
अर्घाखाँची– लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सीनाले कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नहुने बताउनुभएको छ। उहाँले प्रदेशभरका विद्यालयहरूको पहुँच र शैक्षिक गुणस्तर सुधार गर्दै सबै बालबालिकालाई शिक्षाको मूल प्रवाहमा ल्याउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ।
सन्धिखर्कमा नेपाली कांग्रेस अर्घाखाँचीले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सीनाले ७ देखि १४ वर्ष उमेर समूहका बालबालिकाको विद्यालय पहुँच अझै कमजोर रहेको जानकारी गराउँदै यसको समाधानका लागि विशेष योजनाहरू अघि बढाइएको बताउनुभयो। “शिक्षा सबैको मौलिक हक हो, यसलाई सुनिश्चित गर्न हामी गम्भीर छौँ,” उहाँले भन्नुभयो।
मन्त्री तिमिल्सीनाले लुम्बिनी प्रदेशभरका ४ हजार ५ सय ३१ सामुदायिक विद्यालयमध्ये २ हजार २५ विद्यालयमा विद्यार्थी संख्या एक सयभन्दा कम रहेको उल्लेख गर्दै विशेष गरी पहाडी भेगमा यो समस्या गम्भीर बनेको बताउनुभयो। यसलाई सुधार गर्न सरकारले शिक्षामा बजेट वृद्धि गर्दै स्थानीय तहसँग सहकार्य गरेर विद्यालय सुधार कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउनुभयो।
कार्यक्रममा नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठले जिल्लाका विद्यालयहरूको स्तरोन्नति तथा आधारभूत सुविधाको विस्तारका लागि सरकारलाई आवश्यक पहल गर्न आग्रह गर्नुभयो। उहाँले विद्यालयमा गुणस्तरीय शिक्षाको व्यवस्था गर्न नीतिगत सुधार आवश्यक रहेको औंल्याउनुभयो।
सभापति श्रेष्ठको अध्यक्षतामा तथा सचिव कृष्णप्रसाद खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ९मुस्कान०, कांग्रेस अर्घाखाँचीका पूर्वसभापति कमलप्रसाद भुसाल, लुम्बिनी प्रदेशसभा सदस्य शान्ता भण्डारी, जिल्ला उपसभापति विष्णु भुसाल, बाबुराम पौडेल, सचिव अच्युत गौतम, सहसचिव कमल पौडेल, महासमिति सदस्य निर्मला क्षेत्रीलगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच