
पानी जीवन हो, पानी बहुमूल्य छ, अन्य मानवीय आवश्यकताका धेरै वस्तु र प्रविधि मानिसले बनाए पनि पानी मानिसको वसमा छैन । पानीका लागि प्रकृतिमै भरपर्नुको विकल्प छैन । तर, प्रकृति नै मानवीय चपेटमा पर्दैछ । पानीका स्रोतहरू संकटमा पर्दैछन् । मानिसकै कारण जलवायु परिवर्तनका असरले पानीका दिगो स्रोत हिमालहरूमा हिउँ पातलिँदै छन् । पर्यावरणीय चक्रमा परेको प्रतिकूल असरका कारण स्वास्थ्य जोखिमसमेत बढ्दै गएको अवस्था छ । बहुमूल्य पानी विश्वको साझा सम्पत्ति हो । समन्यायिक पहुँच हुन सकेमा पानी शान्तिको औजार हुन सक्ने तर विभेदपूर्ण बाँडफाँटको अवस्थाले पानीकै कारण विश्वव्यापी द्वन्द्व सुरु हुने विज्ञहरूले चेतावनी दिँदै आएका छन् ।
ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा ऊर्जा आयोगको सचिवालयले गरेको एक अध्ययनअनुसार विश्वका करिब तीन अर्ब मानिस साझा सीमामा हुने पानी प्रयोग गर्छन् । नेपालमा करिब छ हजार खोलानाला रहेका छन् । करिब एक लाख ९४ हजार वर्गकिलोमिटर जलाधार क्षेत्र रहेकोमा ७६ प्रतिशत जलाधार क्षेत्रमात्रै नेपालतर्फ रहेका छन् भने बाँकी २४ प्रतिशत जलाधार क्षेत्र नेपालबाहिर(चीनको तिब्बतीयन क्षेत्र)मा रहेका छन् । नेपालमा सबै स्रोतबाट प्राप्त हुने पानी २२५ अर्ब घनमिटर रहेको छ । आइस रिजर्भ करिब ४८१ किलोमिटर रहेको छ । तर, पानीको समुचित उपयोग हुन नसक्दा पानीबाट नेपालले खासै फाइदा लिन सकिरहेको छैन ।
औद्योगिक प्रयोजन, मत्स्यपालन, जल यातायात र घरेलु प्रयोजनमा खासै धेरै उपयोग हुन सकेको छैन भने जलविद्युत्तर्फको उपयोग पनि दुई हजार नौ सय ७५ मेगावाटमात्रै रहेको छ । सिँचाइतर्फ १५ लाख ५० हजार हेक्टरमा सिँचाइ सुविधाका लागि पूर्वाधार तयार भए पनि त्यसमध्ये एक तिहाइमा मात्रै वर्षैभरि सिँचाइ पुगेको अवस्था छ । हाल उपलब्ध १२५ अर्ब घनमिटर पानीमध्ये सिँचाइतर्फ २१ अर्ब घनमिटर, घरेलु प्रयोजनमा ०.८ अर्ब घनमिटर पानी उपयोग भएको छ । अन्य प्रयोजनका लागि ०.३ अर्ब घनमिटर गरी कुल २२.१ अर्ब घनमिटर पानीमात्रै उपयोग भइरहेको अवस्था छ । सन् २०५० सम्म नेपालमा सिँचाइमा ५२.८, घरेलु प्रयोजनमा ३.२ र अन्य एक अर्ब घनमिटर गरी ५७ अर्ब घनमिटरमात्रै पानी प्रयोग गर्न सक्ने अवस्था देखिन्छ । अर्थात् अहिले उपलब्ध पानीमध्ये ९.३ प्रतिशत र सन् २०५० मा २४.१ प्रतिशतमात्रै पानी उपयोग गर्न सक्ने अवस्था छ । पछिल्लो समय पानीका परम्परागत स्रोतहरू सुक्दै गएका छन् । जसका कारण शहरी क्षेत्रमा पानी आपूर्तिमा समस्या देखिएको छ । जमिनमुनिको पानी अत्यधिक दोहन र न्यून रिचार्जका कारण इनारहरू सुक्दै गएका छन् । विगतमा पानीमा आत्मनिर्भर काठमाडौं उपत्यका अहिले मेलम्ची, याड्ग्री र लार्केको शरणमा पुगेको छ । विश्व पानी दिवसका अवसरमा हिमालय टाइम्सका लागि मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेसँग लेखनाथ पोखरेलले गर्नुभएको कुराकानी :-
अहिले मेलम्ची खानेपानी विकास समिति के गर्दैछ ?
समितिको मुख्य काम भनेको मेलम्ची खोलाबाट खानेपानी काठमाडौंमा पथान्तरण गर्ने हो । हामीले काठमाडौं पानी वितरणका लागि दैनिक करिब २० करोड लिटर पानी प्रशोधन गरेर काठमाडांै उपत्यका खानेपानी वितरण आयोजना(केयुकेएल) लाई पठाइरहेका छौं । त्यसबाहेक २०७८ सालको बाढीले मेलम्ची खोलामा बनाइएको हेडबक्स पूर्णरूपमा क्षति भयो । क्षति भइसकेको संरचना फेरि त्यही ठाउँमा पुनस्र्थापना गर्न सक्ने अवस्था नदेखिएपछि अर्को नयाँ ठाउँमा सार्नुपर्छ भनेर त्यसको अध्ययन सुरु गरेका छौं ।
मेलम्चीसँगै याङ्ग्री र लार्के खोलाको पानी पनि ल्याउने कुरा थियो नि ?
हो, मेलम्चीसँगै याङ्ग्री र लार्के खोलाबाट पनि १७-१७ करोड लिटर पानी ल्याउने योजनाअनुसार त्यसको डिजाइनको काम सुरु भएको छ । मेलम्चीबाट त अहिले १७ करोड लिटरभन्दा बढी पानी आइरहेकै छ । वर्षात्को समयमा सुरुङमा लेदोसहितको पानी पस्ने भएकाले हामीले बन्द गर्ने गरेका छौं । हिँउदमा नियमितरूपमा आपूर्ति भइरहेको अवस्था छ । वर्षात्को समयमा करिब तीन महिना हामीले बन्द गर्यौं । साउनदेखि असोज पहिलो सातासम्म बन्द गरेका थियौं । तर, यस वर्ष मेलम्चीनजिकै अर्को खोलाको पानी पनि ल्याउने हाम्रो तयारी छ । त्यो भयो भने वर्षात्को समयमा पनि पानी आपूर्ति हुन सक्छ । १७ करोड लिटरै त नआउला ।
हिउँदमा चाहिँ पानी आपूर्तिमा खासै जोखिम छैन ?
हिँउदमा पनि ठूलो वर्षा भयो र लेदोसहितको खोला बग्यो भने समस्या हुन सक्छ । तथापि त्यस्तो हुन नदिन हामीले सकेसम्म त्यहाँको संरचना सुरक्षित नै बनाएका छौं । तैपनि हेडबक्सको अर्को संरचना नबनेसम्म जोखिमको सम्भावना त रहने नै भयो ।
पानीको गुणस्तरको अवस्था के छ ?
मेलम्चीको पानीको गुणस्तरमा समस्या छैन । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) को मापदण्डअनुसार नै पूर्णरूपमा प्रशोधन गरेरै पानी पठाउने गरेका छौं । अझ भनौं, डब्लुएचओको मापदण्डभन्दा पनि राम्रो पानी पठाइरहेका छौं । तर, वितरण प्रणाली आइसकेपछि गुणस्तरमा समस्या आएको हुन सक्छ किनभने सबै ठाउँमा वितरणका लागि नयाँ संरचना बनिनसकेकाले कतिपय ठाउँमा पुरानै पाइप संरचनाबाट पानी वितरण गर्दा लिकेजको समस्याले पनि पानीको गुणस्तरमा समस्या आउने गर्छ ।
भनेपछि आयोजनाले पठाउने पानीचाहिँ सिधै पिउन सकिन्छ ?
हो, सिधै पिउन सकिन्छ । हामी त्यही पानी प्रयोग गरिरहेका छौं । हामी बोतलको किन्दैनौं, त्यही पानी पिउने हो ।
काठमाडौं उपत्यकामा पानीको माग कति हो ?
एक अध्ययनले काठमाडौं उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग रहेको देखाएको छ । तर, अहिले हाम्रो प्रणालीबाट दैनिक १७ देखि २० करोड लिटरमात्रै आपूर्ति भइरहेको छ । स्थानीय स्रोतहरूबाट पनि दैनिक आठ देखि १० करोड लिटर पानी आपूर्ति भइरहेको छ । तर, जमिनमुनिको पानी रिचार्जमा समस्यासँगै पछिल्लो समय काठमाडौंमा डिप बोरिङको पानी सुक्दै गएको अवस्था छ । अझै पनि काठमाडौंका लागि दैनिक २० देखि २५ करोड लिटर पानी अपुग छ । याङ्ग्री र लार्के आएपछिमात्रै मागअनुसारको आपूर्ति होला ।
मेलम्चीबाट १७ करोड लिटर पानी आपूर्ति हुने भनिए पनि पछिल्लो समय जलवायु परिवर्तनलगायतका असरले नदीनालाहरूमा पानीको सतह घट्दै गएको बताइन्छ नि ?
हो, जलवायु परिवर्तनको असरले हिमालमा हिउँ नपर्दा हिमनदीहरू सुक्ने क्रम बढिरहेको छ । मेलम्ची खोलाको पानीको सतह पनि सुरुको अवस्थामा छैन । सन् १९९८ मा डिजाइन हुँदाको समयमा हिउँदको फ्लोभन्दा अहिलेको हिउँदको फ्लो धेरै घटिसकेको छ । वैशाखमा अझै पानी घट्छ तर अहिलेसम्म त १७ करोड लिटरबाट तल झरिसकेको अवस्था छैन । अझै पनि मेलम्ची खोलामा २० देखि ३० करोड लिटर पानी छ । अहिलेसम्म चाहिँ समस्या छैन तर आगामी दिनमा समस्या नआउला भन्न सकिने अवस्था पनि छैन ।
मेलम्चीको पानी कति जनसंख्याले उपयोग गरेको छ ?
त्यसको यकिन तथ्यांक त छैन । काठमाडौं उपत्यकाको रिङरोडभित्र यसको वितरण संरचना तयार भइसकेको छ । केही रिङरोडबाहिर पनि वितरण भएको छ । पानी आपूर्ति परिमाणका आधारमा भन्नुपर्दा करिब २० लाख जनसंख्यालाई पुग्ने पानी हामीले वितरण गरेका छौं । तर, समानुपातिक वितरण छ कि छैन । कति नागरिकका धारामा पानी पुगेको छ ? त्यस्तो तथ्यांक हामीसँग हुँदैन ।
पानी त मानिसले बनाउन सक्ने कुरा भएन, प्रकृतिले दिए पाउने हो, पानीको भविष्य कस्तो देख्नुहुन्छ ?
हिमनदीहरू पानीका सबैभन्दा दिगो स्रोत मानिन्छ । तर, जलवायु परिवर्तनलगायत विविध कारणले हिमालमा हिउँ नै पर्न छाड्यो भने संकट आउन सक्छ, जसको समाधानको उपाय हामीसँग छैन । यो हाम्रोमात्रै नभई विश्वव्यापी चिन्ताको विषय बनेको छ । आगामी दिनमा जलवायु परिवर्तनका असरहरू कस्ता हुन्छन्, यसै भन्न सकिने अवस्था छैन । त्यसैले सबैले पानीको सदुपयोग गर्नुपर्छ । पानीका स्रोतहरूको संरक्षण गर्नुपर्छ । यसमा तीनै तहका सरकार, नागरिकदेखि सबै सरोकारवाला लाग्नुपर्छ ।
मेलम्ची खानेपानी व्यवस्थापनमा समस्या र चुनौती चाहिँ छन् ?
मेलम्ची मुहानसम्मको पहुँचमार्ग हरेक वर्ष भत्किने गरेको छ । करिब १० किलोमिटर सडक हरेक वर्ष बाढीले बगाउँछ । वैकल्पिक सडक नहुँदा वर्षात्को बेला हिँडेर मुहानसम्म पुग्नुपर्ने अवस्था हुन्छ । त्यस्तै साधन, स्रोत अभावमा आयोजनाले स्थानीयवासीका माग सम्बोधन गर्न सकिरहेको छैन । स्थानीयवासीका धेरै ठूला मागहरू भएकाले आयोजनाले मात्रै पूरा गर्न सक्ने अवस्था छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच