एसियाली खेलकुद : नेपालले क्वाटरफाइनलमा भारतसँग खेल्दै

हिमालय टाइम्स
Read Time = 14 mins

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुद (एसियाड)मा क्रिकेटतर्फ नेपालले क्वाटरफाइनलमा भारतसँग खेल्ने भएको हो । यसअघि दुवै खेल जित्दै नेपालले क्वाटरफाइनलमा स्थान बनाएको थियो । टेस्ट राष्ट्र भएका कारण भारतले भने सोझै क्वाटरफाइनलमा स्थान बनाएको हो । क्वाटरफाइनल समीकरणमा लक्की ड्रबाट नेपालले प्रतिद्वन्द्वी भारत पाएको हो । यसअघि नेपालले समूह चरणमा माल्दिभ्सलाई १३८ र मंगोलियालाई २७३ रनले हराएको थियो । नेपाल र भारतबीचको खेल मंगलबार हुनेछ ।

अफगानिस्तान, नेपाल, हङकङ र मलेसिया समूह चरणबाट क्वाटरफाइनलमा पुगेका थिए । क्वाटरफाइनलमा भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानले सोझै स्थान पाएका थिए । पाकिस्तानले क्वाटरफाइनलमा हङकङसँगै मंगलबार खेल्नेछ । बुधबार श्रीलंकाले अफगानिस्तानसँग क्वाटरफाइनल खेल्नेछ । त्यस्तै, बुधबार मलेसियाले क्वाटरफाइनलमा बंगलादेशसँग खेल्नेछ ।

नेपाल र भारतबीचको खेल मंगलबार बिहान ६ः४५ मा हुनेछ । नेपालले पहिलो खेलमा मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो । जुन टी-२० आई इतिहासमा तीन सय रन कटाउने नेपाल पहिलो टोली थियो । उक्त खेलमा कुशल मल्लले ३४ बलमा शतक हान्नुभएको थियो । टी-२० इतिहासकै सर्वाधिक छिटो शतक थियो । उहाँले डेविड मिलर र रोहित शर्माको ३५ बलको कीर्तिमान तोड्नुभभएको थियो ।

दीपेन्द्रसिंह ऐरीले नौ बलमै अर्धशतक हान्दै कुनै पनि खेलको सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान कायम गर्नुभएको थियो । माल्दिभ्सविरुद्ध नेपालले २१२ रन बनाएको थियो । अभिनाश बोहराले ६ विकेट लिनुभएको थियो । उहाँ टी-२० आईमा ६ विकेट लिने पहिलो खेलाडी बन्नुभयो ।

भारतले दोस्रो रोजाइको टोली एसियाडमा पठाएको छ । भारतीय टोलीमा इण्डियन प्रिमियर लिग (आइपिएल) मा सानदार प्रदर्शन गर्दै आएका खेलाडीहरू छन् । डेथ ओभर स्पेलिष्ट अर्शदीप सिंह, रिंकु सिंह, युवा ओपनर यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक बर्मा, जितेश शर्मा र शिवम दुबे जस्ता खेलाडीसँग नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

भारतीय टोलीमा परिसक्नुभएका पञ्जाबका विकेटकिपर जितेश शर्मा, आइपिएलका शतकधारी प्रशभ सिम्रन सिंह, अलराउण्डर वान्सिन्टन सुन्दर, शाहबाज अहमद, तीव्रगतिका बलर आवेश खान र मुकेश कुमार पनि भारतीय टोलीमा हुनुहुन्छ ।

भारतको कप्तानी ऋतुराज गायकवाडले गर्नुहुनेछ । चेन्नई सुपर किंग्सबाट ओपनिङ गर्दै धोनीको कप्तानीमा गायकवाडले दमदार प्रदर्शन गर्दै आउनुभएको छ ।

कबड्डी
हाङझाव एसियाडको महिला कबड्डीमा नेपालले सोमबार विजयी सुरुवात गरेको छ । चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको समूह ‘बी’ को पहिलो खेलमा नेपालले अर्को दक्षिण एसियाली राष्ट्र बंगलादेशलाई ३७-२४ ले पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । तीन राष्ट्र रहेको यो समूहमा नेपाल र बंगलादेशसहित इरान छ । इरानले बंगलादेशलाई हराए नेपाल सेमिफाइनलमा पुग्दै कम्तीमा कांस्य पदक सुनिश्चित गर्नेछ ।

महिला कबड्डीमा जम्मा सात राष्ट्र सहभागी छन् । समूह ‘ए’ मा भारत, थाइल्याण्ड, दक्षिण कोरिया र चाइनिज ताइपेई छन् । मेणुका राजवंशीको कप्तानीमा रहेको नेपाली टोलीले मंगलबार इरानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । एसियाली खेलकुदमा नेपालले महिला कबड्डीमा सहभागिता जनाएको यो नै पहिलो अवसर हो ।

भारोत्तोलन
भारोत्तोलनअन्तर्गत समूह ‘बी’ को महिला ६४ केजीमा नेपालकी शारदा चौधरीले स्न्याचमा ७० तथा क्लिन एण्ड जर्कमा ८८ केजी गरी जम्मा १५८ केजी भार वहन गर्नुभएको छ । आफ्नो समूहमा शारदा पाँचौँ स्थानमा रहनुभयो । स्न्याचमा शारदाले पहिलो लिफ्टमा ७० केजी र तेस्रो लिफ्टमा ७४ केजी उचाल्ने प्रयास गरे पनि सफल हुनुभएन । शारदाले क्लिन एण्ड जर्कमा उठाएको ८८ केजी पहिलो लिफ्टमा हो । शारदाले क्लिन एण्ड जर्ककै दोस्रो र तेस्रो लिफ्टमा समान ९४-९४ केजी भार वहन गर्ने प्रयास सफल भएन । यससँगै भारोत्तोलनमा नेपाली महिला खेलाडीको यात्रामा पूर्णविराम लागेको छ । यसअघि टीकामाया गुरुङले प्रतिस्पर्धा गर्नुभएको थियो । पुरुष खेलाडी विशालसिंह विष्ट, विकास भट्ट र सागर भण्डारीले चुनौती प्रस्तुत गर्न बाँकी छ ।

भलिबल
महिला भलिबलमा नेपाल दक्षिण कोरियासँग ३-० को सोझो सेटमा पराजित भएको छ । हाङझाव नर्मल युनिभर्सिटी कान्चिन जिम्न्याजिममा १ घण्टा १२ मिनेट चलेको खेलमा दक्षिण कोरियाले नेपाललाई २५-२१, २५-१४ र २५-११ ले हरायो । समूह ‘सी’ को पहिलो खेलमा नेपाल भियतनामसँग २५-४, २५-१६ र २५-१३ को सिधा सेटमा हारेको थियो । हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले क्लासिफिकेसन म्याच भने खेल्न बाँकी छ । एसियाडको महिला भलिबलमा नेपालले पहिलोपटक खेलेको हो ।

स्क्वास
एसियाडअन्तर्गत स्क्वासको मिक्स टिम इभेन्टमा नेपाल हङकङसँग २-० ले पराजित भएको छ । हङकङले नेपाललाई २-० को सोझो सेटमा हरायो । नेपालका लागि अमृत थापा मगर र स्वस्थानी श्रेष्ठले प्रतिस्पर्धा गर्नुभएको थियो । नेपालले पहिलो सेट ११-१ र दोस्रो ११-३ को प्रदर्शन गर्‍यो । पुरुष सिंगल्सको अन्तिम ३२ मा नेपालका अमृत कुवेतका अब्दुल अलमेयेनबाट ३-० को सिधा सेटमा पराजित हुनुभयो । अमृत ११-४, ११-२ र ११-५ ले चुक्नुभयो ।

पुरुष सिंगल्सकै अन्तिम ३२ को खेलमा नेपालका अरहान्तकेशर सिंह मलेसियाका मोहमद अदिनबाट ३-० ले पराजित हुनुभयो । अरहान्तले ११-५, ११-३ र ११-३ को प्रदर्शन गर्नुभयो । नेपालकी कृष्णा थापा महिला सिंगल्सको अन्तिम ३२ बाट बाहिरिनुभएको छ । अमृतकी सहोदर बहिनी कृष्णा दक्षिण कोरियाकी जियान लीविरुद्ध ११-३, ११-० र ११-३ ले पछि पार्नुभयो । महिला सिंगल्सको अन्तिम ३२ मा नेपालकी विपना ब्लोन थाइल्याण्डकी चुजित वारिट्साराबाट ११-७, ११-७ र ११-८ ले हार्नुभयो ।

एथ्लेटिक्स
नेपालकी फूलमती रानाले हानझाओमा जारी १९औँ एसियाली खेलकुदको १५ सय मिटर दौडमा १५औँ स्थानमा टुंग्याउनुभएको छ । १७ जना सहभागी उक्त स्पर्धामा फूलमती १५औँ हुनुभएको हो । उहाँले निर्धारित दूरी ४ मिनेट ३७.६४ सेकेण्डमा पूरा गर्दै आफ्नो उत्कृष्ट प्रदर्शनको समयमा सुधार गरिनुभयो । यसअघि उहाँले सन् २०२३ मा थाइल्याण्डको बैंककमा सम्पन्न एसियन च्याम्पियनसिपमा चार मिनेट ४९.२२ सेकेण्डको समयमा दौड पूरा गर्नुभएको थियो । आइतबार पूmलमतीले लाओस र पाकिस्तानकी खेलाडीलाई पछि पार्नुभयो । यस विधामा बहराइनकी मुतिल विनफ्रेडले स्वर्ण, भारतकी हरमिलन बेइन्सले रजत र बहराइनकै हिरपातो मार्ताले कांस्य जित्नुभयो ।

ब्याडमिन्टन
ब्याडमिन्टनको मिक्स डबल्स र पुरुष डबल्समा नेपाल प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ । दुवै स्पर्धामा नेपाल २-० को सोझो सेटमा विजयी भयो ।

बिन्जियाङ जिम्न्याजियममा भएको मिक्स डबल्समा नेपालका विष्णु कटुवाल र नङशल तामाङको जोडीले मंगोलियाका जोल्जाया मुख्बटार र खेर्लेन दरखान्बटारको जोडीलाई २१-१६ र २१-१७ को सोझो सेटमा पराजित गर्नुभयो । अर्को मिक्स डबल्समा भने सिंगापुरका तेरी काइ यङ हि र हान वेइ जेशिका तानको जोडीले नेपालका जीवन आचार्य र निता लम्सालको जोडीमाथि २१-४ र २१-३ को सहज जित दर्ता गर्नुभयो ।

पुरुष डबल्समा नेपालका जीवन आचार्य र विष्णु कटुवालको जोडीले माल्दिभ्सका निबल अहमद र अज्फान मोहम्मद रसिदको जोडीलाई सिधा सेटमा २१-१७ र २१-१८ ले हराउनुभयो । सोही स्पर्धामा थाइल्याण्डका पिरात्चाई सुक्फुन र पाकापोन तिरारत्सकुलको जोडीले नेपालका प्रिन्स दाहाल र सुनिल जोशीको जोडीलाई २१-८ र २१-५ ले पन्छाउनुभयो ।

पुरुष सिंगल्समा जापानका केन्टा निसीमोटोले नेपालका प्रिन्स दाहाललाई २१-१२ र २१-७ तथा थाइल्याण्डका कान्ताफोन वाङचारियोनले नेपालका सुनिल जोशीलाई २१-७ र २१-९ को सोझो सेटमा पाखा लगाउनुभयो ।

ट्रायथलन
ट्रायथलनको मिक्स रिलेमा नेपाल ११औँ भएको छ । १२ राष्ट्रको सहभागिता रहेको स्पर्धामा नेपालले ११औँ स्थान हासिल गरेको हो । नेपालबाट मौलिक महर्जन, युस्का महर्जन, वसन्त थारु र श्रेबी महर्जनले प्रतिस्पर्धा गर्नुभएको थियो । मंगोलिया अन्तिममा रहृयो ।

आर्चरी
आर्चरीको पुरुष व्यक्तिगत कम्पाउण्डको इलिमिनेसन राउण्डमा नेपालका योगेन्द्र शेरचन इराकका मोहमम्द इब्राहिम इसक अल दाघमनसँग १४०-१३५ ले पराजित हुनुभयो । सोही स्पर्धाको महिलामा भारतकी गोपीचन्द स्वामी अदितिले नेपालकी इमायुङ राईलाई १४९-१३७ ले हराउनुभयो ।

पुरुष व्यक्तिगत रिकर्भको इलिमिनेसनमा नेपालका तिलक पुनले मिश्रित प्रदर्शन गर्नुभयो । तिलक राउण्ड अफ १६ मा दक्षिण कोरियाका जिन्येक ओहसँग ६-० ले पछि पर्नुभयो । त्यसअघि राउण्ड अफ ३२ मा तिलकले म्यानमारका जाउ तेतलाई ७-१ ले हराउनुभएको थियो । उक्त स्पर्धाको महिलामा बंगलादेशकी दिया सिद्धिकीले नेपालकी मञ्जु बजगाईंलाई ६-० ले पाखा लगाउनुभयो ।

स्क्वास
एसियाडअन्तर्गत स्क्वासको महिला सिंगल्समा नेपालकी विपना ब्लोन जापानसँग ३-० ले पराजित हुनुभएको छ । जापानकी अकारी मिडोरिकावाले विपनालाई ११-३, ११-१ र ११-५ ले हराउनुभयो । अघिल्लो दिन आइतबार पहिलो चरणमा विपनाले थाइल्याण्डकी चुजित वारिट्साराबाट ११-७, ११-७ र ११-८ ले पराजित गर्दै प्रि-क्वाटरफाइनलमा स्थान सुरक्षित गर्नुभएको थियो ।

मिक्स डबल्सको समूह ‘सी’ का दुवै खेलमा नेपाल पराजित भएको छ । हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर कोर्टमा नेपालका अमिर ब्लोन र स्वस्थानी श्रेष्ठको जोडी मलेसिया र थाइल्याण्डसंग क्रमशः २-० र २-१ को सेटमा पराजित हुनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?