
काठमाडौं । तस्करहरूले नेपालमा सुन भित्र्याउन अनेक जुक्ति लगाउने गरेको पाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समय समयमा सुन बरामद भइरहेको पनि हुन्छ । तर, यो रोकिएको भने छैन । यही क्रममा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे तीन किलोभन्दा बढी सुन बरामद गरेको छ । बुधबार राति चारजना उज्वेकिस्तानका नागरिकसहित तीन किलो ७४५ ग्राम सुन बरामद गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । मलद्वारमा लुकाएर ल्याएको उक्त सुन बरामद गरिएको हो । पक्राउ पर्नेमा ४९ वर्षीया फेजिभा साउदत, ४८ वर्षीय अख्मेदोभा उमेदा, ५४ वर्षीया मारिफालिभा लिलफुजा र ४१ वर्षका तुरसुनोभ सारदोर छन् ।
सुनसहित पक्राउ परेका चार उज्वेकिस्तानीमध्ये एकजना ११ पटक नेपाल आएको अनुसन्धानले देखाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ४१ वर्षीय तुरसुनोभ सारदोर यसअघि ११ पटक नेपाल आएको देखिएको हो । ती व्यक्तिको नेपाल ‘कनेक्सन’बारे थप अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ । अध्यागमन स्रोतका अनुसार पक्राउ परेका तुरसुनोभ यसअघि ११ पटक नेपाल आइसकेका छन् । यसपटक उनले सुन ल्याउन अन्य तीनजना उज्वेकिस्तानी महिलालाई प्रयोग गरेको खुलेको हो । ती महिलाले सुन आफ्नो नभएको र तुरसुनोभले भनेअनुसार आफूहरूले ल्याएको प्रहरीलाई बयान दिएका छन् ।
तुरसुनोभले ती महिलालाई स्कटिङ गर्दै काठमाडौंसम्म ल्याएका थिए । फ्लाई दुबईबाट काठमाडौं ओर्लिएलगत्तै उनीहरू सरासर अध्यागमनको आगमन कक्षतिर प्रवेश गरे । आगमन अनुमति लिएपछि उनीहरू थप जाँचका लागि सशस्त्र प्रहरी बसेको कक्षतिर झरे । सशस्त्र प्रहरीले यात्रुको जुत्ता, ब्याग र शरीरसमेत स्क्रिनिङ गर्छ । उनीहरू सुरक्षा जाँच सकेर बाहिर निस्किने क्रममा शंकास्पद गतिविधि देखेपछि प्रहरीले नियन्त्रणमा लिएका थिए । सोही क्रममा उनीहरूको साथबाट सुन बरामद भएको थियो । जाँचमा सशस्त्रले तिनीहरूसँग सुन छ भन्ने सुइँको नपाएका हुन् वा अन्यथा भएको हो थप अनुसन्धान हुन बाँकी छ ।
बरामद सुन जोख्दा तीन किलो ७४५ ग्राम रहेको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठोरले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार जाँचपछि पटक-पटक सुन बरामद हुन थालेपछि सरकारले सशस्त्र प्रहरीलाई विमानस्थल भन्सारको जिम्मा दिएको थियो । एकैपटक ठूलो परिणाममा सुन भेटिएपछि सशस्त्र प्रहरीको सुरक्षामाथि पनि प्रश्न उठेको छ ।
नेपालमा किन हुन्छ सुन तस्करी ?
नेपालमा राष्ट्र बैंकले तोकेका वाणिज्य बैंकहरूले सरकारले निर्धारण गरेको कोटा अनुसारको परिमाणमा मात्रै सुन आयात गर्न पाउँछन् । त्यसका लागि पनि दैनिक १० किलोग्रामको सीमा तोकिएको छ । अधिकारीहरूका अनुसार दुबईमा सुनको मूल्य प्रतितोला नेपालको भन्दा १७ हजार रुपैयाँ सस्तो छ । सुनको मूल्य उच्च भइरहँदा र छिमेकी देश भारतमा यसको माग धेरै भएका कारण अधिकारीहरूले नेपालमा तस्करी भएर आउने सुन खुला सिमाना भएको भारततर्फ लगिने बताउने गरेका छन् । सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी पैठारीका कारण सुनको बढी मूल्य तिर्नुपर्ने हुनाले व्यवसायी र उपभोक्ताले नोक्सानी बेहोरिरहेका छन् । धेरै आम्दानी हुने भएकाले तस्करहरूले जोखिम मोलेर भए पनि यो अवैध कारोबार गरिरहेका हुन्छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्य नेपालमा जति परिमाणमा सुन तस्करी भएर भित्रिरहेको खुलेको छ, त्यति ठूलो परिमाणको सुन यहाँ खपत नै नहुने बताउनुहुन्छ ।
तस्करीको केन्द्र बन्दै
नेपाल तस्करीको केन्द्र बन्दै आएको छ । खुला सिमाना भएको छिमेकी भारतको त कुरै छाडौँ, यो तेस्रो मुलुकका कतिपय कुख्यात अपराधीहरूको आश्रयस्थलसमेत बन्दै आएको छ । थुप्रै नेता र सरकारी अधिकारीहरू सुन तस्करीमा मुछिएका र थुप्रै ‘सुन काण्ड’हरू चर्चामा आएका हुन् । तर, त्यस्ता विषयमा सोधखोज, अनुसन्धान गर्ने र दोषीलाई कारबाही गर्ने काम भएन बरु प्रायः सबैले उन्मुक्ति पाए । यसैले सुन तस्करीमार्फत कमाउने प्रवृत्ति बढ्दै गयो र यसमा गिरोहहरू नै संलग्न हुन थालेको जानकारहरू बताउँछन् । बरम्बार दोहोरिइरहने यस्ता घटनाले मुलुकमा आपराधिक समूहको सक्रियता बढेको प्रष्टै हुन्छ । राज्यले यस विषयलाई गम्भीर रूपमा लिनुपर्ने सरोकारवालाहरू बताउँछन् । हाम्रा सुरक्षा संयन्त्रको विशेष सक्रियता आवश्यक छ । यसको अनुसन्धान गम्भीरतासाथ हुनेछ र सुन तस्करीमा संलग्न गिरोहहरूको पर्दाफास हुनेछ ।
विवाहेत्तर प्रेम सम्बन्ध लुकाउन प्रेमीको हत्या
विवाहेत्तर प्रेम सम्बन्ध लुकाउन श्रीमान्सँग मिलेर प्रेमीको हत्या गरेको घटना जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार सार्वजनिक गरेको छ । प्रहरीले पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराएको हो । कमला नगरपालिका-६ सिग्याही मडानका ३३ वर्षीय शाहिद अन्सारीको गत मंसिर २७ गते घरमा बन्चरो प्रहार गरी हत्या भएको थियो । अनुसन्धानमा अन्सारीलाई उनकी प्रेमिका अनिताकुमारी यादव र उनका श्रीमान् राजकिशोर यादवले मिलेर हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकी यादवलाई धनुषा जिल्ला अदालतबाट म्याद थप गराएर थप अनुसन्धान भइरहेको छ । अनिताको श्रीमान् राजकिशोर यादव भने हत्यापछि वैदेशिक रोजगारीका लागि साउदी पुगेका छन् ।
अन्सारीलाई हत्या गर्ने योजनाका साथ २०८१ मंसिर १५ गते घर आएको प्रहरीको दाबी छ । अन्सारीको शव पुस ४ गते जनकपुर-धनुषाधाम सडकखण्डअन्तर्गत खैरा खोलाको पुलमुनि भेटिएको थियो । अन्सारी मंसिर २६ गते कतारबाट नेपाल फर्किएका थिए । नेपाल फर्किएका अन्सारी घर नगई प्रेमिका अनितालाई भेट्न मिथिला बिहारी-६ सिर्सिया पुगेका थिए । अन्सारीलाई घरमै बन्धक बनाएर मंसिर २७ गते दिउँसो ११ बजे सुत्ने कोठामा बन्चरो प्रयोग गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हत्या पछि शव जुटको बोरामा बेरेर खैरा खोलामा फालिएको थियो । शव पहिचान गर्न नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको थियो । माघ १० गते मृतककी श्रीमती अजिमा खातुनले प्रहरीको फेसबुक पेजमा फोटो हेरेर सनाखत गरेपछि घटना सार्वजनिक भएको थियो । आरोपित यादवलाई भने नेपाल ल्याउने प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच