
काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । उहाँको ९४ वर्षको उमेरमा बिहीबार राती साढे १० बजे भारतको गुवाहाटीस्थित आफ्नै निवासमा निधन भएको हो । नेपाली भाषाका प्रसिद्ध उपन्यासकार र पद्मश्री सम्मान प्राप्त क्षेत्रीको निधनसँगै नेपाली साहित्यको एक युगको समापन भएको भारतीय नेपाली साहित्यकारहरूले बताएका छन् ।
भारतको असममा जन्मिनुभएका क्षेत्रीको ‘बसाइँ’ उपन्यास चर्चित रहेको छ । यस उपन्यासले उहाँलाई साहित्य अकादमी पुरस्कार दिलाएको थियो । उहाँका अन्य कृतिहरूमा ‘अतृप्त’, ‘प्रतिध्वनिहरू’, ‘विस्मृतिको असममा नेपाली भाषाको साह्रोगाह्रो’, ‘तीन दशक बीस अभिव्यक्ति’ लगायतका उपन्यास र गैरआख्यानहरू समावेश छन् ।
उपन्यास, कथा, निबन्ध, समीक्षासहित डेढ दर्जन कृतिका सर्जक क्षेत्रीले नेपाली भाषा र साहित्यको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउनुभएको छ । उहाँलाई नेपालबाट २०७२ सालमा जगदम्बा पुरस्कार अर्पण गरिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रज साहित्यकार क्षेत्रीको निधन भएको खबरले आफूलाई पीडा भएको बताउँदै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
दिवंगत श्रष्टाप्रति सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त परिवारजन, आफन्त, साहित्यानुरागी दाजुभाइ एवं दिदीबहिनीमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । ‘लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यासले कुनै समय क्याम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो । उहाँको बसाइँ र अन्य उपन्यासले दोस्रो विश्वयुद्धताका नेपालबाट सिंगै गाउँहरू नै सिक्किम, असम, मेघालय र भुटानतिर बसाइँ सर्न बाध्य भएको पीडाको वर्णन गर्छ । भारतको प्रतिष्ठित ‘साहित्य अकादमी पुरस्कार’ बाट सम्मानित उहाँको ‘बहृमपुत्रको छेउछाउ’, उपन्यासले पनि पूर्वोत्तर भारतका नेपालीको संघर्षको कथा भन्छ,’ स्रष्टा क्षेत्री र उहाँको सिर्जना बसाइँको आवरण पृष्ठको तस्वीर पोष्ट गर्दै प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच