
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा शल्यक्रिया थाल्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित साप्ताहिक ब्रिफिङमा प्रवक्ता डा. प्रकाश बुढाथोकीले यसबारे जानकारी दिँदै भन्नुभयो, ‘अहिले एक सिफ्टमा भइरहेको छ । एक साताभित्र दुई सिफ्टमा शल्यक्रिया गर्नेगरी व्यवस्था मिलाएका छौँ ।’
उहाँले आवश्यक जनशक्ति, प्रयोगशाला तथा उपकरणको व्यवस्था गरी दुई सिफ्टमा सेवा विस्तार गरिएको बताउनुभयो । अस्पतालमा उपलब्ध हुने एमआरआई सेवा महिनामा दुई सय जनाले लिनसक्ने गरी थप गरिएको उहाँको भनाइ छ । उहाँले देशभरका १७ वटा संघीय अस्पतालमा प्रयोगविहीन अवस्थामा रहेका ४८४ वटा उपकरण मर्मत गरी सञ्चालनमा ल्याइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूको निर्देशनमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा आगामी सातादेखि दैनिक दुई सिफ्टमा शल्यक्रिया सेवा प्रदान गर्नेगरी व्यवस्था मिलाइएको छ । त्यसैगरी, सेवा गरेको सुविधाका लागि प्रयोगशालामा उपकरण र जनशक्ति थप गरी सेवा विस्तार गरिएको छ । साथै एमआरआई सेवाको क्षमता पनि महिनामा दुई सय जनाभन्दा बढीले सेवा लिन पाउने गरी व्यवस्था गरिएको छ । देशभरका १७ वटा ठूला संघीय अस्पतालमा बिग्रिएका वा प्रयोगविहीन अवस्थामा रहेका उपकरण मर्मतका लागि गत भदौ ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौताबमोजिम हालसम्म ४८४ वटा उपकरणको मर्मत कार्य भइसकेको छ ।’
प्रवक्ता डा. बुढाथोकीले नेपाल सरकारको राष्ट्रिय खोपमार्फत प्रदान गरिने खोप सुरक्षित र प्रभावकारी रहेको दाबी गर्नुभयो । उहाँले सेवा सुविधाको माग राखेर आन्दोलनरत चिकित्सकहरूको माग सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल चिकित्सक संघबीच नौ बुँदे सम्झौता भएको पनि बताउनुभयो ।
वीर अस्पतालले सबैभन्दा धेरै आलोचना सरसफाइमा खेप्ने गरिरहेको छ । शौचालय सफा नभएका भनेर बिरामी तथा कुरुवाको गुनासो आउने गरेको भन्दै यसको व्यवस्थापनका लागिसमेत काम भइरहेको डा. बुढाथोकीले बताउनुभयो । ‘हामीले कसरी अझ बढी सफा गर्न सकिन्छ भनेर टोलीलाई अनुगमन तथा सुधारका लागि खटाएका छौँ,’ उहाँले भन्नुभयो, ‘यसको नतिजा पनि चाँडै देखिनेछ ।’
एक सातादेखि वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा. समाज गौतमले सम्हालिरहनु भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नयाँ निर्देशक नियुक्त नहुँदासम्म गौतमलाई वीरको निमित्त दिनुभएको हो । यस अवधिमा पनि वीरमा नतिजा देखिनेगरी सुधार गर्न मन्त्री पौडेलले भन्नुभएको थियो । यसैअनुसार सुधार अघि बढाइरहेको डा. गौतमले बताउनुभयो । ‘ल्याब परीक्षणका लागि बाहिर जान नपर्ने गरी प्रयोगशालाको क्षमता बढाएका छौँ,’ उहाँले भन्नुभयो, ‘बाहिर प्रयोगका लागि गइरहेका परीक्षणको विवरण अध्ययन गरेर आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्ने योजनाअनुसार काम थालिएको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच