
विमल भौकाजी
किताब भन्ने शब्द सुन्नासाथ सामान्यतः साहित्यको अर्थमा बुझ्ने गरिन्छ तर किताब विभिन्न विषय वा विविध विधामा लेखिन्छ भन्ने तथ्य किताबी बजारमा गएपछि छर्लङ्ग हुन्छ । यसै प्ररिप्रेक्षमा नेपाली किताबको भण्डारमा एउटा महत्वपूर्ण विषयमा लेखिएको किताब आएको छ । विषय हो- चिकित्सा । तर, चिकित्सा विषयक औषधिको ज्ञान बाँड्ने किताब होइन यो, औषधि गर्ने डाक्टर (चिकित्सक) को व्यक्तित्वका बारे लेखिएको किताब हो ।
साहित्यको रचना गर्ने र मूलतः साहित्यिक पत्रकारिता गर्न रुचाउने राजेश खनालद्वारा लिखित यो किताबको नाम हो- ‘चिकित्साका चौध तारा’ । निकै आकर्षक शीर्षक राखिएको प्रस्तुत किताबमा नेपालका १४ जना प्रख्यात चिकित्सकहरूको रोमाञ्चक अनुभव/भोगाइहरू समेटिएका छन् भने सम्झना- उपशीर्षक दिएर अन्य दुई जना वरिष्ठ चिकित्सकका बारेमा लेखिएका आलेख छन् ।
पुस्तक हातमा लिएपछि सामान्यतः पाठकहरूले सोच्न सक्लान्- बिरामीलाई जाँच्ने, औषधि गर्ने डाक्टरलाई रोग लाग्दैन होला । तर, किताबका पृष्ठ पल्टाउँदै जाँदा शुरु-शुरुमै डा. कृष्णजंग राणाको भनाइ पढ्न पुगिन्छ- ‘... जागिरबाट अवकाश पाएपछि मेरो दुई पटक बाइपास सर्जरी भयो । मुटुमा चारवटा स्टेन्ट हालिएको छ ।...’ यस हिसाबले, यो पुस्तक चिकित्सकको व्यथा बक्ने एउटा माध्यम पनि बनेको छ ।
समाजमा डाक्टरहरूप्रति एउटा धारणा छ- डाक्टरहरू ईश्वरको अर्का रूप हुन् । उनीहरूले जस्तै पनि रोग निको पारिदिन सक्छन् । स्वयम् डाक्टरहरूले यो धारणालाई स्वीकार गरिहाल्न नसके पनि कहिलेकाहीँ त्यो पुष्टि हुन पुग्छ । रोग पत्ता नलागेको कतिपय अवस्थामा डाक्टरहरूले अनुमानको भरमा औषधि दिन्छन् । संयोगले बिरामीको रोग निको हुन पुग्छ ।
पुस्तकभित्र अङ्कित अर्का डाक्टर गौरीशंकर लाल दास, जो सबैभन्दा पाको चिकित्सक हुन्- उनको चिकित्सकीय कर्मको क्रममा भएका धेरै घटना/दुर्घटना यहाँ उल्लेख गरिएको भेटिन्छ । जसमध्ये पाठकका लागि रोमाञ्चक भए पनि एउटा दुःखदायी घटना भने उनी बिर्सन सक्दैनन् । भएको के थियो भने, वीर अस्पतालको प्रारम्भिक दिन थियो, हाइड्रोसिलका एक बिरामी अस्पतालमा ल्याइयो । परीक्षणपश्चात् उनको अप्रेशन गनुपर्ने निष्कर्ष निस्कियो । अप्रेशनअगाडि बिरामीलाई बेहोश गराउनुपर्ने क्रममा त्यहाँ ‘एनेस्थिसियन’को उपलब्धता नभएका कारण अस्पतालकै पियन (सहायक) ले ‘क्लोरोफार्म’ सुँघाए । दुर्भाग्य ! क्लोराफार्मको मात्रा नमिलेका कारण बिरामी होश नखुलीकनै परलोक भए ।
नेपालको अस्पतालमा काम गर्दाका कठिन परिस्थितिहरूको केही अंश भए पनि दस्ताबेजीकरण भएको यो पुस्तकले तत्कालीन नेपालको चिकित्सकीय प्रणालीको तस्वीर देखाउन मद्दत पुर्याउँछ । त्यसो त, दक्ष डाक्टरहरूका कारण निकै अप्ठेरो उपचार पनि बडो दक्षताका साथ गरिएका उदाहरण डा.दिनेशनाथ गंगोलले सुनाएको प्रसङ्गले पुष्टि गर्छ । उनी भन्छन्-तत्कालीन राजा महेन्द्रले बर्दियाको जङ्गलमा शिकार खेल्दा उनले हानेको गोली उछिट्टिएर रानी रत्नलाई लाग्न पुग्यो । तत्कालै, घाइते रानीलाई काठमाडौँ ल्याएर उपचार गरियो ।
पुस्तकमा, चिकित्सकहरूले समेत राजनीतिक सत्ताको दबाव खेप्नुपरेका प्रसङ्गहरूसमेत उल्लेख भएका छन् । जस्तो कि- स्वदेशमै उपचार हुन सक्ने रोगको उपचार गर्न पनि विदेशमा लैजानका लागि सिफारिश गरिदिनुपथ्र्यो । अथवा माथिकाहरूलाई कुनै डाक्टर मन परेन भने हचुवाका भरमा सरुवा गरिदिन्थे । यस्तो विकृति त अद्यापि हाम्रो राजनीतिक क्षेत्रमा कायम नै छ ।
समाजमा डाक्टरहरूप्रति एउटा धारणा छ- डाक्टरहरू ईश्वरको अर्का रूप हुन् । उनीहरूले जस्तै पनि रोग निको पारिदिन सक्छन् । स्वयम् डाक्टरहरूले यो धारणालाई स्वीकार गरिहाल्न नसके पनि कहिलेकाहीँ त्यो पुष्टि हुन पुग्छ । रोग पत्ता नलागेको कतिपय अवस्थामा डाक्टरहरूले अनुमानको भरमा औषधि दिन्छन् । संयोगले बिरामीको रोग निको हुन पुग्छ । डा. मणिन्द्ररञ्जन बरालको हकमा पनि त्यस्तो अवस्था धेरैपटक भएको रहेछ ।
पेट दुखेर आलसतालस भएका तत्कालीन मन्त्री दिलबहादुर श्रेष्ठलाई दुखाइ कम हुने सुई दिन खोज्दा नमानेपछि अनुमानका भरमा जुकाको औषधि खुवाइदिएपछि उनी ठीक भएछन् । त्यसो त डा. बराल चिकित्सकका अलावा संस्कृतका विद्वान् पनि हुन्, अझ त्यसभन्दा अघि बढेर उनी सङ्गीतका मर्मज्ञ पनि हुन् । यो वास्तविकतालाई यो पुस्तकमा उनले सङ्गीतकार अम्बर गुरुङको प्रसङ्गसँग जोडेका छन् । पछि, औषधिविज्ञान पढेर आई बालविशेषज्ञका रूपमा प्रख्याति कमाएका डा.बराल आज पनि उत्तिकै सक्रिय छन् ।
अर्का प्रख्यात डाक्टर मृगेन्द्रराज पाण्डे पनि यो पुस्तकमा समेटिएका छन् । मुटुरोगका विशेषज्ञ पाण्डेको चिन्ता छ- आज मुटुरोगका बिरामीहरू अत्यधिक बढे । उनले बताएका कुरा आज सुन्दा अचम्म लाग्छ । उनी भन्छन्- ‘म बेलायतको अस्पतालमा रहँदा एउटा अस्पतालमा दिनको एउटा मुटुरोगी भेट्थेँ । अन्य अस्पतालमा पनि आउँदा हुन् । त्यति बेला यहाँ त मुटुरोगको एउटै पनि केस देखिन्नथ्यो ।’ डाक्टरहरूले खोज्दाखोज्दा बल्ल मुटुरोगी भेटिन्थे रे त्यस समयमा । वरिष्ठ स्त्रीरोग तथा प्रसूतिरोग विशेषज्ञ सरस्वती पाध्येको एउटा मननयोग्य भनाइ पुस्तकमा समेटिएका, भन्छिन्- ‘डाक्टरी पढ्दा ऊ बेला भनिन्थ्यो, बिरामीको उपचार गर्दा ‘ब्रेन’ चलाऊ, तिम्रो किताब नै बिरामी हो, छ । तर, आज बिरामी र डाक्टरको बीचमा त्यस्तो सम्बन्ध छैन ।’
पुस्तकका लेखक राजेश खनालले पुस्तकमा विविध रोगका विशेषज्ञहरूलाई समावेश गरेकाले पुस्तक निकै गहकिलो बनेको छ । स्थानाभावका कारण पुस्तकभित्र आबद्ध सम्पूर्ण चिकित्सकमाथिका आलेखबारे यहाँ टिप्पणी गर्न सकिएन । वरिष्ठ आँखा/नेत्ररोग विशेषज्ञहरू- डा.यन्तमणि प्रधान, डा.रामप्रसाद पोख्रेल, वरिष्ठ शल्यचिकित्सकहरू- डा.लोकविक्रम थापा, डा.विश्वराज दली, डा.सुदीपकुमार भट्टाचार्य, अर्का वरिष्ठ चिकित्सक डा.शङ्करप्रसाद उप्रेती एवम् वरिष्ठ बालरोग विशेषज्ञ डा.हेमाङ्ग दीक्षित, वरिष्ठ मुटुरोग विशेषज्ञ सुन्दरमणि दीक्षित वरिष्ठ अर्बुदरोग विशेषज्ञ डा.अञ्जनीकुमार शर्मा र दन्तविशेषज्ञ डा.बुद्धिमान श्रेष्ठलगायत सबै डाक्टरहरू आदरणीय छन्, बिरामीहरूप्रतिका उनीहरूको सेवा स्तूत्य छ । बिरामीहरूका खातिर आफ्नो जीवन पूरै समर्पण गरेका चिकित्सकहरूका बारेमा यति गहकिलो पुस्तक नेपाली पाठकलाई सुम्पेकोमा लेखक राजेश खनाल धेरै धन्यवादका भागी भएका छन् ।bimalbhaukajee@hotmail.com
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच