
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरूको सक्रियताले मुलुकको राजनीतिक चरम तरलताको स्थितिमा पुगेको छ । राजसंस्था र हिन्दूधर्म पुनःस्थापनाको माग लिएर राजावादीहरू सक्रिय भएपछि वर्तमान राजनीतिक व्यवस्थाका पक्षधर दलहरू पनि प्रतिकात्मक ढंगले अघि बढेका छन् । दुई परस्परविरोधी धारहरू गणतन्त्रवादी र राजावादी शक्तिहरू यही चैत १५ गते काठमाडौंमा आमनेसामनेको तयारीमा छन् ।
विपक्षी चार दलीय समाजवादी मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), नेपाल समाजवादी पार्टी (नेसपा) र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्दै छन् । मोर्चाले वर्तमान सरकारविरुद्ध चैत २४ गते विरोध प्रदर्शन गर्ने पूर्वतयारी गरेको थियो । तर, राजावादीहरूको सक्रियता बढेपछि मोर्चाले पूर्वतयारीलाई परिमार्जन गर्दै चैत १५ गते प्रतिगमनविरुद्ध हजारौँ मानिस राजधानीमा उतार्ने निर्णय गरेको छ ।
मोर्चामा आबद्ध चार दलले विरोध सभामा बागमती प्रदेशका १३ जिल्लाबाट पार्टी संगठन, जवस÷मोर्चा, शुभेच्छुक संघसंस्था, शुभचिन्तकलाई उतार्ने तयारी गरेका छन् । देशी विदेशी प्रतिक्रियावादी शक्तिको उक्साहटमा जनताले मिल्काइसकेको राजसंस्था फेरि सलबलाउने कोसिसमा रहेकाले सडकबाट सशक्त प्रतिरोध गर्ने समाजवादी मोर्चाको जिकिर छ ।
चैत १५ गते नै गणतन्त्रको विरोधमा राजसंस्थाको पुनःस्थापनाको लागि भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को नेतृत्वमा पूर्वराजाका समर्थकले काठमाडौंमै प्रदर्शन गर्दै छन् । अभियानको नेतृत्व गरिरहेका प्रसाईंले चैत १५ गते हुने गणतन्त्रविरुद्धको प्रदर्शनमा हरेक नागरिक देशको रक्षा गर्न खुकुरी बोकेर आउने चेतावनी दिइसक्नु भएको छ । राजसंस्था पक्षधर दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाललाई राजासहितको हिन्दू अधिराज्य कायम गर्न आफ्नो नेतृत्वको अभियानमा सामेल हुनसमेत प्रसाईंले आग्रह गर्नुभएको छ । प्रसाईं नेतृत्वमा यसअघि भएका प्रदर्शनहरू अराजक बन्ने गरेका थिए । यसपटकको प्रदर्शन पनि अराजक बन्नसक्ने प्रसाईंकै अभिव्यक्तिबाट पुष्टि हुन्छ ।
चैत १५ गते काठमाडौंमा हुने राजावादी र गणतन्त्रवादी शक्तिहरूको प्रदर्शनको तयारी सरकारको भने टाउको दुःखाइ बनेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थक र राजावादीहरू सडकमै उत्रिएर उपद्रो गर्न थालेपछि रक्षात्मक बनेको सरकार दुई परस्परविरोधी शक्तिहरूको प्रदर्शनले थप दबाबमा परेको छ । एकैदिन दुई फरक समूहका परस्पर विरोधी प्रदर्शनमा उत्रने भएपछि हुने खतराबारे सरकार आन्तरिक तयारीमा जुटेको छ । आइतबार गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकमा चैत १५ मा हुने दुईवटा प्रदर्शनबारे छलफल भएको छ ।
समाजवादी मोर्चा र प्रसाईँको नेतृत्वमा हुने पूर्वराजा समर्थकको प्रदर्शनमा देखिनसक्ने सुरक्षा चुनौतीबारे छलफल भएको बताइएको छ । केन्द्रीय सुरक्षा समिति बैठकमा गृहमन्त्री रमेश लेखक, गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडी, आइजिपी दीपक थापा, सशस्त्र प्रहरीका आइजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र नेपाली सेनाका प्रतिनिधि सहभागी थिए । बैठकमा पूर्वराजा समर्थकहरूको गतिविधि, स्वर्गद्वारी पीडितहरूको प्रदर्शन र अस्थायी शिक्षकहरूले गर्ने भनिएको प्रदर्शनबारे छलफल भएको छ । स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिको प्रदर्शनलाई पनि केन्द्रीय सुरक्षा समितिले सुरक्षा चुनौती भनेर विश्लेषण गरेको छ ।
ज्ञानेन्द्रलाई राजनीति गर्नुछ भने पार्टी खोलेर आउन देउवाको चेतावनी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्नुछ भने पार्टी खोलेर राजनीतिमा आउन चुनौती दिनुभएको छ । ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायकसमेत नभएको टिप्पणी गर्दै सभापति देउवाले भन्नुभयो, ‘नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन । ज्ञानेन्द्र संवैधानिक राजा हुन लायक पनि छैनन् । संवैधानिक राजा हुन पनि सक्दैनन् । राप्रपाले बरु पार्टी सभापति बनाए हुन्छ । राप्रपा पनि पछि पछुताउँछ । पार्टीमा लाग्यो भने राप्रपाले पनि दुःख पाउँछ ।’
सभापति देउवाले पूर्वराजा शाहलाई राजनीतिमा आउन लागेको भए पार्टी खोलेर आउन आहृवान गर्दै भन्नुभयो, ‘राजनीति गर्नुछ भने पार्टी खोलेर गरे हुन्छ, त्यो पार्टीका पनि दुःख पाउँछन् विचराहरूले । राप्रपाले पनि दुःख पाउँछ ।’ राजाका विरुद्धमा बोल्दा आफैँलाई जेलसमेत हालेको स्मरण गर्दै देउवाले भन्नुभयो, ‘मैले यिनै कुरा गर्दागर्दै मलाई नै लगेर जेलमा हालिदियो । एउटा सक्षम अदालत छ, त्यो अदालतका कारणले म छुटेको हो । कुनै पनि हालतमा संवैधानिक राजा बन्ने छाँटकाँट छैन । बन्नेवाला पनि छैनन् ।’ सभापति देउवाले गणतन्त्रका पक्षमा एकजुट भएर लाग्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिनुभएको छ ।
नेकपा एसले गणतन्त्र पक्षधरलाई सघाउने
नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा हुने सबै प्रकारका कार्यक्रमलाई सक्दो सहयोग गर्ने बताएको छ । पार्टीले मातहतका कमिटी तथा सबै जनवर्गीय संगठनलाई गणतन्त्रविरुद्ध गतिविधि गर्नेलाई परास्त गर्न गणतन्त्रका पक्षमा हुने प्रदर्शन, आमसभा, विरोध तथा संघर्षका कार्यक्रममा सक्रिय ढंगले सहभागी हुन निर्देशन दिएको छ । केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार समान राजनीतिक सिद्वान्त र दृष्टिकोण भएका वामपन्थी शक्तिबीच एकता तथा परिवर्तन पक्षधरसँग सहकार्य गरी गणतन्त्रको पक्षमा जनमत सृजना गर्न सम्पूर्ण कमिटीलाई परिपत्र गरिएको छ ।
समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौंमा आयोजना गर्ने विरोध प्रदर्शन तथा आमसभालाई सफल बनाउन पार्टीका सम्बद्ध सबैलाई अनुरोध गरेको छ । मुलुकमा सुशासन कायम गर्ने, रोजगारीका अवसर सृजना, आर्थिक समृद्धिका साथै सामाजिक रूपान्तरणलाई प्राथमिकता राखेर देशभर समाजवादी अभियान सुरु गरेको पार्टीले संगठन विस्तारलाई केन्द्रमा राखेर काम गरिरहेको अर्यालको भनाइ छ ।
प्रमुख तीन दलका शीर्ष नेताबीच छलफलको तयारी
प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच छलफलको तयारी भएको छ । शान्ति प्रक्रियाको बाँकी कामबारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेता कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुन लागेको हो । हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानमा रहनुभएका प्रमुख प्रतिपक्ष दलका नेता तथा प्रचण्ड काठमाडौं फर्किएपछि शीर्ष नेताहरूबीच शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने विषयमा छलफल हुने बताइएको छ ।
प्रचण्ड आइतबार काठमाडौं फर्किसक्नु भएको छ । अध्यक्ष प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले टिआरसीबाहेक अन्य विषयमा भने छलफल नहुने दाबी गर्नुभएको छ । चैत ६ गते प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले टिआरसीको विषयमा सोधिएको प्रश्नको उत्तरमा प्रधानमन्त्री केपी ओलीले प्रचण्डसँग सम्पर्कको प्रयास भइरहेको जवाफ दिनुभएको थियो । यसअघि टिआरसीको विषयमा छलफल गर्न चैत ४ गते प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेल खुमलटार पुग्नुभएको थियो ।
गणतान्त्रिक मोर्चा आवश्यक नरहेको कांग्रेसको निष्कर्ष, तत्काल सडकमा नउत्रिने
नेपाली कांग्रेसले संविधानको पक्षमा दृढताका साथ उभिने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको कार्यसम्पादन समिति बैठकले संविधानमार्फत नै जनताका आवश्यकता र समस्या सम्बोधनलाई ध्यान दिने निर्णय गरेको हो । निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले भन्नुभयो, ‘सार्वभौम नेपाली जनताद्वारा निर्वाचित संविधान सभाबाट बनेको संविधानको रक्षामा पूर्ण प्रतिबद्धता जाहेर ग¥यो । संविधानमार्फत नै जनताका आवश्यकता र समस्या र महŒवाकांक्षालाई सम्बोधन गर्न सकिने निर्णय गरेको छ ।’
कांग्रेस तत्काल सडकमा नउत्रिने निर्णय पनि बैठकले लिएको डा. महतले बताउनुभयो । ‘संविधानको पक्षमा आम जनता उभिएकाले कांग्रेसले शक्ति प्रदर्शनको आवश्यकता ठानेको छैन,’ उहाँले भन्नुभयो । यस्तै, कांग्रेसले गणतन्त्रवादीले मोर्चा खडा गर्नु आवश्यक नरहेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीसहित विपक्षी दलका नेताले राखेको गणतान्त्रिक मोर्चा आवश्यक नभएको निष्कर्ष कांग्रेसले निकालेको डा. महतको भनाइ थियो । ‘सत्तापक्षका दल मात्र होइन प्रतिपक्षमा रहेका समेत दलको गणतन्त्रमा प्रतिबद्धता छ’, महतले भन्नुभयो, ‘जुन कुरामा विवाद नै छैन त्यसमा मोर्चाबन्दीको आवश्यकता हुँदैन ।’

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच