
झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले समाजवादी गणतन्त्रले मात्रै मुलुकलाई सही निकास दिन सक्ने बताउनु भएको छ । उहाँले मुलुक यथास्थितिमा नचल्ने र राजतन्त्र पनि नफर्कने दाबी गर्नुभयो।
" अब मुलुकपछि फर्कन सक्दैन, जनता राजतन्त्रतर्फ जाँदैनन् " मंगलबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो," मुलुकलाई निकास दिन देश सुहाउँदो समाजवाद स्थापनाका लागि सबै दल तयार हुनैपर्छ ।" मुलुक गणतान्त्रिक समाजवादमा नपुगेसम्म समृद्धिको परिकल्पना गर्न नसकिने उहाँको भनाइ छ ।
मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता औल्याउँदै विप्लवले भन्नुभयो, " त्यो अहिलेको भन्दा उन्नत अवस्था हो, यस्तो अवस्थामा सरकारले कम्तीमा निश्चित समयसम्म काम गर्न पाउँछ।" उहाँले अग्रगमन र राजतन्त्र चाहाने बीच द्वन्द्व चर्कदै गएमा मुलुक दुर्घटनामा फस्न सक्ने सम्भावना समेत औल्याउनु भयो।
" राजतन्त्र पक्षधरहरूलाई विदेशी शक्तिहरूले उचालिरहेका छन्, त्यसैले धेरै मानिस अहिले राजतन्त्रको वकालत गरेर हिँडिरहेका छन् " उहाँले भन्नुभयो," देशको भूराजनीतिक परिस्थितिका कारण विदेशीहरूले खेल्न मौका पाएका छन्, विदेशीले चाहँदैमा नेपालबाट गणतन्त्रको अन्त्य र राजतन्त्रको उदय हुँदैन ।" देशको स्वाधिनता र राष्ट्रिय अखण्डताका पक्षमा नेकपा डटेर लड्ने उहाँको भनाइ छ । समाजवादी मोर्चाका संयोजकसमेत रहनु भएको विप्लवले अबको विकल्प नेकपाले मात्रै दिन सक्ने जिकिर समेत गर्नुभयो ।
"अहिलेको संविधान अपूर्ण छ, यो संविधानले जनताको आवश्यकता र चाहनालाई पूरा गर्न सक्दैन" उहाँले भन्नुभयो," त्यसैले देशमा अहिलेको परिस्थिति आएको हो, देश २०४७ र २०७२ तिर फर्कन सक्दैन, अझ अग्रगमनको बाटोमा जानुपर्छ ।" अब मुलुक पछि फर्किन नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।
जनताको सर्वभौम अधिकार खोसिने र सैन्य हस्तक्षेप हुने कुनै पनि सहयोगको पार्टीले प्रतिवाद गर्ने बताउनु भएको विप्लवले एमसीसी परियोजना बन्द गरेकोमा अमेरिकालाई धन्यवाद दिन समेत भ्याउनु भयो । वैदेशिक सहायताका नाममा हुने हस्तक्षेप अस्वीकार्य रहेको दोहोर्याउनु भएको उहाँले बिआरआई गरिबी निवारण र विकाससँग जोडिएकाले आफूहरुले समर्थन गरेको स्पष्ट पार्नुभयो ।
"झापा राजनीतिक दृष्टिकोणले धेरै महत्व राख्ने जिल्ला हो, झापा बसाईँका क्रममा सबै क्षेत्रका नागरिकसँग साक्षात्कार भइरहेको छ र गर्छु " उहाँले भन्नुभयो," झापामा भइरहेका साक्षत्कारबाट मुलुकको निकाशका लागि नेकपाले आगामी बाटो तय गर्छ ।" उहाँले झापासहित देशको सीमा क्षेत्रमा भएको अतिक्रमणको कडा विरोध गर्नुभयो ।
शनिबार साँझ झापा आउनु भएको उहाँ दुई दिनदेखि विभिन्न कार्यक्रममा बेस्त हुनुहुन्छ । अहिले उहाँ झापाली उद्योगी, व्यवसायीसँगको छलफलमा जुट्नु भएको छ । पूर्वनिर्धारित कार्यक्रम अनुसार विप्लवले चैत १२ गते झापाबाट सुरु हुने पार्टीको मेची - महाकाली यात्राको उद्घाटन गर्नु हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच