
हेटौंडा। मकवानपुर चट्याङको उच्च जोखिममा रहेको देखिएको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिले पनि मकवानपुर चट्याङको उच्च जोखिममा रहेको बताएको छ । ठूला जलविद्युत् आयोजना स्थलपरिसरमा शक्तिशाली अर्थिङ गरिएको, हेटौंडा औद्योगिक क्षेत्रलाई चट्याङको जोखिमबाट विद्युतीय तरिकाले सुरक्षित गरिएको भए पनि चुम्बकीय शक्तियुक्त खनिज पदार्थहरुको प्रशस्त सञ्चिती रहेकाले उक्त क्षेत्रमा चट्याङको सम्भावना बढेको औंल्याइएको छ ।
विषेशतः पूर्वी फापरबारी गाविस क्षेत्र विगतमा भएका प्राकृतिक प्रकोपको आधारमा उच्च जोखिममा राखिएको छ । पटकपटक घटनाहरु दोहोरिनुमा विशेष कारण हुनसक्ने भन्दै समितिले पहिचानको क्रम जारी रहेको बताएको छ । यसअघि नेपाल विद्युत् प्राधिकरण हेटौंडा शाखाको सहयोगमा फापरबारीमा अर्थिङ गरिने बताइए पनि हालसम्म काम भएको छैन ।
अर्थिङका लागि आवश्यक तामा विद्युत् प्राधिकरणले व्यवस्था गर्ने भनेको थियो । कोइला तथा अर्थिङको लागि आवश्यक खाल्डो खन्न स्थानीयसंग सहयोग माग गरिएको भए पनि स्थानीय र प्राधिकरणबीच समन्वय अभावमा सुरक्षार्थ अर्थिङ कार्य भएको छैन । कोइलाको परिमाण धेरै चाहिने भएकाले स्थानीयले त्यसको व्यवस्थापन गर्न नसक्ने बताएकै कारण अर्थिङ जडान हुन नसकेको बताइएको छ । गैससहरुको सहयोग प्राप्त भएमा गाविसबासी सुरक्षित हुने प्रशासनले बताएको छ । समितिका अनुसार फापरबारी गाविसमा मात्र अनुमानित ५० घर तथा तीनसय जना चट्याङको जोखिममा छन् ।
चुम्बकीय शक्तियुक्त प्रशस्त खनिज पदार्थ तथा खानीहरुका कारण परेको चट्याङले मकवानपुरमा दुईसय ५० बढीको ज्यान लिइसकेको छ । विगत चार दशकयताको चट्याङका घटना र त्यसबाट भएका क्षतिको विवरण सार्वजनिक गरिएको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार ५० वटा घटनामा परी उनीहरुको ज्यान गएको हो ।
घटनामा १० जना घाइते भएका थिए । चट्याङबाट करिब दुई सय घर प्रभावित छन् । २७ घर चट्याङले पूर्णरुपमा क्षति गराउनुका साथै एकसय १५ चौपाया मरेका छन् । चौपायाको मात्र करिब आठ लाख बराबर क्षति भएको योजना प्रतिवेदनमा उल्लेख छ । मकवानपुर चुरे पहाड र महाभारत पहाडको काखमा रहेको, कुलेखानी जलविद्युत् आयोजना, शक्तिशाली अर्थिङ गरिएका उद्योगहरुसमेत रहेकाले मकवानपुरलाई चट्याङको जोखिमयुक्त जिल्लाको रुपमा हेरिएको छ । चट्याङको सबभन्दा बढी प्रभाव फागुनदेखि साउनसम्म देखिने भएकाले उक्त अवस्थालाई विचार गरेर जिल्ला दैवीप्रकोप उद्धार समितिले सन् २०१२ मा विस्तृत कार्ययोजना बनाएको थियो ।
कार्ययोजनाअनुसार उद्धार तथा आगलागी निभाउन खोज, फायर बिग्रेडिएर टोली परिचालन, चट्याङबारे अध्ययन गरी रोकथामका लागि वैज्ञानिक पद्धति अबलम्बन, पीडितलाई सुरक्षित स्थानमा राखी सहयोग पुर्याउने, अर्थिङको व्यवस्था गरी समुदायलाई सुरक्षित बनाउने र चट्याङ प्रभावितलाई अस्पतालमा छुट्टै वार्डको व्यवस्था गर्नेलगायत उल्लेख गरिएको थियो ।
वर्षायाम र बादल लागेका बेला सजग रहन तथा विद्युतीय साम्रगीबाट टाढा रहन सूचना सामग्री तयार गरी नागरिकलाई सूचित गरिने भनिए पनि त्यसो हुन सकेको छैन । मकवानपुरमा घटेका २१ प्रकारका प्रकोपमध्ये चट्याङलाई दैवीप्रकोप उद्धार समितिले पाचौं नम्बरमा स्तरीकरण गरेको छ । मकवानपुरका कैलाश, राक्सिराङ र बागमती गाउँपालिका चट्याङको हिसाबमा अझ जोखिम क्षेत्र हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षमा चट्याङ लागेर ६ जनाको मृत्यु भइसकेको छ । गत आर्थिक वर्षमा चट्याङ लागेर एक जनाको मृत्यु र ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमै एउटा चौपाया मरेको थियो भने एउटा गोठमा क्षति भएको थियो ।
चालु आर्थिक वर्षको साउनयता ६ जना घाइते भएको र एउटा चौपाया मरेको छ । भौतिक क्षति भने नभएको जानकारी दिइएको छ । चट्याङले मकवानपुरमा मात्र नभइ देशभर मानिसको मृत्यु हुनेको गरेको छ । खेतमा काम गर्दागर्दै, घरमा बसेको ठाउँमा पनि चट्याङ लागेर मृत्यु हुने गरेको छ ।
जलवायु परिवर्तनले गर्दा चट्याङ पर्ने र यसको क्षति तथा जोखिम पनि बढ्दै गएको छ । ठाउँमा वा सहरमा चट्याङबाट क्षति हुन नदिन घरमा 'अर्थिङ’ गर्नुपर्छ । यसले चट्याङ पर्दा निस्केको करेन्ट र घरको विद्युत् करेन्टलाई जोडिन दिदैन र करेन्टप्रवाहबाट हुने क्षति कम गर्छ । घरमा अर्थिङ गरियो भने एकिन तथ्यांकसहित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा काम गर्ने हो भने यसलाई न्यूनीकरण गर्न सकिन्छ ।
कसरी जोगिने ?
चट्याङका कारण ठूलो जनधन क्षति हुने गरे पनि सम्बद्ध निकायको बेवास्ता र जनचेतना अभावका कारण जोखिम कम गर्न नसकिएको विज्ञहरुको मान्यता छ । तर, यस्ता केही सावधानी र उपाय अवलम्बन गरे चट्याङबाट हुने क्षतिबाट जोगिन सकिन्छ । चट्याङप्रतिरोधी घर निर्माणमा घरमाथि तामाको त्रिशुल वा रड राखेर त्यसलाई जीआई पाताले जोडेर घरमुनि माटोमा लगेर गाड्ने र त्यहाँ त्यसलाई तामाको पाताले जोड्ने, चट्याङ परेको समयमा अग्लो ठाउँ वा अग्ला टावरनजिक नबस्ने र अग्ला रुखमुनि ओत नलाग्ने, धातुको तारबार नजिक नबस्ने, समथर र खुला ठाउँमा नबस्ने, भूमि र बादलको दुरी कम भइरहने पहाडी भुभागमा सतर्क रहने, चट्याङ परेको बेला विद्युतीय सामग्री र तारजडित टेलिफोन प्रयोग नगर्ने र छत नभएको सवारीसाधनमा भए तुरुन्त सुरक्षित स्थानमा जाने । सावधानी अपनाउदा चट्याङबाट हुने क्षति कम गर्न सकिन्छ । आकाशमा गड्याङगुडुङ हुनेबित्तिकै सुरक्षित ठाउँमा जाने।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच