
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार एक भिडिओ सन्देश जारी गर्दै ‘नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद नहुने उल्लेख गर्दै अप्रत्क्ष रुपमा सरकारको आलोचना गर्नुभएको छ । उहाँको सन्देशको मूल अन्तर्य सरकारदेखि व्यवस्थाकै आलोचना गर्दै फेरि राज्यसत्तामा फर्किने देखिन्छ ।
मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले पहिले पनि योगदान पुर्याएको उहाँको भनाइ छ, उक्त भनाइबाट उहाँमा फेरि राज्यसत्ताको मोह पलाएको सहजै अनुमान गर्न सकिन्छ ।
पूर्वराजा शाहले समय समयमा जारी गर्ने भिडियो सन्देशहरूले विभिन्न राजनीतिक र सामाजिक आयामहरू बोकेका हुन्छन् । यस्ता सन्देशहरूमा देखिँदा प्रायः राष्ट्रियता, एकता, र वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जस्ता विषयहरू उठान हुने गरेका छन् । अन्तर्यमा पूर्वराजा शाहमा पुनः राजा बनेर देश सञ्चालन गर्ने मनोकांक्षा जिवित रहेको देखिन्छ । अझ राजवादीहरुले देखाएको राजसंस्था मोहले उहाँमा थप ऊर्जा भर्ने काम गर्छ । राजावादी दल तथा पूर्वराजा ज्ञानेन्द्रबीच एक अर्काप्रति हौसाउने प्रवृतिलाई पछिल्लो राजनीतिक अवस्थाले पनि मलजल गरेको छ । जनतामा व्यवस्था परिवर्तन भन्दा पनि राजनीतिक उतारचढाव तथा दलहरुको भूमिकाले नैरश्यता बढाउनुका साथै राजावादीहरुलाई थप बल पुगेको छ ।
यसअघि फागुन ७ पनि पूर्वराजा शाहले शुभकामना सन्देश दिनुभएको थियो । प्रजातन्त्र दिवसका सन्दर्भमा दिएको शुभकामना सन्देशमा उहाँले ‘देश जोगाउका लागि आफूलाई साथ दिन’ आह्वान समेत गर्नुभएको थियो ।
यस्तै, नयाँ बर्ष २०८२ को पूर्व सन्ध्यामा आज दिएको भिडियो सन्देशमा उहाँले देशको वर्तमान अवस्था, राजनीतिक घटनाक्रम र आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभएको छ । तर, फागुन ७ को जस्तो प्रष्ट आह्वान नभएपनि घुमाउरो पारामा उहाँको सन्देशमा राजतन्त्र पुनःस्थापनाका लागि जोड दिएको सहजै अनुमान गर्न सकिन्छ ।
पूर्वराजा शाहले वर्तमान राजनीतिक प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । सन्देशमा उहाँले राष्ट्रियता र एकताको विषयलाई जोड दिनुभएको छ । पूर्वराजाले देशको वर्तमान अवस्थामा राष्ट्रिय एकताको आवश्यकता औँल्याउँदै सबैलाई एकजुट हुन आह्वान समेत गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्म, संस्कृति तथा जनस्तरमा बढेको निराशा, असन्तुष्टि हाम्रो चिन्ताको मूल विषय हो । नागरिक पलायनसँगै पुँजी पलायन, भ्रष्टाचार र बेथिति देशले धान्नै नसक्ने स्तरमा झाँगिएको छ । यो स्थितिमा नयाँ वर्षलाई उपलब्धीमुलक बनाउनु हामी सबै नेपालीको सामूहिक र एकताबद्ध प्रयास अपरिहार्य भएको छ । नेपाली नेपालीबीच द्वन्द्व नहोस् । परस्पर अविश्वास र हिंसाको दुःखद मनस्थिति नबनोस्, देशबासीहरू कुनैपनि नाम र निउँमा ध्रुवीकृत नबनुन् भन्ने कुरामा संवेदनशील छौं । नेपालीको एकतामा नै नेपालको भविष्य निहीत रहेको यथार्थलाई हामीले आत्मसाथ गरेका छौं ।'
वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि र आह्वान
पूर्वराजाका पछिल्ला सन्देशहरूमा वर्तमान राजनीतिक प्रणालीप्रति असन्तुष्टि व्यक्त भएको देखिन्छ । उहाँले देशको राजनीतिक अवस्थामा सुधारको आवश्यकता औंलाउँदै अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य हुनुपर्ने बताउने गर्नु भएको छ । त्यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासमा ऐक्यबद्धता रहनेसमेत उहाँले उल्लेख गर्नुभएको छ । रुग्ण हुँदै गएको औद्योगिक उत्पादन, बढ्दो राष्ट्रिय ऋण र बेरोजगारी, रक्षात्मक बन्दै गएको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्म, संस्कृति तथा जनस्तरमा बढेको निराशा, असन्तुष्टिे चिन्ताको मूल विषय भएको उहाँले बताउनु भएको छ ।
साथै सन्देशमा राजसंस्थाको भूमिकालाई पनि चर्चा गर्ने गरिएको छ । यद्यपि, उहाँले प्रत्यक्ष रूपमा राजसंस्था पुनःस्थापनाको माग नगरे पनि, अप्रत्यक्ष रूपमा यसको महत्वलाई उजागर गर्ने प्रयास गरेको देखिन्छ । पूर्वराजा शाहले देशको वर्तमान अवस्थाप्रति जनताको असन्तुष्टिलाई प्रतिनिधित्व गर्ने प्रयास गर्दै जनताको मन खिच्ने प्रयास गर्नु भएको छ । उहाँका पछिल्ला सन्देशहरूले राजनीतिक वृत्तमा विभिन्न बहस र चर्चाको सिर्जना गर्ने गरेका छन् । जसले राजावादी शक्ति हौसिएका छन् भने गणतन्त्रवादी तर्सिएका छन् ।
फागुन ७ को सन्दर्भको शुभकामना सन्देशले राजावादीहरुलाई सकृय बनाउँदै हौसाएको थियो भने आजको सन्देश भने त्यसको तुलनामा केही सन्तुलित भएपनि उहाँले घुमाउरो पारामा शक्तिमा आउन चाहने आफ्नो इच्छा-मनोकांक्षा प्रस्तुत भने गर्न छाड्नु भएको छैन ।
उहाँले चैत १५ गते भएको तीनकुने घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्दै हिंसा र तोडफोडप्रति दुःख व्यक्त समेत गर्नुभएको छ । गत चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शनका क्रममा २ जनाको ज्यान जानुका साथै आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए ।
विभिन्न राजनीतिक दलका नेताहरूले तीनकुने घटनाका नाइके राजा भएको भन्दै कारबाहीको दायरामा ल्याउनुपर्ने माग राख्दै आएका छन् । यसै शिलशिलामा पूर्वराजा शाहले सन्देशमार्फत आन्दोलनकारीले ‘प्रजातान्त्रिक हक अधिकारको उपभोग गर्दा संयम अपनाउनुपर्ने’ बताउनु भयो ।
'समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो । तर, त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनुपर्छ ।' उहाँकाे सन्देशमा भनिएकाे छ ।
उहाँले देशमा भ्रष्टाचारले सिमा नाघेको उल्लेख गर्दै देशको अवस्था विश्वकै उत्कृष्ट भूमिमा बाँच्नै गाह्रो भइसकेको बताउनु भएको छ । आगामी बर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो संझना बन्नु पर्छ र बनाउन सकिन्छ भन्ने विश्वास लिएको उहाँले सन्देशमा भन्नुभएको छ ।
उहाँले देशको वर्तमान अवस्थामा राष्ट्रिय एकताको आवश्यकता औँल्याउँदै सबैलाई एकजुट हुन आह्वान गर्नुभएकाे छ । उहाँले देशको राजनीतिक अवस्थामा सुधारको आवश्यकता औँल्याउँदै नागरिक स्वतन्त्रताभन्दा माथि कुनै वाद हुन नसक्ने बताउनुमा व्यवस्था प्रति सन्तुलन राखेजस्तो पनि देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच