर्वाहीको लागि आवश्यक पहल गदैँछाैँ ।”
पोषणको लागि किनेर खुवाईने ढुटोमा व्यापारीले बालुवा मिसाएर बिक्री गर्दा पशुचौपायमा रोग देखिन थालेको कमलामाई नगरपालिका–१० का किसान देवी बहादुर पाठकले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मैले व्यापारीसँग किनेको २५ किलो ढुटोमा पाँच किलो बालुवा निस्कियो । हामीले प्रतिकिलो ४२ रुपैयाँमा ढुटो किन्छौँ । तर, यसको गुणस्तर बेठिक रहेछ । बालुवा मिसिएको ढुटो खाएपछि हाम्रा गाई, भैंसीमा रोग देखिन थालेको छ ।”
उहाँकाअनुसार बालुवा मिसिएको ढुटो खुवाउँदा पशुचौपायलाई अपच, पेटसम्बन्धि समस्या हुनुका साथै पशुचौपाय दुब्लाउँदै गएका छन् । पशुपालक किसान अन्य आहारासँगै गाई, भैँसीलाई ढुटो खुवाउने गर्छन् । बजारबाट किनेर खुवाइएको ढुटोमा बालुवा मिसिने गरेकाले गाई, भैँसीको दूध उत्पादनसमेत घट्दै गएको किसानको गुनासो छ ।
ढुटोमा मिसाइएको बालुवाका कारण पशुचौपाय बिरामी पर्ने मात्र होइन, दीर्घकालीन रूपमा उनीहरूको स्वास्थ्यमा असर पु¥याउने खतरा छ । पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशका निर्देशक तथा पशु डाक्टर गौरीमान श्रेष्ठकाअनुसार यस्तो अखाद्य आहारले पशुको पाचन प्रणालीमा गम्भीर असर पर्छ । बालुवा पशुको पेटमा बसिरहने भएकाले खाएको कुरा अपच हुने, पेट दुख्ने लगायतका समस्या हुन्छन् । अखाद्य आहाराले पशुमा दिर्घरोगहरु निम्त्यने खतरा हुन्छ ।
सरकारका सम्बन्धित निकायहरूले यस्तो अनियमिततामाथि कडाइ गर्नुपर्ने किसानहरूको माग छ । सरकारी निकायहरूले समयमा नै अनुगमन नगर्ने हो भने, यो समस्या झन् विकराल बन्ने किसानको तर्क छ ।
किसानको गुनासोलाई सम्बोधन गर्न प्रभावित क्षेत्र कमलामाई नगरपालिका वडा नं ९ र १० पुग्नु भएकी उपप्रमुख मञ्जु देवकोटाले किसानहरूले ढुटो खरिद गर्दा यसको शुद्धता जाँच गर्न, गुणस्तरीय ढुटो बेच्ने विश्वसनीय व्यापारीहरूबाट मात्र खरिद गर्न सुल्झाउनुभयो ।
स्थानीय व्यापारीहरुबाट यस्तो भएको हो भने तत्कालै कारवाही गर्न सकिने उहाँको भनाई थियो । अहिलेको समस्या स्थानीय बजारबाट नभएको र बाहिरी बजारबाट किसानले खरिद गरेकाले कारवाहीको लागि समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । “तीनै तहका सरकारले बजार अनुगमनलाई कडाइ गर्न आवश्यक छ, उहाँले भन्नुभयो ।”
दाना पदार्थ ऐन २०३३ ले दुषित दाना पदार्थको उत्पादन, बिक्री, वितरण, निकासी, पैठारी तथा संचय गर्न मनाही गरेको छ । यस ऐन अन्तर्गत जारी गरिएको नियम वा आदेशको उल्लघंन गर्ने व्यक्तिलाई पहिलो पटक पाँचसय रुपैयाँदेखि एकहजार रुपैयाँसम्म जरिवाना वा छ महीनासम्म कैद वा दुवै र दोस्रो पटकदेखि प्रत्येक पटक एकहजार रुपैयाँदेखि दुईहजार रुपैयाँसम्म जरिवाना र छ महीनादेखि दुई वर्षसम्म कैद हुन सक्ने ऐनमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच