
हेटौँडा । हेटौँडा अस्पतालमा महिनौँदेखि बेवारिसे अवस्थामा रहेका शवहरू कुहिन थालेका छन् । सम्बन्धित व्यक्ति नआउँदा ती शव कुहिएर बसेको शव व्यवस्थापनमा खटिएका कर्मचारीले जानकारी दिएका छन् । अस्पतालमा दुई फ्रिजमा शव राखिएको छ । तर, फ्रिज बिग्रेका कारण शव कुहिएर किरा परेर झिँगा भन्किरहेको अवस्थामा छ । यी दृश्यले अस्पतालमा विवादसमेत भएको थियो । अस्पतालका मेसु रामचन्द्र सापकोटाले कानुनी प्रक्रियाअनुसार शव सम्बन्धित व्यक्ति नआएसम्म र पहिचान नभएसम्म राख्नुपर्ने बाध्यता रहेको सुनाउनुभयो । उहाँले शव व्यवस्थापन गर्न अस्पताल प्रशासनले नभएर प्रहरीले कानुनी प्रक्रिया पूरा गरी जानुपर्ने भएकाले जटिलता थपिएको बताउनुभयो ।
बेवारिसे शवको अन्तिम संस्कारमै अन्योल
बेवारिसे शवलाई सामान्यतया एक प्रकारको प्रक्रिया पुर्याएर अन्तिम संस्कार गरिन्छ । तर, पहिचान भएका यस्ता शवको अन्तिम संस्कार कसरी गर्ने भन्ने अन्योल हुन्छ । यस्ता घटनामा सवै पक्षलाई सहमतिमा ल्याउनुबाहेक अन्य कुनै व्यवस्था छैन । सामान्य मृत्युबाहेक शंकास्पद रूपमा भेटिएका शवलाई पोष्टमार्टमका लागि सरकारी अस्पतालमा लैजाने गरिन्छ । अस्पतालले ती शव पहिचानका लागि प्रहरीसँग समन्वय गर्ने प्रक्रिया छ । ती मृतकको आफन्त खोज्ने प्रयास गरिन्छ । तर, आफन्त भेटिएनन् भने अन्तिम संस्कारका लागि स्थानीय तहलाई खबर गरिन्छ । गृह मन्त्रालयले बेवारिसे शव व्यवस्थापनका लागि जारी गरेको निर्देशिकाअनुसार त्यस्ता बेवारिसे शवको अन्तिम संस्कारको काम स्थानीय तहहरूले गर्नुपर्ने हुन्छ । निर्देशिकामा अन्तिम संस्कारका लागि स्थानीय तहको समन्वयमा स्थान पहिचान गर्ने र सो स्थानको संरक्षण गर्ने उल्लेख गरिएको छ । त्यस्ता शव व्यवस्थापनका लागि सरकारी अस्पताल र प्रहरीबाट अनुरोध आउने गर्छ । तीन–चारवटा शव जम्मा भएपछि गाड्ने गरिएको छ । तर, निर्देशिकाले भनेझैँ त्यस्तो निश्चित ठाउँ छनोट गर्ने र त्यसको संरक्षण गर्ने अवस्था छैन । निर्देशिकामा पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन सम्भव भएसम्म अन्तर्राष्ट्रिय मापदण्डअनुरूप १२ वर्षसम्म सुरक्षित रहन सक्नेगरी व्यवस्था गर्नुपर्ने पनि उल्लेख छ । बेवारिसे शवको फाइल नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले हेर्दै आएको छ ।
शव व्यवस्थापनमा प्रहरीलाई सास्ती
नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको अभिलेखमा हालसम्म देशभर करिब एक हजार दुई सय शव पहिचान हुन सकेको छैन । हाल सरकारी अस्पतालहरूका शवगृहमा सबै बेवारिसे शव अटाउन सक्ने अवस्था छैन । शवगृहको क्षमताअनुसार शव राख्ने हो । अन्यथा, अन्तिम संस्कार गर्नुपर्ने बाध्यता छ । हाल अन्तिम संस्कार हुन नपाएका शव कति छन् ? भन्ने तथ्यांक आफूहरूसँग नभएको प्रहरी बताउँछ । प्रहरीले बेवारिसे शवको अभिलेख राख्दै आएको छ । सबैभन्दा बढी बागमती प्रदेशमा ३७४ वटा शवको पहिचान हुन सकेको छैन । पहिचान नखुलेका शव व्यवस्थापनमा भने प्रहरीले सास्ती भोग्नुपर्छ । सनाखत गर्न र आफन्तको अन्त्येष्टि गर्न पाउने हक सुनिश्चित गर्न पहिला पहिचान नखुलेका शव जोगाएर राख्नुपर्ने हुन्छ । तर, शव उचित तरिकाले फ्रिजिङ गर्ने व्यवस्था छैन । भए पनि क्षमता न्यून छ । न्यून संख्यामा मर्चुरी हुँदा शव राख्न समस्या भइरहेको छ । लगभग सबैजसो फ्रिज भरिभराउ नै हुन्छन् । नयाँ शव राख्न लैजाँदा अस्पतालले पुरानो शव व्यवस्थापनका लागि प्रहरीकै जिम्मा लगाइदिन्छ । त्यसपछि प्रहरीलाई थप सास्ती पर्छ । पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ अनुसार प्रहरीले प्रक्रिया पुर्याएर अन्त्येष्टि गर्नुपर्छ । जसका लागि पहिला फरेन्सिक डाक्टरको सहयोगमा सरकारको अभिलेखमा भएका बायोमेट्रिक औँठाछाप वा अन्य अभिलेखसँग शव रुजु गर्नुपर्छ । यसमा औँठा छापदेखि दाँतसम्मको तुलना गर्नुपर्छ । औँठा छापको अभिलेख निर्वाचन कार्यालय, जिल्ला प्रशासनलगायत सरकारी कार्यालयमा हुनसक्छ । तर, त्यहाँका कर्मचारीले सहजीकरणमा आलटाल गर्दा प्रहरीलाई समस्या हुन्छ । यी प्रक्रिया पुर्याइसकेपछि स्थानीय जनप्रतिनिधि र संघसंस्थाको रोहबरमा अन्त्येष्टि गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । अन्त्येष्टिका लागि चाहिने खर्च पनि स्थानीय तहबाट गर्नुपर्ने व्यवस्था छ । तर, स्थानीय तहले नमानेको अवस्थामा समस्या हुन्छ । यसका लागि संघीय सरकारले स्थानीय तहसँग समन्वय गर्नुपर्ने प्रहरी बताउँछन् ।
शव पहिचान नखुल्दा अनुसन्धानमै समस्या
शव पहिचान नखुल्दा मृत्युको कारण पत्ता लगाउन पनि समस्या भएको गुनासो प्रहरीको छ । शव सडेगलेको अवस्थामा फेला परे त मृत्युको कारण पत्ता लगाउन समस्या हुन्छ । ज्यान मारेको भए अपराधीसम्म पुग्न चाहिने सुराककै अभाव हुन्छ । शव पहिचान नखुल्दा वा आफन्त सम्पर्कमा नहुँदा प्रहरी अनुसन्धानसमेत कमजोर हुन्छ । तर, शंकास्पद मृत्युको हकमा अनुसन्धानका लागि लामो समयसम्म शव राख्नुपर्छ । ‘शंकास्पद मृत्यु छ भने १०/१५ वर्षसम्म पनि शव राखेका छौँ । जसले गर्दा अनुसन्धानको सम्भावना रहन्छ,’ प्रहरी भन्छ, ‘अन्त्येष्टि गरिएका शवको हकमा पनि अनुसन्धान सकिएको भन्ने हुन्न ।’
के छ कानुनी प्रावधान ?
भण्डार वा संरक्षण गरिएका बेवारिसे शव हस्तान्तरण (१) दफा १४ बमोजिम भण्डारण वा संरक्षण गरिएका शवको पहिचान खुल्न आए हकवाला वा आफन्तलाई अनुसूची–३ बमोजिम ढाँचामा सनाखत गराइ अनुसूची-४ बमोजिमको शव हस्तान्तरण फाराम भरी शव हस्तान्तरण गर्नुपर्ने छ । समितिले तोकेको अवधिभित्र उक्त दफाबमोजिम हस्तान्तरण हुन नसकेको शव कुनै शिक्षण अस्पताललाई सिकाइ कार्यका लागि आवश्यक भए समितिको सिफारिशमा अनुसूची-५ बमोजिम ढाँचामा सम्झौता गरी शव भण्डारण वा संरक्षण गर्ने निकायले त्यस्तो शिक्षण अस्पताललाई हस्तान्तरण गर्न सक्नेछ । पहिचान नभएका तथा बेवारिसे शव हस्तान्तरण कार्यमा सम्भव भएसम्म अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विविध विधि, पद्धति एवम् प्रक्रिया अवलम्बन गर्नुपर्ने छ । पहिचान नभएका बेवारिसे शव व्यवस्थापन सम्भव भएसम्म अन्तर्राष्ट्रिय मापदण्डअनुरूप १२ वर्षसम्म सुरक्षित रहनसक्ने गरी राख्नुपर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच