
म्याग्दी । हिन्दु र बौद्ध धर्मावलम्वीहरुको प्रशिद्ध धार्मिक स्थल मुक्तिनाथमा यही चैत २४ गते श्रीरामनवमीका दिनदेखि २०८२ सालको विजयादशमीका दिनसम्म ६ महिने षाड्मासिक श्रीमुक्तिनाथ महोत्सव हुने भएको छ ।
म्याग्दीका सदरमुकाम बेनीमा आज (शनिवार) आयोजित विश्वशान्ति गण्डकी महासभा विषयक प्रवचन तथा अन्तरक्रिया कार्यक्रममा मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)ले उक्त जानकारी दिनुभएको हो ।
म्याग्दी,बागलुङ र पर्वतका सरोकारवालाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा स्वामी कमलनयनाचार्यले यही चैत १८ गते नवलपरासीको त्रिवेणीस्थित श्री गजेन्द्रमोक्ष दिव्यधामबाट रथयात्रा सुरु गरि देवघाट,पोखरा,बागलुङको पञ्चकोट,म्याग्दीको बेनी,गलेश्वर हुँदै २२ गते मुस्ताङ स्थित पवित्र धार्मिक स्थल मुक्तिनाथमा पुगेर २३ गते पूर्वाङ्ग गरी २४ गतेदेखि ६ महिने मुक्तिनाथ महोत्सवको आयोजना हुने बताउनुभयो ।
उक्त महोत्सवमा वेद,उपनिषद्,रामायण,महाभारत,पुराण,गीता,विष्णुसहस्रनाम लगाएतका शास्त्रहरुको पाठपारायण,भगवद् आराधना सहित विशेष अनुष्ठान हुने उहाँले जानकारी दिनुभयो ।
उक्त अन्तरक्रिया तथा प्रवचन कार्यक्रममा बोल्दै उहाँले कालीगण्डकी नदी क्षेत्रका पुलस्त्य र कालाञ्जर क्षेत्र प्राचिन कालदेखि नै ऋषिमुनि र तत्वज्ञानीहरुको क्षेत्र भएको र यी क्षेत्रका धार्मिक तथा आध्यात्मिक स्थलहरुको पहिचान गरी प्रचारप्रसार गर्न सक्ने हो भने प्रशस्तै पर्यटकीय संभावनाहरु रहेको बताउनुभयो । कार्यक्रममा स्वामी कमलनयनाचार्यले कालीगण्डकी नदीको अस्तित्व नै खतरामा पर्ने गरी निर्माण भइरहेका जलविद्युत आयोजनाहरु आवश्यक नरहेको बताउनुभयो । उहाँले भन्नुभयो “संसारभरीका मन्दिरमा पूजा हुने शालिग्राम पाइने कालीगण्डकी नदीमा किन बनाउने हाइड्रो पावर ? कालीगण्डकीको महत्वलाई उजागर गर्न सक्ने हो भने प्रशस्त आर्थिक उपार्जन गर्न सकिन्छ । कालीगण्डकीको पानी थुनेर जलविद्युत आयोजना आवश्यक छैन ।” उहाँले कालीगण्डकी नदीबाट गिटी,वालुवा लगाएतका नदीजन्य श्रोतहरु निकाल्न पनि प्रतिवन्ध लगाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै कालीगण्डकी तथा शालीग्रामका अध्यता एवम् नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा.जगन्नाथ रेग्मीले शालिग्राम शिला र कालीगण्डकी नदीको महत्व विश्वकै लागि अनुपम भएको बताउनुभयो । उहाँले कालीगण्डकी नदीलाई पूर्वीय सभ्यताको उद्गम स्थल भएको बताउँदै भारत र नेपालका सबै तीर्थहरुभन्दा मुक्तिनाथ सर्वोत्म थीर्थ भएको दावी गर्नुभयो ।
त्यसैगरी संविधान सभाका सदस्य नवराज शर्माले प्रदूषण र जलविद्युत आयोजनाहरुको कारण कालीगण्डकीको जलसम्पदा संकटमा पर्दै गएको बताउँदै जल (पानी) नै नरहेपछि कालीगण्डकीको महत्व पनि नरहने हुँदा यसतर्फ सबै सचेत हुन आग्रह गर्नुभयो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले धार्मिक र आध्यात्मिक जागरणसँगै पर्यटन र विकाससँग जोडिएको स्वामी कमलनयनाचार्यको अभियानलाई पूर्णरुपले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले त्रिवेणीबाट सुरु भएको रथयात्रा बेनीमा प्रवेश गरेपछि भव्य स्वागत सहित म्याग्दीको सीमाना पार नहोउन्जेलसम्म सहयोग गर्न र उक्त अभियानमा सरिक हुन नगरवासी लगाएत जिल्लावासीहरुलाई आह्वान गर्नुभयो ।
कार्यक्रममा ब्राह्मण समाज नेपालका कार्यवाहक अध्यक्ष महेश पराजुली,पञ्चकोट विकास समितिका अध्यक्ष जगन्नाथ आचार्य, जलजला गाउँपालिका पर्वतका अध्यक्ष राजु आचार्य,गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच