व्यवसायीद्वारा ‘इन्टरप्राइजेज अक्सिजन प्रोग्राम’ माग

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघको काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनले वर्तमान अवस्थामा उद्योगी व्यवसायीले भोगिरहेका समस्या पहिचान गरी तत्कालै अप्ठ्यारोमा परेका व्यवसायीलाई उद्धार गर्न ‘इन्टरप्राइजेज अक्सिजन प्रोग्राम’ को मागलगायत विभिन्न १० बुँदे घोषणापत्र जारी गरेको छ ।

वित्तीय संस्थाको ऋणको बोझले थिचेर उठ्न नसक्ने अवस्थाका उद्योग व्यवसायलाई सरकारले थप इक्विटी इन्जेक्ट गरेर सञ्चालनमा ल्याउने वातावरण निर्माण गरिनुपर्ने, व्यवसाय सही ढंगबाट सञ्चालन गर्न उनीहरूले भोगिरहेका प्रशासनिक झन्झट अन्त्य गर्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने, व्यवसाय व्यवस्थापन, कर तथा भन्सार भुक्तानी, कम्पनी वा व्यवसाय बन्दलगायतका प्रक्रिया सरल र सहज बनाउन विशेष कार्यक्रम ल्याउनुपर्ने, कोरोनापछि संसारभर कोरोनाअघि र पछिका व्यावसायिक मोडल भन्न सुरु गरिएका र कोरोनापछि वर्क फ्रम होम, जुम मिटिङ-इन्टरनेट प्रयोग जस्ता कुरा प्रभावकारीरूपमा अगाडि आएकाले पुराना व्यवसाय र अवसरलाई नयाँ ढंगबाट आधुनिकीकरण गर्न नीतिगत सुधार गरिनुपर्ने, हाल ३० प्रतिशत नागरिकहरू रोजगारीदेखि विभिन्न कामका लागि विदेशमा बसोबास गर्दै आएकाले नेपालको हाम्रो उपभोगमा गिरावट आएका सन्दर्भमा आगामी दिनमा आन्तरिक उत्पादन बढाई सो उत्पादन उपभोगमा वृद्धि गर्ने खालका कार्यक्रम अघि बढाइनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

त्यसैगरी विगत लामो समयदेखि अपनाइँदै आएको हाम्रो कर प्रणालीले उत्पादन बढाउन नसकेको, रोजगारी बढाउन नसकेको र कर राजस्वसमेत बढ्न नसकेकाले विद्यमान प्रणालीलाई नयाँ मोडेलबाट पुनः सुरु गर्ने योजनाको विकास गरिनुपर्ने, कुनै पनि बन्द भएका उद्योगहरूले सञ्चालन गर्न चाहेमा राज्य वा सम्बन्धित निकायहरूले प्राथमिकतामा राखेर सञ्चालन गर्ने वातावरण बनाई त्यस्ता उद्योगलाई रुग्ण उद्योगको मान्यता दिई सेवा सुविधा उपलब्ध गराउनुपर्ने, निर्यातमूलक तथा बढी रोजगारी दिने उद्योगलाई तत्काल सुविधा उपलब्ध गराई सञ्चालनमा ल्याउनुपर्ने, निजी क्षेत्रले गरेका लगानी सुरक्षा सन्दर्भमा सरकारले विशेष पहलकदमी लिइरहेकोमा जनस्तरबाट समेत सुरक्षाको स्वतस्फूर्त पहल गर्ने वातावरण निर्माण गर्नुपर्ने, पहिले नै कर तिरी कर फछ्र्योट गर्दै आएका व्यवसायीलाई पछिल्लो कर नीतिले समस्या पारेकाले समाधान गर्न तत्काल पहल गर्नुपर्ने र छरिएर रहेका साना-साना पुँजी जुटाई देशमा उद्योग व्यवसाय स्थापना गरी पुँजी निर्माण, रोजगारी सिर्जना र देशको राजस्वमा ठूलो योगदान दिने महत्वपूर्ण माध्यम सेयर बजार बनेको विद्यमान अवस्थामा पुँजी बजारलाई सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट लगानी निरुत्साहित तथा त्यसमाथि प्रहार गर्ने काम भइरहेकाले त्यस्ता गतिविधि निरुसाहित गर्दै पुँजी बजारको दिगो विकास र विस्तारका लागि नीतिगतरूपमै सम्बोधन गरिनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

महासंघका अनुसार महाधिवेशनमा देशभरबाट नौ सयजना उद्योगी व्यवसायी प्रतिनिधिका रूपमा सहभागी भएका थिए । महाधिवेशन उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो । सो अवसरमा देशभरका व्यवसायीद्वारा उत्पादित वस्तुसमेत प्रदर्शनी गरिएको थियो ।

कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदरप्रसाद भण्डारी, महासंघ इन्चार्ज रचना खड्का, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकाललगायतको उपस्थिति रहेको थियो ।

साथै महाधिवेशनले भागिरथ सापकोटाको अध्यक्षतमा नौ सदस्यीय पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । उपाध्यक्षमा खुलातर्फ सुवर्ण श्रेष्ठ, महिलातर्फ शोभा गुरुङ, महासचिवमा बालकृष्ण शिवाकोटी, उपमहासचिवमा डिमप्रकाश पौडेल, सचिवहरूमा अर्थमा गोपाल खनाल, प्रचारमा रामराजा श्रेष्ठ, संगठनमा डोलनाथ खनाल र विदेश विभागतर्फ सरोज यादव रहेका छन् । तीन आयोगहरूमा लेखातर्फ राजकुमार तिमल्सिना, अनुशासनमा बालाराम भट्टराई र निर्वाचनतर्फ टंक राउतका साथै केन्द्रीय सल्लाहकार परिषद् संयोजकमा डा. तिलचन्द्र भट्टराई चयन भएका महासंघका सचिव श्रेष्ठले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?