
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीहरु विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध उभिनुभएकाे छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सोमबार राति फेसबुकमा एक स्टाटस लेख्दै उहाँहरुले उक्त निर्णयको विरोध गर्नुभएको हो । उहाँहरु दुवैजनाले सरकारको सो निर्णय गलत भएको उल्लेख गर्नुभएको छ ।
महामन्त्री शर्माले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘सरकारले गलत निर्णय जो लियो, यसप्रती खुला र प्रष्ट रूपमा विमति छ’ शर्माको स्टाटस बाहिरिएको ५ मिनेट पनि नबित्दै पोष्ट गरिएको थापाको स्टाटसमा लेखिएको छ, ‘निर्णय गलत छ,सरकार१ उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन।’
लगत्तै प्रतिक्रियाको वर्षा हुन थाल्यो । जहाँ सरकारको कामको चर्को असन्तुष्टिदेखि अपशब्दसम्म लेखिए । यसले नागरिक पंक्ति सरकारको कामप्रति पटक्कै सन्तुष्ट छैन भन्ने पुष्टि गर्छ । सँगै आस गरिएका महामन्त्रीद्वयले सामाजिक सञ्जालमा आफ्नो मतविमत राख्नेभन्दा पनि काम गरेर देखाउन भनिएको छ ।
अधिकांश प्रतिक्रियामा काम नगर्ने ‘मार्केट खपत’ र सस्तो लोकप्रियताका लागि महामन्त्रीद्वय लागेको कटु टिप्पणी गरिएको छ । आमनागरिकको त्यो प्रतिक्रियामा आंशिक सत्यता छ । किनकि, कांग्रेस सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल हो । उर्जामन्त्री दिपक खड्काकै जिद्दीमा कुलमान घिसिङ पद मुक्त गरिनु भएको हो ।
कुलमानलाई हटाउन नहुने पक्षमा गृहमन्त्री रमेश लेखक दह्रैसँग लागेपनि असफल भएको खुलेको छ । गृहमन्त्री लेखकले फरक मत राख्दाराख्दै सरकारले घिसिङलाई पदमुक्त गर्ने निर्णय गर्यो, जसको चौतर्फी विरोध भइरहेको छ । जो स्वभाविक हो ।
‘उज्यालो नेपाल’ को श्रेय पाउनु भएको घिसिङ साउनमा आफ्नो कार्यकाल पूरा गरेर अवकाशमा जाँदै हुनुहुन्थ्यो । यस्तो अवस्थामा सरकारले गलत निर्णय गरेपछि कांग्रेस महामन्त्रीद्वय असन्तुष्ट बन्नु र नागरिक पंक्ति बिच्कनु स्वभाविक हो ।
कांग्रेस महामन्त्री शर्माले कुलमान हटाउने कुरा गलत मात्रै भन्नू भएको छैन, पार्टीमा पनि त्यस प्रकारको छलफल नभएको स्पष्ट पार्नु भएको छ । महामन्त्री शर्माले लेखेका छन्, ‘कुलमान घिसिङलाई पदबाट हटाउन काँग्रेस पदाधिकारी तहको सहमति थिएन, बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिक रुपमै सजग गराइएको थियो ।’ महामन्त्री शर्माको यस भनाइले मन्त्रीहरु पार्टीको निर्देशन मान्दैनन्, बेलगाम काम गर्छन् भन्ने प्रष्ट गर्छ ।
महामन्त्री शर्मा त्यतिमा रोकिनु भएको छैन । प्रतिगमनको खेती गर्नेहरूलाई निरुत्साहित गर्नु पर्ने बेलामा सरकारको यो निर्णय न्यायोचित विल्कुलै नभएको महामन्त्री शर्माको टिप्पणी छ ।
उहाँले लेख्नु भएको छ ‘कारबाही योग्य केही भए, पछिपपनि गर्न मिल्थ्यो, केही राम्रा प्रयास छाँयामा पार्ने गरी सरकारले कुलमान हटाउनु हुन्न थियो, सरकारको यो निर्णय समयोचित विल्कुलै भएन , असन्तुष्टिलाई निराशाको भाष्य बनाएर, प्रतिगमनको खेती गर्नेहरुलाई निरुत्साहित गर्नुपर्ने बेलामा सरकारले गलत निर्णय जो लियो, यसप्रति खुला र प्रष्ट रूपमा विमति छ ।’
महामन्त्री थापाले आफूहरूले भन्दा सुने जस्तो गर्ने र सरकार र मन्त्रीले काम अर्कै गर्ने गरेको आक्रोश व्यक्त गर्नु भएको छ । उहाँले मन्त्रीले गरेका नराम्रा काम रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीले नसकेको टिप्पणी गर्नु भएको छ ।
महामन्त्री थापाको आक्रोश छ, ‘मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो, तर विडम्बना त्यो भएन,हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ?’ महामन्त्री शर्मा र थापाको यो टिप्पणीले सरकारको कामप्रति उहाँहरु वाक्कदिक्क भएको आसय झल्कन्छ। सँगै उहाँहरुमा पनि नागरिक पंक्तिमा झैँ असन्तुष्टि चुलिँदै गएको प्रष्ट हुन्छ ।
महामन्त्री थापा पनि कुलमान हटाउने सरकारको यो निर्णयमा यतिमै रोकिनु भएको छैन । उहाँको प्रश्नसहितको टिप्पणी छ, ‘आमनागरिकमा असन्तुष्टि बढ्दो छ, त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ, यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाहिँ आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ?’
कांग्रेस महामन्त्री शर्मा र थापा सरकारको उक्त निर्णयबाट गृहमन्त्री लेखकसमेत बिच्किनु भएको छ । उहाँको प्रतिक्रिया छ, ‘यो ठिक हुँदैन, कुलमानलाई हटाउने कुरा ठिक हुँदैन, बाहिरको स्थिति ठिक छैन, भल्नरेबल अवस्था छ, यस्तो बेलामा यो निर्णय गर्ने कुरा ठिक होइन ।’
गृहमन्त्रीको यो अभिव्यक्तिले मन्त्रिपरिषद् बैठकमा जिद्दीका साथ प्रस्तुत हुन्छन् , अमुक व्यक्ति र स्वार्थका लागि मन्त्रीहरु आफ्नो मर्यादा र पालना गर्नु पर्ने सामान्य नियम पनि मान्दैन भन्ने देखाउँछ । महामन्त्रीद्वयको टिप्पणीले त सरकारका केही मन्त्री अन्त कतैबाट चलेको र स्वार्थ समूहको हितमा निर्लिप्त भएर लागेको पुष्टि गर्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच