
कालीकाेट । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले नेपालको समाजवाद उन्मुख संविधानमाथि गम्भीर संकट देखिएको बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) पार्टी कालीकाेटको १०औं जिल्ला अधिवेशनका अवसरमा कालीकोटको रास्कोट नगरपालिका–स्थित आरसीपी बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले संविधानमाथि षड्यन्त्र भईरहेको गम्भीर आरोप लगाउनुभ भएको हाे ।
“जसरी हामीले यो संविधान बनायौं, त्यो समाजवादको धारणा केन्द्रविन्दुमा राखेर बनाइएको हो,” अध्यक्ष नेपालले भन्नुभयाे, “तर अहिले यसलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको छ, जुन गम्भीर चिन्ताको विषय हो ।”
उहाँले २०८१ सालको असार महिनाबाट नेकपा (एकीकृत समाजवादी) पार्टीले समृद्ध समाजको सपना साकार पार्ने अभियान अघि बढाएको स्मरण गराउँदै त्यस अभियानलाई अझ सशक्त रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयाे । सबै मान्छेले समृद्ध जीवन बिताउन सकून् भन्ने उद्देश्यले संविधानले सुनिश्चित गरेका अधिकारलाई संस्थागत गर्नुपर्ने धारणा व्यक्त गर्नुभयाे ।
नेपालले परिवर्तनको गतिलाई अवरुद्ध गर्न खोज्ने शक्तिहरूको विरुद्धमा जनताले सशक्त प्रतिरोध गर्नुपर्ने चेतावनी दिनुभयो । उहाँले सबै राजनीतिक दल, नागरिक समाज र जनसमुदायलाई मिलेर इतिहासलाई अगाडि बढाउने अभियानमा सरिक हुन आह्वान समेत गर्नुभयो ।
कार्यक्रममा नेपालले देशमा भ्रष्टाचार फैलिएको, सुशासनको प्रत्याभूति नभएको, र जनताको असन्तोष बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयाे । “अहिले जताततै भ्रष्टाचारको कुरा सुनिन्छ । सुशासन भनेको कागजमा मात्र सीमित भइरहेको छ,” उहाँले भन्नुभयाे ।
रोजगारीको सवालमा उहाँले विदेश पलायन भइरहेका युवालाई देशमै रोक्न सकिने वातावरण बनाउनुपर्ने बताउनुभयाे । “देशभित्र कृषि, उद्योगधन्दा, कलकारखाना लगायत क्षेत्रमा रोजगारी सिर्जना गर्न सक्नुपर्छ । जनताको गुनासो सुनिने बेला आएको छ,” नेपालले थप्नुभयाे ।
‘राजाको काम सकियो, अब जनताकै शासन चल्छ’
त्यस्तै अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि फर्किने सपना नदेख्न चेतावनीसमेत दिनुभएकाे छ । "नेपालमा अब राजाको काम छैन, त्यसकारण यस्तो सपना नदेखे नै बेस हुन्छ । राजा आऊ, देश बचाऊ भन्ने कुरा अब वेमौसमी बाजा हो," उहाँले भन्नुभयाे ।
संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामै देशको भविष्य सुरक्षित रहेको उल्लेख गर्दै नेपालले, "हामीलाई जनताको छोरा राष्ट्रपति, उपराष्ट्रपति भएर शासन गर्ने व्यवस्था चाहिएको हो । वंशका आधारमा शासन गर्ने राजतन्त्रको अब कुनै अर्थ छैन ।"
पूर्वराजालाई राजनीतिमा आउनु छ भने पार्टी खोलेर चुनाव लड्न चुनौती दिँदै उहाँले, "राजाको शासन कस्तो थियो, हामीले – म, प्रचण्ड, गिरिजाबाबु, शेरबहादुरज्यूहरूले राम्ररी चिनेका छौं । चैत्र १५ गते पार्टी कार्यालय जलाएर, पसलबाट चुरोट चोरेर, आगो लगाएर, पत्रिका कार्यालय जलाएर, दुई जना युवाको हत्या गरेर राजा फर्किन्छन् भन्ने सोच गलत हो ।"
अध्यक्ष नेपालले वर्तमान अवस्थाको टिकाउ नहुने उल्लेख गर्दै नेपाली विशेषताको समाजवाद वा वैज्ञानिक समाजवादतर्फ जानुको विकल्प नभएको स्पष्ट पार्नुभयाे । साथै, देशमा केही पनि नभएको भन्ने धारणा गलत भएको भन्दै आफैंहरूले अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गर्नुभयाे ।
रास्कोट भ्रमणप्रति खुसी व्यक्त गर्दै नेपालले, "यहाँ आउन पाउँदा निकै आनन्द महसुस भएको प्रतिक्रिया दिनुभयाे । प्रचण्ड र विप्लव कमरेडहरू पनि यहाँ आइपुग्नु भएको रहेछ । म नआएको भए नेपालको भ्रमण नै अधुरो हुने थियो 'उहाँले भन्नुभयाे'।"
रास्कोटका जनताप्रति आभार प्रकट गर्दै जनताको समस्यासँग सधैं एकाकार भएर पार्टी लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयाे । समाजवादी व्यवस्था स्थापना गर्न समाजवादी मोर्चा गठन भइसकेको उल्लेख गर्दै उहाँले विचार मिल्ने वामपन्थी शक्तिसँग सहकार्य गर्ने स्पष्ट पार्नुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच