प्रदेशलाई पूर्ण अधिकार प्रत्यायोजन गर्न जरुरी : सभापति पुन

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले संघले पूर्ण अधिकार प्रत्यायोजन नगर्दा प्रदेश सरकार पङ्गु भएको बताउनुभएको छ । नेपाली काँग्रेस रेसुङ्गा नगर कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले संघीय सरकारले प्रदेशलाई पूर्ण अधिकार प्रत्यायोजन गर्न जरुरी रहेको बताउनुभएको हो ।

उहाँले पूर्ण अधिकार प्राप्त नगर्दा जनतामा प्रदेशप्रति चरम निराशा छाएको बताउनुभयो । प्रदेशमा धेरै खर्च हुन नदिन पार्टीले धेरै खर्च नगर भनेर निर्णय गरेर पनि दिएको उहाँले बताउनुभयो । अख्तियार र न्यायलयका कारण डराएर जनप्रतिनिधिले खुलेर काम गर्न नसकेकाे उहाँकाे भनाइ छ ।

“अहिले देशमा विकास विरोधी अख्तियार र न्यायलय बनेको छ । अख्तियारमा मुद्दा पर्ने डरले जनप्रतिनिधिले खुलेर काम गर्न सकेका छैनन् । न्यायलयले विकासका काममा अवरोध गरेको छ ।” उहाँले भन्नुभयो,-“जनप्रतिनिधिले पनि मै राजा हुँ भन्ने प्रवृत्ति त्याग्न गर्न जरुरी छ ।”

निर्वाचन जितेपछि जनता भेट्न नआउने प्रदेश सांसदलाई समन्वयकारी भूमिका निर्वाह गर्ने भन्दै निर्वाचन जितेपछि घोषणा पत्र अनुसार काम नगर्ने समस्याका कारणले पनि आम जनतामा निराशा छाएको उहाँले बताउनुभयो । पार्टीमा सच्चिन पर्ने अवस्था आएको भन्दै सहयोग गर्ने भावना हराउँदै जान थालेको उहाँले उल्लेख गर्नुभयो ।

पछिल्लो पटक बस्ती विकासमा समस्या भइरहेको बताउँदै नीति बनाएर जान आवश्यक रहेको उल्लेख गर्दै शिक्षा र स्वास्थ नेपाल सरकारले पूर्ण जिम्मेवार लिनुपर्ने उहाँकाे तर्क थियाे । “आम निर्वाचन र पार्टीको आन्तरिक निर्वाचन पनि परिवर्तन गर्न जरुरी छ । ” उहाँले भन्नुभयो,-“अहिलेकै अवस्थामा जस्तो समानुपातिक निर्वाचन प्रणालीले सहि परिणाम दिन नसक्दा प्रश्न उठ्ने गरेको छ ।”

जनतासँग पपुलर व्यक्तिले टिकट नपाउने र नेतासँग नजिकिनेले टिकट पाउँदा समस्या हुने गरेको सभापति पुनले बताउनुभयो । अहिलेकै निर्वाचन प्रणालीले गुट जन्माइरहेको बताउँदै आन्तरिक र आम चुनावमा पनि समस्या आएको र अन्तरघातलाई प्रशय दिइरहेको उहाँले उल्लेख गर्नुभयो ।

पार्टीको केन्द्रीय सदस्य हुनका लागि पार्टीको तल्लो तहबाट अनुमोदन हुनुपर्ने व्यवस्थाका लागि दबाब दिन कार्यकर्ताहरूलाई आग्रह गर्दै जनताले पनि निर्वाचनमा सहि प्रतिनिधिलाई कुनै प्रलोभनमा नपरी न्याय दिनुपर्ने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?