रामग्राम नगरपालिकाको बेवास्ताका कारण बसपार्क सञ्चालनमा आएन

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 8 mins

नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा व्यवस्थित रूपमा निर्माण भएको रामग्राम बसपार्क सञ्चालन आउन सकेको छैन । निर्माण सम्पन्न भएको पाँच महिना बितिसक्दा पनि बसपार्क सञ्चालनमा आउन नसकेको हो । परासी क्षेत्रमा व्यवस्थित रूपमा यातायात व्यवस्थापनका लागि बनाइएको बसपार्क पाँच महिना अघि नै निर्माण सम्पन्न भएको छ ।

रामग्राम नगरपालिकाका पूर्व नगर प्रमुख नरेन्द्रकुमार गुप्ताको विशेष पहलमा शहरी विकास मन्त्रालयको लगानीमा निर्माण सम्पन्न भएको राममग्राम बसपार्क वर्तमान मेयर धनपत यादवको बेवास्ताको कारण सञ्चालनमा आउन नसकको हो । बसपार्क रामग्राम नगरपालिकालाई शहरी विकास मन्त्रालयले हस्तान्तरण पनि गरिसकेको छ । संघीय सरकारको लगानीमा बनेपनि बसपार्कको व्यवस्थापन र सञ्चालन ल्याउने स्थानीय सरकार रामग्राम नगरपालिकाको जिम्मेवारी हो ।

मेयर यादवको बेवास्ताको कारणले गर्दा करोडौँ लगानीमा बनेको बसपार्क संचालन नआउँदा बालुवा पानी हाले जस्तो भएको जनता समाजवादी पार्टी जिल्ला अध्यक्ष धरेन्द्र यादवले बताउनु भयो । उहाँले भन्नुभयो, ‘संघीय सरकारले लगानी गरेर बनेको सुविधा सम्पन्न रामग्राम बसपार्क पनि स्थानीय सरकारले अहिले सम्म पनि सञ्चालनमा ल्याउन नसक्नु दुस्खद हो । तत्काल रामग्राम नगरपालिकाले व्यवस्थापन मिलाइ सञ्चालन ल्याउनु पर्छ ।'

नगरपालिकाको बेवास्ताका कारणले रामग्राम बसपार्क सञ्चालनमा आउन ढिलाइ भएको यातायात व्यवसायीहरूले बताएका छन । बसपार्क निर्माण भएपनि सडक सञ्जाल निर्माण नहुँदा बसपार्क सञ्चालन आउन नसकेको यातायात व्यवसायीहरु बताउछन् ।

बसपार्क निर्माण भएपनि त्यहाँ पुग्ने बाटो नबनेकोले गाडी पनि बसपार्कसम्म पुग्ने अवस्था समेत रहेको छैन । बनिसकेको बसपार्क सञ्चालन नहुँदा पार्किङको समस्या भोग्नुपरेको पाल्ही यातायात व्यवसायी प्रा. लि नवलपरासीका अध्यक्ष ऋषिराम पौडेलले बताउनु भयो । उहाँले भन्नुभयो, 'सरकारले करोडौँको लगानीमा निर्माण भएको बसपार्क सञ्चालनमा नआउँदा सदरमुकाम परासीमा बसपार्क निर्माण भइसक्दा पनि सडकमै अव्यवस्थित रूपमा सवारी साधन पार्किङ गर्नु परिरहेको छ ।'

रामग्राममा बसपार्क बने पनि सञ्चालन नहुदा सवारी साधनहरु बाटोमा नै पार्किङका लागि राखिन्छ । परासीको मुख्य बजार बुद्धचोक नै बसपार्कको रूपमा बुद्धचोक–निलो गेटसम्मको सडक विस्तारको क्रममा अस्थायी रूपमा रामग्राम–४ स्थित जिल्ला समन्वय समितिको जग्गामा बसपार्क सञ्चालन गरिएकोमा हाल उक्त स्थानमा जिल्ला समन्वय समितिले भवन निर्माण कार्य भइरहेकोले त्यहाँ नगरी महेशपुर जाने बाटोको वरिपरि पार्किङ गर्दा दुर्घटना हुने सक्ने सम्भावना रहेको बताउँदै बसपार्क संचालनमा नआउँदा पार्किङ ठूलो समस्या भएको अध्यक्ष पौडेलले बताउनु भयो ।

करोडौँ लगानीमा बनिसकेको रामग्राम बसपार्क छिटो सञ्चालनमा ल्याउनु पर्ने नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिंह सैथवारले बताउनु भयो । उहाले बाटो वरिपरि जताततै गाडीहरू अव्यवस्थित रूपमा पार्किङ गर्दा ठुलो दुर्घटनाको जोखिम निम्त्याउने र उक्त बसपार्क तुरुन्त सञ्चालन ल्याउन सम्बन्धी निकायले ध्यान दिनुपर्ने देखिएको उहाको भनाइ छ ।

बसपार्क सञ्चालन नहुँदा लामो तथा छोटो दूरीमा चल्ने बस मुख्य सडकमै पार्किङ भइरहेका छन । बसपार्क सञ्चालन नहुँदा सडकमै जताततै सवारी साधन पार्किङ हुने गरेकाले सवारी साधनको आवागमनमा समस्या हुनाका साथै ट्राफिक व्यवस्थापनमा समस्या र दुर्घटनासमेत हुने जोखिम बढेको जिल्ला ट्राफिक कार्यालय नवपरासीका प्रहरी बरिष्ठ नायब निरीक्षक डम्बर गिरीले बताउनु भयो। उहाँ भनुहुन्छ' व्यवस्थित पार्किङ नहुदा बाटैमा नै पार्किङ भइरहेको छ । जसको कारणले दुर्घटना बढ्ने सम्भावना बढी छ ।'साना ठुला गाडीको चाप, साघुरो बाटो, अव्यवस्थित पार्किङ जस्ता बिषयले दुर्घटनाको जोखिम बढी देखिन्छ ।

रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले शहरी विकास मन्त्रालयले एक महिना अगाडीमात्र बसपार्क रामग्राम नगरपालिकालाई हस्तान्तरण गरेको बताउनु भयो । उहाँ भन्नुहुन्छ, 'बसपार्क कहिले बनेर सकियो भन्ने भन्दा पनि नगरलाई हस्तान्तरण गरेको बिषय मुख्य हो । नगरलाई हस्तान्तरण गरेको करिब १ महिना मात्रै भयो । बसपार्क जहा निमार्ण भएको छ, त्यहाँ सडकको समस्या देखिएकोले सडकको पूर्वाधार निर्माण गरी हामीले अब वर्षापछि बसपार्क सञ्चालनमा ल्याउने तयारी गरिएको गरेका छौं ।'

संघीय सरकार अन्तर्गत रहेको शहरी विकास मन्त्रालयमार्फत करोडौँ लगानीमा रामग्राम–४ परासी बजारबाट करिब ८०० मिटर पश्चिम केरवानी गाउँको करिब साढे दुई बिघा क्षेत्रफलमा सुविधा सम्पन्न रामग्राम बसपार्क निर्माण सम्पन्न भएको छ । सुविधासम्पन्न बसपार्क निर्माण गर्ने गरी रु २७ करोडको गुरुयोजना बनाई पहिलो चरणमा केही पूर्वाधार सहितको बसपार्क निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।​​​​​​​​​​​​​

गुरुयोजना अनुसारको संरचना निर्माण गर्न समय लाग्ने भएकाले पहिलो चरणमा आधारभूत तहका पूर्वाधार सहितको बसपार्क निर्माण भएको नगरपालिकाका इन्जिनियर सतिश गुप्ताले जानकारी दिनु भयो ।

संघीय सरकारले पहिलो चरणको लागि रु चार करोड ७० लाखको लागतमा बसपार्कमा आधारभूत पूर्वाधार निर्माणका लागि समिर कन्ट्रक्शनलाई निर्माणको जिम्मेवारी दिएकोमा तीन करोड ६० लाखको लागतमा निर्माण सम्पन्न भएको छ । सुविधा सम्पन्न बसपार्क परिसरमा शौचालय, टिकट काउण्टर, सुरक्षाकक्ष, फुटपाथ, बसपथ लगायतका पूर्वाधार निर्माण गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?