
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले सय दिनपछि कार्यालयमा हाजिर गर्नुभएको छ । महानगर प्रहरीको अवरोधबीच १०३ दिनपछि बिहीबार कार्यालय पुगेर उहाँले हाजिर गर्नुभएको हो । उहाँ हाजिर हुन कार्यालय जाँदा केहीबेर तनाव उत्पन्न भएको थियो । महानगर प्रमुख बालेन्द्र साह (बालेन)को निर्देशनमा नगर प्रहरीको टोलीले उहाँलाई कार्यालय प्रवेश गर्न रोक लगाएको थियो । नगर प्रहरीले गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि महानगर उपप्रमख सुनिता डंगोलसहित केही जनप्रतिनिधि र कर्मचारीहरूले उहाँलाई कार्यालय प्रवेश गराएका थिए । उनीहरूले ढोका फोडेर गुरागाईंलाई कार्यालय प्रवेश गराएका हुन् ।
गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास भएपछि उपप्रमुख डंगोल, विभिन्न वडाका वडाध्यक्षका साथै कर्मचारीहरूले कार्यकक्षमा पुर्याएका थिए । गुरागाईँलाई कार्यकक्षमा प्रवेश गर्नबाट रोकिएपछि बोर्ड बैठक हलमा उपप्रमुख डंगोलको अध्यक्षतामा वडाध्यक्ष, कार्यपालिका सदस्य र उच्च अधिकृतहरूको बैठक बसेको थियो । वडाध्यक्षहरूले समेत मेयर साहले समस्या समाधानमा भन्दा पनि ‘स्टण्ट’मा बढी ध्यान दिँदा समस्या भएको बताएका थिए । बैठकले नियमित कार्य सञ्चालन गर्ने निर्णय गरेपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न जानुभएको थियो । साहले लामो समयदेखि व्यक्तिगत ‘इगो’का कारण प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएर नियमित तलबसमेत रोक्का गरिदिएको भन्दै कर्मचारीहरू पनि असन्तुष्ट बनेका थिए । गुरागाईँ कार्यालय पुग्दा कर्मचारीहरूको ठूलो समूहले बालेनविरुद्ध नाराबाजी गरेका थिए । हाजिर गरेपछि सबैलाई धन्यवाद दिँदै गुरागाईँ फर्किनुभएको थियो । महानगरमा तनाव भइरहँदा मेयर साह भने अनुपस्थित हुनुहुन्थ्यो ।
गत ७ पुसदेखि गुरागाईंलाई बिदामा राखिएको थियो । काठमाडौंको भ्युटावर निर्माणका विषयमा गुरागाईँलाई महानगरले निलम्बन गरेको थियो । मेयर साहले पुरानो बसपार्कस्थित काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि कारबाही गर्न छानविन समिति बनाउनुभएको थियो । साहले कार्यालय प्रवेशमै रोक लगाएपछि गुरागाईँले गत पुस ८ गतेदेखि हाजिर गर्न पाउनुभएको थिएन । काठमाडौं टावरको नक्सा पास गर्दा अनियमितता गरेको आरोप लगाउँदै गुरागाईंलाई बालेनले पुस ५ गते प्रमुख प्रशासकीय अधिकृतबाट हटाउनुभएको थियो । गुरागाईंलाई हटाएर नयाँ कार्यकारी अधिकृत पठाउन बालेनले गरेको आग्रह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अस्वीकार गरेको थियो । त्यसपछि बालेन र संघीय सरकारबीच विवाद चर्केको थियो ।
त्यसपछि नियुक्त हुनुभएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन थियो । प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीले तलबसमेत खान पाएका थिएनन् । यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिन भन्दै एक महिनाअघि नै पत्र पठाएको थियो । तर, मेयर साहले भने अर्को प्रशासकीय अधिकृत पठाइदिन ताकेता गर्नुभएको थियो । २०७९ वैशाखमा निर्वाचित भएदेखि नै स्वतन्त्र मेयर बालेन र राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिबीच टसल देखिएको थियो । प्रमुख प्रशासकीय अधिकृत हटाउने निर्णयले यो टसल उत्कर्षमा पुगेको थियो । उहाँले सामाजिक सञ्जालमार्फत सरकारको नेतृत्व र संघीय सरकारविरुद्ध आक्रोश पोख्दै आउनुभएको छ ।
सय दिनदेखि रोकिएका आर्थिक गतिविधिलाई निरन्तरता दिइने
प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ कार्यालय पुगेर हाजिर गरेसँगै कर्मचारीका समस्या समाधान हुने अपेक्षा गरिएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले पुस ८ गतदेखि प्रमुख प्रशासकीयविहीन भएको अवस्था बिहीबार आएर अन्त्य भएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले हाजिर गरेसँगै आगामी दिनमा सहज रूपमा सेवा प्रदान हुने र कर्मचारीका समस्यासमेत समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उपमेयर डंगोलको नेतृत्वमा बसेको काठमाडौं महानगरको आकस्मिक बैठकले सय दिनदेखि रोकिएका आर्थिक गतिविधिलाई निरन्तरता दिने निर्णय गरेको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गराएपछि उपमेयर डंगोलले वडाध्यक्षहरूसहित आकस्मिक बैठक राख्नुभएको थियो । बैठकले गुरागाईंको अनुपस्थितिमा सय दिनदेखि रोकिएका महानगरका सम्पूर्ण आर्थिक कार्यलाई शुक्रबारबाट निरन्तरता दिने निर्णय बैठकले गरेको प्रवक्ता मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार मेयर बालेनले गुरागाईंलाई हाजिर गर्न नदिँदा कर्मचारीहरूको तलब रोकिनुका साथै ठेकेदारलाई तिर्नुपर्ने रकम भुक्तानी हुन सकेको छैन । यी सबै काम शुक्रबारबाटै सुरु हुने प्रवक्ता मानन्धरले बताउनुभयो । ‘प्रमुख प्रशासकीय अधिकृत आजबाट हाजिर हुनुभयो । अब शुक्रबारबाटै कर्मचारीहरूलाई तलब खुवाउन चेक काटिनेछ,’ उहाँले भन्नुभयो, ‘ठेकेदारहरूलाई पनि पैसा भुक्तानी हुन सकेको छैन । यसले विकासका काम रोकिएका छन् । शुक्रबारबाट ठेकेदारहरूको भुक्तानी पनि सुरु हुन्छ ।’ गुरागाईंमाथिको अनियमितताको उक्त आरोप पुष्टि भने भएको छैन । त्यससम्बन्धी छानविन समितिले पनि नक्सा पासमा गुरागाईंबाट भ्रष्टाचार भएको सावित गरेको छैन ।
कोठामा बसेर निर्देशन होइन, समाधानमा लाग्नुस् : डंगोल
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कोठामा बसेर निर्देशन नदिनका लागि मेयर बालेन साहलाई चेतावनी दिनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालयमा हाजिर गराएपछि बसेको बैठकमा बोल्दै उहाँले कोठामा बसेर निर्देशन दिने नभई फिल्डमा आएर समस्या समाधान गर्न आग्रह गर्नुभएको हो । गुरागाईंले हाजिर गरेलगत्तै उपमेयर सुनिता डंगोल सहितको बैठक बसेको थियो । बैठकमा उपमेयर डंगोलले हरेक घटनाक्रमबारे आफूहरू जानकार रहेको भन्दै कोठामा बसेर निर्देशन नदिन आग्रह गर्नुभयो । संस्थाभित्र मनमुटाव हुन नहुने भन्दै उहाँले प्रमुख प्रशासकीय अधिकृत दोषी प्रमाणित भए कारबाही गर्न तयार रहेको बताउनुभयो । ‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनुभएको छ । उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो कुरा होइन । कर्मचारी–कर्मचारीबीच लडाइँ हुनु पनि राम्रो होइन,’ उहाँले भन्नुभयो, ‘यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन । समस्या समाधान गर्नुपर्छ ।’ अनौपचारिक बैठकमा नगर प्रहरी प्रमुख राजु पाण्डेलाई उपप्रमुख डंगोलले तपाईँले लिखित आदेशमा ताला लगाएको कि मौखिक आदेशमा ? भनेर प्रश्न गर्नुभएको थियो । पाण्डेले मौखिक आदेशमा ताला लगाएको भनी जवाफ दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच