
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौँ महाधिवेशन आजबाट भक्तपुरमा सुरु भएको छ। महाधिवेशनको उद्घाटन गर्दै पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देश र जनताको सेवा नै पार्टीको मुख्य उद्देश्य रहेको बताउनु भयाे। उहाँले विगतका सरकारहरू असफल भएको आरोप लगाउँदै अहिलेसम्मका प्रधानमन्त्री तथा अर्थमन्त्रीहरूलाई जनताले टुँडिखेलमा कारबाही गर्नुपर्ने भनाइ राख्नुभयाे ।
महाधिवेशन फागुन १९ गतेसम्म चल्नेछ। सातै प्रदेशबाट आएका प्रतिनिधिहरू, पर्यवेक्षक तथा कार्यकर्ताहरूको सहभागिता रहेको छ। उद्घाटन अघि काठमाडौं, भक्तपुर, ललितपुर लगायतका स्थानहरूबाट बाजागाजा, झाँकी तथा सांस्कृतिक कार्यक्रमसहितका जुलुस निकालिएको थियो। बिहान १० बजे विभिन्न स्थानहरूबाट सुरु भएका जुलुस दिउँसो १ बजे भक्तपुरको सल्लाघारीमा पुगेर उद्घाटन समारोहमा परिणत भएका थिए। हजारौं कार्यकर्ताको उपस्थिति रहेको उक्त समारोहमा पार्टीका नेताहरूले देशको वर्तमान राजनीतिक अवस्थाबारे धारणा राखेका थिए।
नेपाल मजदुर किसान पार्टीको स्थापना २०३१ साल माघ १० गते नारायणमान बिजुक्छेँको नेतृत्वमा भएको थियो। पार्टीको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा सम्पन्न भएको थियो। त्यस यता विभिन्न समयमा भक्तपुर, काठमाडौं र अन्य स्थानमा महाधिवेशन तथा सम्मेलनहरू आयोजना हुँदै आएका छन्। सातौँ महाधिवेशन २०७६ साल असोजमा सम्पन्न भएको थियो। सातौँ महाधिवेशनसम्म पार्टीको संस्थापक अध्यक्ष बिजुक्छेँलाई नै सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्दै आएको छ।
पार्टी अध्यक्ष बिजुक्छेँले नेपालमा अहिलेसम्म राजतन्त्र, प्रजातन्त्र र लोकतन्त्र जस्ता व्यवस्था आइसके पनि ती कुनैले पनि जनताको हित गर्न नसकेको बताउनु भयाे। उहाँले देशलाई आर्थिक रूपले आत्मनिर्भर बनाउन समाजवादी व्यवस्था नै अन्तिम विकल्प भएको दाबी गर्नुभयाे। उहाँले वर्तमान सरकारलाई असफल घोषित गर्दै भन्नुभयाे, "भ्रष्टाचार, असमानता र बेरोजगारीले देशलाई थिलोथिलो बनाइरहेको छ। अबको समाधान भनेको समाजवादी नीति अपनाउनु हो।"
महाधिवेशनमा पार्टीका सचिव तथा संघीय सांसद प्रेम सुवालले नेमकिपा मात्रै सच्चा कम्युनिष्ट पार्टी भएको दाबी गर्नुभयाे। उहाँले अन्य कम्युनिष्ट पार्टीहरू अवसरवादमा लागेको आरोप लगाउँदै आफ्नो पार्टीले मात्र मजदुर, किसान र श्रमिकहरूको हकहितमा संघर्ष गरिरहेको बताउनु भयाे। उहाँका अनुसार महाधिवेशनले देश तथा विदेशका विभिन्न विषयमा केन्द्रित भएर बृहत् छलफल गर्दै नीतिगत निर्णयहरू पारित गर्नेछ। पार्टीका अन्य केन्द्रीय नेताहरूले पनि महाधिवेशनको महत्वबारे प्रकाश पार्दै देशको समसामयिक आर्थिक तथा राजनीतिक अवस्था सुधार्न नेमकिपाको भूमिकाबारे धारणा राखे।
महाधिवेशनको प्रमुख एजेन्डामा आर्थिक नीति, स्थानीय विकास, संघीयताको प्रभावकारिता, बेरोजगारी समस्या, अन्तर्राष्ट्रिय सम्बन्ध तथा समाजवादी अर्थतन्त्रको मोडेलबारे छलफल हुने बताइएको छ। महाधिवेशनबाट पारित नीति तथा योजनाहरू आगामी निर्वाचनका लागि पार्टीको रणनीति तय गर्न मद्दत गर्नेछन्। विशेष गरी भक्तपुरलगायतका क्षेत्रमा नेमकिपाको प्रभाव बलियो भएकाले पार्टीले आगामी दिनमा आफ्नो संगठन अझ विस्तार गर्ने योजनामा रहेको छ।
यस पटकको महाधिवेशनको एउटा मुख्य आकर्षण भनेको पार्टी नेतृत्वमा कुनै परिवर्तन हुने वा नहुने भन्ने हो। नारायणमान बिजुक्छेँ २०३१ सालदेखि पार्टी अध्यक्ष रहँदै आउनु भएकाे छ। सातौँ महाधिवेशनबाट बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन भएको थियो। जसमा २३ केन्द्रीय र २ वैकल्पिक सदस्य रहेका थिए। महाधिवेशनले यस पटक पनि उहाँलाई नै अध्यक्ष बनाउने वा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने भन्ने विषयमा सबैको चासो रहेको छ।
महाधिवेशन सम्पन्न भएसँगै नेमकिपाको नयाँ कार्यदिशा र नेतृत्वबारे स्पष्ट तस्वीर आउनेछ। आगामी केही दिनभित्रै नेमकिपाले आफ्नो भावी यात्रा कस्तो हुने भन्ने टुंगो लगाउनेछ। पार्टीभित्र नयाँ पुस्तालाई अवसर दिने कि पुरानै नेतृत्वलाई निरन्तरता दिने भन्ने विषयमा छलफल भइरहेको छ। महाधिवेशनको अन्तिम दिनसम्ममा केन्द्रीय समिति पुनर्गठन, नीतिगत निर्णयहरू पारित गर्ने र संगठनात्मक सुदृढीकरणका लागि महत्त्वपूर्ण योजनाहरू ल्याइने अपेक्षा गरिएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच