
पूर्वी क्षितिजको सौन्दर्य जहाँ सभ्यताको पहिलो सूर्य उदायो । शान्त समन्वयको जून झुल्कियो । बुद्घको बोधि बैँसियो । स्थूल संसारलाई एकैपटक सानो छेउबाट सजिलै बुझ्न यसै क्षितिजबाट गणितको सूत्र निस्कियो । भाषिक विज्ञानको त्यो संसार यसै धराको छातीमा जन्मियो जसलाई वर्तमान समयसंसारका सर्वोच्च शक्तिको घरमा बसेका नोम चस्की जस्ता व्यक्तित्व पनि हृदयतः खुशी हुँदै पाणिनीमार्ग पछ्याउँछन् । म त्यही पाणिनीपुत्र पुर्खाको सम्पन्न घरमा बसेर अहंको आँखो खुलिरहेछु । अन्धकार रातलाई सिरानी बनाएर अन्धविश्वासका हातहरू फैलाइरहेछु ।
विश्व शक्तिमा रमाएको छ-दृश्यशक्तिमा । सत्ताको अहंमा मात्तिएको छ । विस्तारको भोकले आणविक खानाका भट्टी निर्माणमा एकपछि अर्का प्रतिस्पर्धा लामबद्घ बनेका छन् । चाहे सर्वसन्तुलनका सत्ता हुङ्कारमा हुन् चाहे सत्तामा रहेकालाई विस्थापन गर्ने सुरिला डोरी कसेर भूमिगत सुरुङ्का सुरक्षित मार्ग ठान्ने विद्रोही यात्राहरू । जम्मैको दौड नै शक्तिको विस्तार, बलको प्रयोग र हिंसाका ओछ्यानमा रगतको होली खेल्नु हो, खेलिरहेकै छन् र रहने पनि छन् ।
यो भष्मासुर झैँ तातेको तावाको एक सानो साँघुरो छेउमा म जङ्गली शब्दको आरती बालेर उभिएको छु । अन्धविश्वासको आगो तापेर आत्मविश्वासको धमिलो बिहानमा दक्षप्रजापतिको सामुन्ने उभिएको छु । उर्वर अक्षर गोड्ने जमिनमा म अनुर्वर वनमारासँग मितेरी लगाएर यति रमाएको छु- मेरा मनमस्तिष्कमा अर्को कुनै पनि वैकल्पिक खोजको पाइलो उचालिँदैन । तिनै काल्पनिक अन्ध अक्षरका भकारी प्वाल पारेर अध्यात्मका नाममा चिसो माघे ठण्डीको मौसमसँगै स्वस्थानीको आख्यानात्मक भजन गाएर म मान्छे मात्रको सर्वश्रेष्ठ हुँको सानमा स्वाभिमानको मान आचमन गरिरहेछु । मेरासामु मनुस्मृतिको अन्धकार नै उज्यालो बनेर फैलिएको छ ।
वैदिक ऋचाको अर्थ थाहा छैन तर तिनकै सारमा हात हल्लाएर कर्मकाण्डको कतारो लाम लागेको छु । न मसँग कुनै प्रयोगको आलय छ, न मसँग कुनै निर्माणमा सरिक हुने इच्छाको अङ्कुरण छ । मात्र मान्छेका नाममा एउटा बुख्याँचा उचाइको हावाका हात हल्लाएर उभिँदै अग्लो ठानिएको छु ।
वैदिक ऋचाको अर्थ थाहा छैन तर तिनकै सारमा हात हल्लाएर कर्मकाण्डको कतारो लाम लागेको छु । न मसँग कुनै प्रयोगको आलय छ, न मसँग कुनै निर्माणमा सरिक हुने इच्छाको अङ्कुरण छ । मात्र मान्छेका नाममा एउटा बुख्याँचा उचाइको हावाका हात हल्लाएर उभिँदै अग्लो ठानिएको छु जसको न कुनै सार्वजनिक पहुँच छ, न कार्यसम्मत मान्यता, न नयाँका खोजमा विमर्शको अभियान छ, न केही छैनको यथार्थ स्वीकार्ने क्षमताको आभास छ । छन् मसँग तिनै कृतिका ठेलीहरू जहाँ राम-पत्नी अपहरणको विलापले जङ्गलका रुख भिजाउँछ, रावण विजयोल्लासले तरबारको त्रास तर्साउँछ ।
छन् तिनै कृतिका पानाहरू फर्र पल्टिरहेका जहाँ एउटा त्रिपुण्डधारी अग्लो बेसासनमा सयौँ नर्तकीका नृत्यमा रमाएको छ । ओठमा स्वर्ग र नर्कको भारी उचालेर जन्मसंस्कारको व्याख्या गर्छ । मृत्यु संस्कारको भर्याङ्मा खुड्किलाहरू भर्छ र निद्रामै मान्छेलाई स्वर्गारोहण गराउँछ, धरावतरणका उपाय सिकाउँछ र स्वार्थको पेशामा विनाश्रमको आहुती दिँदै अविश्वासको सम्पन्नता सर्वत्र फैलन्छ । उसलाई न कुनै विश्वविद्यालयको प्रमाणपत्र चाहियो, न कुनै अक्षरारम्भको शृङ्खला । माथि आकाशमा क्षेप्यास्त्रको बत्ती झल्मलाएको छ । सुरुङ्को अन्तरगर्तमा कहाँ हो कहाँ, यमराजले पनि देख्दैन भनेर जीवनको लामो आयु परिकल्पित एउटा जघन्य हिंसाको शिर क्षेप्यास्त्रको अनुसन्धानसँगै समाप्त हुन्छ पाइलामा टेकिएको भुसुनो झैँ ।
म यता शान्तिको नाम जपेर पुराणवाचन गरिरहेको छु तिनै जङ्गली भेडाहरूको भीड जम्मा गरेर । परिकल्पनाका दुई लोक- स्वर्ग र नर्कको शाब्दिक तिलस्मी पर्दा खोल्छु । अर्कालाई दुःख दिए पाप लाग्छ, ठगी खानु अपराध हो, परस्त्री, परपुरुषगमन पाप हो । यसो गर्नेहरू सधैँ मरेपछि नर्कमा वास गर्छन् । म आफैँ यति अपराधी छु यिनै काम नगरी मेरो सास फेरिँदैन, म नै यस्तो भएको आफैँ महसुस हुन्न । के छैन मेरो घरमा ? म सम्झन्छु- भान्सामा चामल, पत्नीका कानमा कुण्डल, घाँटीमा सुनको सिक्रीको लुर्कन । म पुरेत, म पण्डित, बेसासनको राजा । जजमानतिर इसार्छु- बोरामा चामल, दुनामा सुन, टपरीभरी पैसा ।
म जोडजोड फलाक्छु-पुरेतको इच्छा, पण्डितको चाहना पूरा गराइदिने यजमान जिउँदै स्वर्ग देख्छ भने मरेपछि उसले आसन स्वर्गकै पाउँछ । जजमानको मुखको आकारमा मनको हल्चल केलाउँने प्रयास गर्छु । ऊ मख्ख छ, आफूसँग केही नभए पनि आफैँ बन्धक बसेर भए पनि सम्पूर्ण सुम्पन तयार छ । उसका अन्तर मनका कुनै कुनाका छेउछाउसम्म पनि चेतनाको बत्ती बलेको छैन–म आफू रित्तिएर एउटा सामन्तको पछि लाग्दै, एउटा अल्छे पण्डित भनाउँदाको भनाइको अटल विश्वासमा उसकै कुरामा उसकै लहैलहैमा लागेर उसैलाई पोषिरहेछु । यस ज्ञानको बत्ती उसको हृदयमा बल्नासाथ उसका सामु न त जनै सेप्ने औँलाहरू हुन्थे, न त पिण्ड बटार्ने अन्धविश्वासका अँजुलीहरू । न मैले तृप्यतामका पाना पल्टाएर स्वार्थपूर्ति गर्नुपथ्र्यो, न मरेका लासका नाकका सामु माथितिर तोर्मा झुण्ड्याइदिएर पितृ अघाएका अन्धकारमा नाच्नुपथ्र्यो ।
मान्छे समुद्रको माछो हेरेर लडाकु यान बनाउँछन् । कुनै पनि समय पृथ्वी सकिँदा मानव अस्तित्व नसकियोस् भन्ने भयले चन्द्रमङ्गलमा यात्राको व्यवस्था गरेर यात्रीहरू पठाउँछन् । म भने पूजाका अक्षरमा मुक्तिको सपना देखिरहेछु । सराध्देका पानामा जीवनको उर्वर आर्जनस्रोतको अनन्त उवाइ । ढुङ्गाका शिवलिङ्ग ढोगेर आफ्नै अङ्ग नङ्ग्याउँदै समाजसामु उभिएको लज्जाबोध मबाट हराइसकेको छ । टेपरेकर्ड भट्याउने प्राध्यापकका कोठामा मख्ख परेको म र मेरो मनमस्तिष्कमा, मेरो दिलदिमाखमा नवीनताको सोच रहने ठाउँ नै कहाँ रहृयो र ? आकर्षक शैली समायोजित हुने उज्यालो बस्तीको आकाश नै कुन् क्षितिजमाथि फैलिएको छ र ?
राज्यव्यवस्था नबनुन्जेल सायद संसार यही स्वर्गीय आनन्दको अनुहारमा नाच्यो होला । यायावरीय पदचापमा सीमाहीन, अङ्कुशरहित उर्वर मृत्तिका यसै पनि उन्मुक्त स्वतन्त्रताको आकाशमा परेवाहरू उडे । पक्षीका चिर्बिराहटमा चौतर्फी सङ्गीतका धुन अवश्य गुञ्जिरहे । सीमाका साँध लगाउन हात अगाडि बढेपछि इष्र्याका अङ्कुर जमरा झैँ हलक्क हल्किए ।
तिनै पुर्खाका थोत्रा जडाउरी भिरेर म देशलाई सर्वोच्च मानिरहेको छु । देश सर्वोच्चको एउटा कृत्रिम अंश हो जहाँ अनेकौँ फटाहाहरू राज गर्दछन्, जसका शिरमा मस्तिष्क छैन, दिलमा विवेक । एउटा फालिएको तानाशाह, हिंसाको यमराज, निरङ्कुशताको पुजारी फर्काउन उसका पुच्छरहरू पजेरो चढेर, होन्डामाथि भित्रबाट हुइँक्याएर सानो सडकमा थोरै लामबद्घ हुँदा पनि चर्को स्वरले सफलता चिच्याइरहेछन् । खाँदा खाँदा डम्म भएका कुकुर भोकाउँदा जसरी चिच्याउँछन् त्यसरी नै चिच्याउनुको अर्थ स्वभावमा नै आत्मस्थ नभई कहाँ सम्भव हुन सक्ला र ?
त्यही पेरीफेरीको, त्यही समाजसौन्दर्यको, त्यही पुस्तान्तरित आस्थाको उपज म अर्को कहाँ हुन सक्थेँ र ? सुदूरसम्म हेर्न त चर्मचक्षुका खोल ढाकिनुपर्दछ डम्म । अन्तरको उचाइ नाङ्गिएपछि बल्ल बाबुआमा स्वार्थका जडजन्तर हुन् भन्ने अर्थ खुल्छ । परिवार स्वार्थको मात्र जालो हो भन्नेमा पर्दा रहँदैन । सामान्य मानवीय कर्तव्यका धार मनमस्तिष्कमा फिजाएर निरपेक्ष रहन सक्नु अध्यात्मको अन्तर चुरो हो । सबै यस धारबाट निरपेक्ष रहने हो भने न सीमा चाहिन्छन् देशका, न स्वार्थको देश हिंसाका आहालमा होली खेल्छ स्रष्टाको सृष्टिभित्र ।
राज्यव्यवस्था नबनुन्जेल सायद संसार यही स्वर्गीय आनन्दको अनुहारमा नाच्यो होला । यायावरीय पदचापमा सीमाहीन, अङ्कुशरहित उर्वर मृत्तिका यसै पनि उन्मुक्त स्वतन्त्रताको आकाशमा परेवाहरू उडे । पक्षीका चिर्बिराहटमा चौतर्फी सङ्गीतका धुन अवश्य गुञ्जिरहे । सीमाका साँध लगाउन हात अगाडि बढेपछि इष्र्याका अङ्कुर जमरा झैँ हलक्क हल्किए । मोहका मिठासमा पल्किए । अहङ्कारका आसन समुद्रका छालमाथि तैरन लागे । दम्भका टाटेपाटे दाग देखिन लागेपछि बुद्घिको साँचोले विज्ञानको ढोका खोल्यो । बारुदको परीक्षणमा युरेनियमको आकारभित्र यमराजका स्वरूपहरू श्वासप्रश्वास भर्न लागे । पनडुब्बी सामान्य, बम सामान्य, राडार सामान्य, पृथ्वी सामान्य, सतह सामान्य ।
क्षेप्यास्त्रहरू-भूत क्षेप्यास्त्र, पिचाश क्षेप्यास्त्र, पेट्रियोट क्षेप्यास्त्र माथि आकाशमा अश्वस्थामा खेलहरू, द्रोणाचार्य खेलहरू, कृष्णछल-नरो वा कुञ्जरो वा....अश्वस्थामा हतोहत :, शकुनि कपट-चौका छक्का । खेल जित्छ एक हार्छन् अनेक हमास उत्तेजना जस्तै । सुरक्षा जमिनभित्र । सिङ्गो देश बङ्कर । माथिबाट क्षेप्यास्त्र झर्छ बलेर झर्र । तलबाट पेट्रियोटदेखि अनेकविध माथि उक्लन्छन् आकाशका सिँढी-अग्न्यास्त्र झैँ, वारुणास्त्र झैँ । शब्द टिपेर शक्ति बन्यो उता विनाशक शक्ति, पल्पल विनाशक ।
तिनै शब्दमा म जिब्रो फड्कारेर वेद उचालिरहेछु । हात हल्लाएर मनुस्मृतिको गीत गाइरहेछु । सय काटेर स्वर्गे भएका बाबुलाई असामयिक निधनको घोडा चढाएर किरियासराद्घे तर्पणको ओच्छ्यानमा घ्यू-भात खोजिरहेछु । शान्त क्षणको दिवास्वप्नमा अञ्जुलीमा परेवी उचालेर पनडुब्बी जमिनमा रोक्न खोजिरहेछु । आगोको ज्वालामा जीवनशक्ति सबल होला र ? बारुदको ओच्छ्यान वेदोच्चारणले तर्सला र ? बङ्करको बिहानमा मनुस्मृतिका उपदेशले दिनका किरण धरा भरेर फिजिएलान् र ? राडारका सङ्केतमा बजेका साइरनका शङ्खनादहरू पाकेर, गिलिएर, डल्लिँदै बगेको पिण्डले निस्तेज बनाउन सक्ला र ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच