निफको सातौं संस्करण चैतको पहिलो हप्तमा

४० देशका ८८ चलचित्र देखाइने

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सातौं संस्करण चैतको पहिलो हप्तमा हुनेभएको छ । आगामी चैत १ गतेदेखि ५ गतेसम्म निफको सातौं संस्करण आयोजना हुने भएको हो । निफको आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच यसका बारेमा जानकारी गराएको हो । विगत जस्तै यसपटक पनि महोत्सवमा विश्वका विभिन्न देशहमा बनेका उत्कृष्ट चलचित्र प्रदर्शन गरिने आयोजक समितिका अध्यक्ष केपी पाठकले जानकारी गराउनुभयो ।

महोत्सवमा समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मीका रोचक र अर्थपूर्ण छलफल सत्रसमेत सञ्चालन गरिने जनाइएको छ । यस वर्षको महोत्सवका लागि ६० देशबाट ५०० बढी फिल्म प्राप्त भएकोमा आयोजकले यो संस्करणमा ४० देशका ८८ वटा फिल्म छानेको जनाएको छ । छनौटमा परेका थुप्रै फिल्महरू कान्स, लोकान, बर्लिनाललगायत प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन् । फेष्टिभललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय दुई भागमा विभाजन गरी दुवै भागमा फिचर फिल्म, लघु फिल्म र वृत्तचित्र विधामा अवार्ड वितरण गरिने आयोजकको भनाइ छ ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकि डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्महरूबाट एउटालाई ‘चलचित्र समाजहरूको अन्तर्राष्ट्रिय महासंघ, आइएफएफएस डन अवार्ड प्रदान गरिनेछ ।

महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउण्ट एभरेष्ट अवार्ड, र सर्वोत्कृष्ट लघु चलचित्रलाई ५०० राशिको बागमती अवार्ड प्रदान गरिनेछ । यसैगरी नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी प्रदान गरिने जनाइएको छ ।

सर्ट फिल्ममध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्मतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिने महोत्सव आयोजक संस्थाका चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष महोत्सवमा प्रदर्शन हुने चलचित्र क्युएफएक्स सिनेमाका शाखाहरू सिभिल मल, लबिम मल, भक्तपुर र छाया सेन्टरका हलमा प्रदर्शन हुनेछन् ।

चलचित्रमा विदेशी लगानी ल्याउन पहल भइरहेको छ : अध्यक्ष केसी
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रमा विदेशी लगानी ल्याउनुपर्ने बताउनुभएको छ । मंगलबार निफ २०२४ बारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नेपाली चलचित्रमा विदेशी लगानी ल्याउनसके अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रहरूले प्रतिस्पर्धा गर्नसक्ने जिकिर गर्नुभएको हो ।

उहाँले नेपाली चलचित्रमा विदेशी लगानीको प्रावधान नरहेको भए पनि आफूहरूले अहिले पहल गरिरहेको दाबी गर्नुभयो । चलचत्रि निर्माणका लागि आवश्यक सामग्री ल्याउने वातावरण नरहेको उहाँको भनाइ थियो ‘नेपाली चलचित्रमा विदेशी लगानी ल्याउन सकियो भने इन्टरनेशनल लेभलमा हाम्रो देशका फिल्महरूले प्रतिस्पर्धा गर्न सक्छन् । विदेशी लगानी यहाँ ल्याउने प्रावधान छैन । त्यसका लागि पहल गरिरहेका छौं । शतप्रतिशत लगानी गर्न नपाए पनि ४९ प्रतिशत लगानी गर्नसक्ने व्यवस्थाका लागि पहल गरिरहेका छौं’, अध्यक्ष केसीले भन्नुभयो ।

चलचित्र क्षेत्र राष्ट्रिय र उद्योगका रूपमा विकास हुन सकेन : शाह
विशिष्ठ कलाकार नीर शाहले नेपालमा चलचित्र क्षेत्र राष्ट्रिय र उद्योगका रूपमा विकास हुन नसकेको बताउनुभएको छ । मंगलबार निफ २०२४ बारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा अहिलेसम्म पनि चलचित्र नामको कर्म मात्रै रहेको जिकिर गर्नुभयो ।

कलाकार शाहले चलचित्र कर्मलाई दिगो रूपले टेवा दिने उपयुक्त किसिमको पुँजी व्यवस्थापन नहुनु र बजार व्यवस्थापन नहुनु चलचित्र कर्मको सबैभन्दा ठूलो चुनौती रहेको बताउनुभयो । ‘हामीसँग चलचित्र नामको कर्म छ, तर त्यो उद्योग हुनसक्यो कि सकेन ? त्यसमा अध्ययन गर्न जरुरी छ । हामी राष्ट्रिय चलचित्र उद्योग भन्छौं, त्यो उद्योग हुनसक्यो कि सकेन भन्नेमा विश्लेषणात्मक अध्ययनको जरुरी छ । मेरो विचारमा हुन सकेको छैन । राष्ट्रिय पनि हुनसकेको छैन । उद्योग पनि हुनसकेको छैन । चलचित्र चाहीँ छ । चलचित्र कर्मलाई दिगो रूपले टेवा दिने उपयुक्त किसिमको पुँजी व्यवस्थापन नहुनु र बजार व्यवस्थापन नहुनु आजको हाम्रो चलचित्र कर्मको सबैभन्दा ठूलो चुनौती हो’, उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?