
डा.चण्डिकाप्रसाद भट्ट
गत मंगलबारको अंकबाट क्रमशः
दाँतहरू :
(अनि एक्कासी दाँतहरू पुराना घाउ कोट्याउँदै एकै स्वरमा मुर्मुराउन थाल्नु भयो) ।
कहिले हामीले चपाउँनै नसक्ने कडा हड्डी जस्ता वस्तु पठाउने, कहिले तातो न तातो त कहिले बरफभन्दा पनि चिसो कुराहरू पठाउँदा हामीमध्ये एक-दुई भाइको त अवशान नै भइसक्यो । जेठो दाजु एउटा आफैं अशक्त भएर सिधा उभिन नसकी यता उता दायाँ बायाँ हल्लिरहनुभएको छ । थाहा छैन कुन दिन उहाँको पनि अवसान हुने हो । माहिलो दाजुुलाई धेरै वर्ष पहिले तपाईंहरूलाई राम्रो सेवा गर्न नसकेको भनी जबरजस्ती सुई घोचीघोची मिल्काएर फालिदिनुभयो । हाम्रो पीडा कसैले ख्याल गरेको वा गर्नुभएको छ ?
हामीले चपाएर मसिनो पारेर तपाईंहरूलाई सहज हुनेगरी तयार पारिदिएका छौँ । न हामीले तिनको स्वाद कस्तो छ कहिल्यै अनुभव गर्न पाएका छौँ । अब उप्रान्त हामीले फोर्न सक्ने क्षमता बाहिरका कुनै वस्तु नपठाइयोस् । यसरी हाम्रो ख्याल नगर्ने हो भने पाचनमा उत्पन्न हुने परिणामप्रति हाम्रो कुनै जिम्मेवारी हुने छैन । हामीले बेलैमा भनेका मात्र होइन सचेतसमेत गराएका छौं ।
अन्ननली :
म विचरो (अन्ननली)ले त मुखबाट पठाएको गाँस सुरुमै सामना गर्नुपर्ने हुन्छ । कहिले त गाँस साना हुन्छन् । त्यति समस्या पर्दैन तर कहिले हतार हतार मुखले लुट्नुपर्ने अवस्था आयो भने म बिचराको बिजोक हुन्छ । मुखले ठूलोमात्रा या परिणाममा आपूर्ति गरिरहेको हुन्छ तर म अगाडि पठाउन सक्दिन या भ्याउँदिन किनकि मेरो आयतन नै सानो छ । त्यस बेला अट्टाहास भइदिन्छ । मुखले समय लिएर मेरो क्षमता र औकात हेरी आपूर्ति गरिदिए मलाई सजिलो पर्ने थियो ।
नेपालमा बिग्रिएको जति सबै तिनै साना र तल्ला तहकाले भनी आरोप लागे या लगाए जस्तै छ हाम्रो हालत । हाम्रा यी र यस्तै ब्यथा कसले सुनिदिने कसले बुझिदिने किनकि सुन्ने भनेको कानले हो जसको आफ्नै कथाव्यथा चस्माको विषय आउँदा कानले जबाफ फर्काए जस्तै सुनिसकियो ।
त्यतिमात्र होइन कहिलेकाहँ मसँगै जोडिएको स्वासनलीले सास लिन अफ्टेरो भयो भनी मलाई नै चित्कार्न र हपार्न थाल्दछन् । मभन्दा ठीकपछि मभन्दा कैयौं गुणा ठूलो भुँडी खाने कुरा कहिले पठाउने हो भनी प्रतीक्षामा बसेको छ । यसरी म स्वासनली, भुँडी र मुखको त्रिवेणीबीच नेपाल देश जस्तै पिल्सिएर बस्नुपरेको छ । त्योमात्र होइन यी नजिकैका तीन थरिको तीनतिरको टोकसो खप्नुपरेको छ । त्यसबाहेक खाएका वस्तुहरू भिजाउन सहयोगी ग्रन्थिले पनि कहिलेकाहिँ राम्रो काम नगरिदिँदा मलाई मेरो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नसकेको भनी आरोप लाग्ने गर्दछ । मेरा यी र यस्तै व्यथा कसले सुनिदिने कसले बुझिदिने किनकि सुन्ने भनेको कानले हो जसको कथा व्यथामाथि नै सुनिसकियो ।
पेट/भुँडी :
अरूको भन्दा मेरो आयतन ठूलो भएकाले मलाई धेरै कुरा ठूलै परिणाममा चाहिन्छ तर के गर्नु मभन्दा ठीक अगाडि रहेको जुम्सो, लोभी र दुष्ट अन्ननलीले अड्कली अड्कली पठाउने गर्दछ । कहिलेकाहिँ त धेरै कुर्नुपर्दा रिस उठेर आउँछ तर के गर्नु अरूसँग आश्रित हुनुपरेपछि र अरूको सहारामा बाँच्नु परेपछि चुपचाप रहनैपर्यो । तैपनि कहिलेकाहिँ त रिस उठेको बेला राजनीतिका खेलाडी जस्तै गड्याङगुडुङ ङ्वार्रङुर गरेर भने पनि तर्साउने, आफ्नो भूमिका खोज्ने या स्थापित गर्ने गर्दछु ।
साना तथा ठूला आन्द्रा :
बिचरा हामी सानो आन्द्राले त पेट-भुँडीले असली र उपयोगी वस्तु हजम गरिसकेपछि आफूलाई आवश्यक नपर्ने या काम नलाग्ने जतिमात्रै पठाउने गर्दछ । त्यो पनि उसको अनुकूलता अनुसार पठाएको जस्ताको तस्तै ग्रहण गर्नुपर्ने हुन्छ । हामीभन्दा ठीकपछि ठूला आन्द्रा हामीले कहिले पठाउने हो भनी ब्यग्र प्रतीक्षा गरिबसेका हुन्छन् । कहिलेकाहिँ अलि ढिला भयो या प्राबिधिक समस्या आइप¥यो भने उल्टै हामीउपर ङ्वार्रङुर्र र गड्याङ गुडुंग गर्न थाल्दछन् ।
यसरी हामीसङ पेट-भुँडी र ठूला आन्द्राको बीच नेपाल जस्तै दुई ढुंगाबीचको तरुल जस्तै पिल्सिएर बस्नुपरेको र टोकसो खप्नुपरेका कैयौँ बेलाहरू छन् । कहिले काहिँ ठूला आन्द्राले कति थोरै पठाएको भनी खप्की खानुपर्दछ किनकि उनीहरूको भारबहन क्षमता हाम्रोभन्दा धेरै गुणा बढी छ । त्यसबाहेक खाएका वस्तुहरू भिजाउन सहयोगी ग्रन्थिले कहिले काहिँ राम्रो काम नगरिदिँदा हामीलाई हाम्रो जिम्मेवारी कुशलतापूर्वक पूरा निर्वाह गर्न नसकेको भनी आरोप लाग्ने गर्दछ ।
नेपालमा बिग्रिएको जति सबै तिनै साना र तल्ला तहकाले भनी आरोप लागे या लगाए जस्तै छ हाम्रो हालत । हाम्रा यी र यस्तै व्यथा कसले सुनिदिने कसले बुझिदिने किनकि सुन्ने भनेको कानले हो जसको आफ्नै कथाब्यथा चस्माको विषय आउँदा कानले जबाफ फर्काए जस्तै माथि नै सुनिसकियो । आँखालाई देखेनन् भनी भनौँ या गुनासो गरौँ भने उनीहरूले मौका र लाभहानीका अवसर अनुसार प्रतिक्रिया जनाउँछन् या त हामी बाहिर थियौँ भित्र के भयो कसरी देख्ने भनी सजिलो र स्वाभाविक उत्तर दिन्छन् ।
सरसर्ती हेर्दा उत्तर स्वाभाविक हुन् र अन्यथा होइनन् । किनकि यहाँ समग्र प्रणालीले काम नगरेको आरोप लाग्ने गरेको जस्तो देखिन्छ सुनिन्छ तर समस्या प्रणालीमा भन्दा आजकाल आउँदा त प्रवित्ति हो जस्तो लाग्न लागेको छ किनकि प्रवृत्ति सफेद र इमानदार हुने हो भने प्रणालीभित्रका समस्या समाधान गर्न सकिन्छ भन्ने लाग्दछ ।
मलद्वार
(अब एकक्षण विचरो मलद्वार जसले अरू सबै अंगले चुस्नु र उपभोग गर्नुसम्म गरिसकेपछि कहिँ, कतै विसर्जन गर्न वा अवतरण गर्ने जिम्मेवारी पाउनुभएको छ उहाँको आफ्नो भूमिकाप्रतिको अनुभव या अन्तरवेदना उहाँकै शैलीमा नियाल्ने प्रयत्न गरौँ)
म विचरो मलद्वार जसले सबैले चुस्नु र उपभोग गर्नुसम्म गरिसकेपछि कहिँ, कतै केही विसर्जन गर्न वा अवतरण गर्नुपरे मलाई त्यस्ता जिम्मेवारी दिइएको हुन्छ । या यो मैले प्रारब्धदेखि नै पाएको रहेछु । तसर्थ प्रायः चुपचाप आफ्नो जिम्मेवारी पूरा गरिरहेको हुन्छु तर कहिलेकाहिँ मभन्दा माथिकाले साविक नियम या प्रणालीको उल्लंघन गरिदिँदाको पडा भनौँ या आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगरिदिँदाको मार विशेषगरी म मलद्वारले खेप्नुपर्ने हुन्छ । केही अत्यन्तै मननीय उदाहरण यहाँ पस्कन सान्दर्भिक र आवश्यक ठान्दछु ।
कहिले काहिँ मलाई भत्भती पोल्दछ किनकि अघिल्लो साँझ मभन्दा माथिकाले सामान्यभन्दा अलि भिन्नै परिकार र मात्रा उपभोग गर्नुहुँदो रहेछ । कहिले बाहिर निकाल्नै नसक्ने गरीको अभेद्य चट्टान जस्तै कडा वस्तु आइपुग्दो रहेछ–(अमेजोन) कम्पनीको कहिलेकाहिँको आपूर्ति व्यवस्थापनको गडबडी जस्तै भनौँ या त्रिभुवन विमानस्थलमा गुप्तांगमा लुकाइल्याएको सुन भेटिएको समाचार सम्प्रेषण भएजस्तै ।
आफ्नो काबुभित्र रहुन्जेल चुपचाप आफ्नो जिम्मेवारी पूरा गर्दछ तर आफ्नो काबुबाहिरको कुरा भयो या अत्यन्तै असमन्जस्य या नसोचेको परिस्थिति भए या जो आफ्नो काबुभन्दा बाहिर गयो भने मेघ झैँ भुरुरु गढ्यांगगुढुङ गरी सबैको सातो लिने गरी प्रस्तुत भइदिन्छु ताकि भविष्यमा फेरि त्यस्ता गतिविधि नदोहोरिऊन् । बिचरा म मलद्वार के गरौँ कहिले त गन्तव्य (पाइखान) सम्म पुग्न नसक्दै या नपाउँदै बीचैमा दुर्घटनामा परिन्छ । यो मेरो रहर नभई बाध्यता भइदिन्छ ।
म भित्रको म
मैले कानलगायत सबैको मुखमार्फत भनिएका आ-आफ्ना प्रसस्ति या गुनासा कानको सहाराले ध्यानपूर्वक सुनिरहेको र आँखाको सहाराले हेरिरहेको छु । अब मेरो कुरा सुन्नुहोस् । तपाईंहरू सबैका सवालहरूलाई म सकेसम्म सम्बोधन गर्ने प्रयास गर्दछु । त्यसभन्दा अगाडि म केही हाम्रा न्यूनतम र सैद्धान्तिक सवालहरूमा सबैको ध्यानाकर्षण गर्न चाहन्छु ।
हामी एउटै प्रणालीका हौँ र परस्परका अभिन्न अंग भएर एकअर्काको बेदना बुझौँ र एक अर्काको भूमिकाको सम्मान गरौँ । एक अर्काको योगदान र दिएको जिम्मेवारीको आफूलाई तत्तत् ठाउँमा राखी हेरेर केही सिकौँ र योगदानको सम्मान गरौँ ।
सबैभन्दा पहिले हामीले अरूबाट धेरै सुन्ने र थोरै तर नमिल्दा सवालहरूमा मात्र बोल्ने गरौँ । त्यो पनि वक्ताको विचारलाई सम्मान गर्दै आफ्नो भिन्न मत तथ्यको आधारमा सभ्य र संयम ढंगबाट प्रस्तुत गरौँ । तपाईंहरू कसैले अन्यथा नलिनुस् कि हरेकले आफूले मात्र बढिगरेको या आफ्नोमात्र बढी योगदान रहेको चर्चा गर्नुभयो । ठीक हो । आफ्नो योगदानलाई सबैको दृष्टिमा ल्याउने गर्नुपर्दछ तर साथमा अरूको भूमिकालाई त्यसैगरी प्रसस्ति गाउँदै आफ्नो र अरूको पनि नपुग भूमिका सुधार या विकास गर्न सुझाव दिऊँ ।
दाँतको कुरा सुनेर स्वीकारोक्ति । दाँत मित्र तपाईंलाई त्यही जिम्मेवारी दिएको हो । यद्यपि तपाईंलाई बलियो बनाउन आवश्यक छ भनी क्यालसियम फोसफोरस जस्ता विशेष खानेकुरा या पदार्थ पठाइएको नबिर्सनुस् न । हाम्रो यही र यस्तै राम्रा कुरा बिर्सिने र नपुगेका कुरामात्र बढी उछाल्ने बानीले पनि कति समस्या बल्झिरहेका छन् । त्यसैगरी मलद्वारको प्रसंगमा भन्दा समग्रमा धेर थोर अरू सबैले खेप्नुपर्ने हुन्छ तर मलद्वार अत्यन्तै विनयशील भएर समग्रमा आफ्नो जिम्मेवारी सहज ढंगमा पूरा गर्दछ । यद्यपि कहिले काहिँ उनले अलि बढी बेदना भोग्नुपरेको आफूभन्दा अग्रजको कारण नै प्रमुख रहेको देखिन्छ ।
शायद मैले सबैका जिज्ञासालाई सम्बोधन गरेँ हुँलाजस्तो लागेको छ । अन्त्यमा, हामी एउटै प्रणालीका हौँ र परस्परका अभिन्न अंग भएर एकअर्काको बेदना बुझौँ र एक अर्काको भूमिकाको सम्मान गरौँ । एकअर्काको योगदान र दिएको जिम्मेवारीको आफूलाई तत्तत् ठाउँमा राखी हेरेर केही सिकौँ र योगदानको सम्मान गरौँ, न कि ठूलो सानो या उच्चनिच दर्जाको नजरबाट । यदि मेरो यो प्रस्ताव सबैलाई ठीक लाग्दछ भने सम्मति जनाउनुहोस् ।
भिन्न दृष्टिकोण या सुझाव भए त्यो पनि राख्नुहोस् ताकि हामी सबैले सबै समस्यालाई तत्काल, मध्य र दीर्घकालीन रूपमा सम्बोधन गर्दै जान सकौँ । हामी (लोकतान्त्रिक) प्रणालीका भन्ने तर व्यवहार तथा जीवनशैली लोकतान्त्रिक नहुने या गर्नेतर्फ उद्दत नहुने कारण पनि हामी सभ्य र शान्त जीवनशैली निर्माणका बाधक बन्दै गई कालान्तरमा हाम्रै लागि प्रत्युत्पादक बन्न सक्दछन् । यो तीतो यथार्थ हो । क्रमशः
(गोरखाको दुल्लभ मा.वि., रेडन कलेजका पूर्वप्राचार्य, नेल्टाका पूर्वअध्यक्ष तथा नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय वरिष्ठ उपाध्यक्ष डा.भट्ट कोवेन्ट्री विश्वविद्यालय ग्रुप, बेलायतमा प्राध्यापन गर्नुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच