✍️ भट्टराई बन्धु
‘यो हिंसा आतंकको बाटो छोड्नहोस् : मुलुकको मूलधारमा समाहित भएर जनतन्त्र र जनतान्त्रिक संस्थाहरूको सम्वद्र्धन गर्ने कामको अगुवाइ गर्नुहोस् । हाम्रो हरतरहले सहयोग हुनेछ । हामी सबै मिलेर जनता र मुलुकको पीडा कम गर्ने महाभियानको थालनी गरौँ । यो हिंसाको बाटो हिँडेर कहिँ पुग्न सकिँदैन । मुलुकलाई हिंसात्मक बरवादी हुनबाट बचाऔँ ।’ आफ्नै घरको मझेरीमा माओवादीहरूको चरम यातनाबाट अमरत्व प्राप्त गर्नुअघि नेपाली कांग्रेसका नेता राममणि ज्ञवालीले व्यक्त गर्नुभएको अन्तिम वाणी हो यो ।
पोलको अभावले बल्कोट र केरुंगा गाउँको विद्युतीकरण अवरुद्ध थियो । त्यसका लागि उहाँ बुटवल-काठमाडौं पुगेर आवश्यक पोलहरूको व्यवस्था मिलाई बुटवलबाट भरखर घर पुगेर अब केही महिनाभित्रै आफ्नो गाउँमा बिजुली बल्ने परिकल्पनाका साथ विश्राम गर्ने तरखरमा हुनुहुन्थ्यो । एकाएक आक्रामक जत्थाले घर घेरा हाल्यो । उहाँकी धर्मपत्नी कल्पना ज्ञवालीलाई होहल्ला गरे, हारगुहार मागे ज्यान जाने उत्तेजक धम्की दिँदै माथिल्लो कोठामा थुनियो । छोरा सुदीप र बुहारीलाई उनीहरूको कोठामा कैद गरियो । चारैतिर आतंकको वातावरण सिर्जना गरी नेता राममणि ज्ञवालीसँग कल्पनै गर्न नसकिने धनराशी मागियो ।
नेपाली कांग्रेसले प्रजातन्त्र र प्रजातान्त्रिक पद्धतिको स्थापनाका लागि असंख्य कुर्वानी गरेको छ । प्रातःस्मरणीय राममणि ज्ञवालीले त्यही आदर्श र सिद्धान्तमा अडिग रहेर हिंसात्मक राजनीतिलाई पूर्णरूपले पराजित गर्दै अमरत्व प्राप्त गर्नुभयो । त्यतिबेला हाम्रो गाउँमा शृंखलाबद्ध हत्या भएको थियो ।
नेपाली कांग्रेसका स्वाभिमानी नेताले शालीनताका साथ भन्नुभयो- ‘माओवादी पार्टी राजनीतिक दल हो, राजनीति विचारले सञ्चालित हुन सक्नुपर्छ, तपाईंहरू शान्तिपूर्ण राजनीतिमा आउनुहोस् सँगसँगै मिलेर काम गरौँ ।’ उक्त जत्थालाई राजनीति गर्नु रहेनछ । राष्ट्रवादी जनतान्त्रिक शक्तिलाई सिध्याउनु रहेछ । उहाँमाथि चक्कु, छुरी, बुट र लाठी वर्षाइयो । ब्लेडले छाला काढियो, सभ्य समाजले कल्पनै गर्न नसक्ने गरी साढे दुई घण्टाको क्रुरतम पशाविक यातना दिँदै, तड्पाएर घाटीको नशा चुडाइयो । सात सालको जनक्रान्तिका योद्धा प्रातःस्मरणीय बुबा नेत्रलाल ज्ञवालीको घरको मझेरीमा एउटा स्वाभिमानी प्रजातन्त्रका सारथिको बरबर हत्या गरियो ।
त्यसै राति उहाँका भाइ तथा महेन्द्र विद्याबोध माध्यमिक विद्यालय, बल्कोट अर्घाखाँचीका प्रधानाध्यापक लक्ष्मणमणि ज्ञवालीको घरमा लुटपाट गरियो र नेपाली कांग्रेसका स्थानीय नेता समाजसेवी कृष्णप्रसाद खनालको घरमा बम हानेर ध्वस्त पारियो । उहाँहरू दुवैजना घरबाहिर हुनुभएकाले बच्नुभयो । उक्त उत्ताउलो जत्थाले ग्रामवासीलाई शव नउठाउन, परिवारजनलाई नसघाउन चेतावनी दिएको थियो ।
सबैतिर आतंक मच्चिएको थियो । त्यस्तो त्रासदीपूर्ण स्थितिमा परिवारजनको मानसिक अवस्था कति आतंकित भयो होला, सम्झँदै आङ सिरिङ्ग हुन्छ । कोलाहल, डर, त्रास घनिभूत थियो । परिवारको आलापविलाप र हारगुहार उपर ग्रामवासीको सहानुभूति स्वाभाविक थियो तैपनि त्यस रात कोही पनि आउन सकेनन् । कोठामा थुनिनु भएका उहाँका धर्मपत्नी, छोरा-बुहारी पनि बाहिर निस्कन सक्नु भएन ।
अर्काे दिन बिहान छिमेकीहरूले सहयोग गरे । सेनाको सुरक्षामा भाइ भरतमणि ज्ञवालीले हेलिकप्टरद्वारा शव काठमाडौं ल्याई पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो । शवको प्रकृति हेर्दा घाँटी सेरिएको नाडी जत्ति शेष रहेको, हात, खुट्टा, कुहिनो र घुँडासम्म छाला खोल्स्याइएको थियो । शरीर र मुख हेरिसक्नु थिएन, कसले हेर्न सक्नु र ? घाटमा गएकाहरूले यस्तो विभत्सता सुनाएका थिए ।
नेपाली कांग्रेसले प्रजातन्त्र र प्रजातान्त्रिक पद्धतिको स्थापनाका लागि असंख्य कुर्वानी गरेको छ । प्रातःस्मरणीय राममणि ज्ञवालीले त्यही आदर्श र सिद्धान्तमा अडिग रहेर हिंसात्मक राजनीतिलाई पूर्णरूपले पराजित गर्दै अमरत्व प्राप्त गर्नुभयो । त्यतिबेला हाम्रो गाउँमा शृंखलाबद्ध हत्या भएको थियो । उहाँहरूको केही बिराम थिएन । सबैजना निरश्त्र हुनुहुन्थ्यो, शान्तिपूर्ण जीवनयापन गर्दै हुनुहुन्थ्यो । कथित युद्धको नाउँमा घरघरबाट राष्ट्रवादीहरूको योजनाबद्ध हत्या भयो ।
लामो प्रजातान्त्रिक संघर्षका दौरान अनेक आरोह-अवरोह झेल्दै आउनुभएका राममणि ज्ञवालीको राजनीति सुझबुझपूर्ण थियो । राष्ट्रियता र मेलमिलापको अन्तर्य बुझेको वाचाल नेता हुनुहुन्थ्यो । प्रजातन्त्रको लागि सरकारी जागिर तिलाञ्जलि दिएर संघर्षको बाटो रोज्ने आँटिलो नेता हुनुहुन्थ्यो । गणेशमान सिंहको पञ्चायतका आउटपोष्टहरू कब्जा गर्ने रणनीति अन्तरगत तत्कालिन केरुङ्गा पञ्चायतका प्रधानपञ्चको जिम्मेवारीमा रहँदै जिल्लाको नेतृत्व तहमा पुग्नुभयो । राजाको पश्चिमाञ्चल भ्रमणको सिलसिलामा २०४६ सालमा अर्घाखाँची पुग्नुहुँदा उहाँले पनि राजाको दर्शन भेट पाउनुभएको थियो । उहाँले राजा समक्ष-‘सरकार, मुलुक जर्जर अवस्थामा छ । बहुदल घोषणा गरिबक्सियोस् । राजनीतिक निकास बक्सियोस्’ भन्नुभएको थियो । उतिबेला यसरी बिन्ती बिसाउनु चानचुने कुरा थिएन । राजाको ध्यान खिच्न सक्ने राममणि ज्ञवाली उम्दा राष्ट्रसेवक र जनमुखी राजनीतिका हस्ती हुनुहुन्थ्यो ।
संसदीय प्रजातान्त्रिक पद्धतिका खिलाफमा हिंसात्मक राजनीतिमा ओर्लिएको जत्थाले खुकुरी उज्याइँदै गर्दा उहाँले निर्भिकताका साथ हत्याहिंसाको राजनीति गन्तव्यहीन, लक्ष्यहीन र अर्थहीन छ भनेर संसदीय मूलधारमा समाहित भएर राजनीति गर्न उनीहरूलाई आग्रह गर्नुभएको थियो । उहाँको हत्या भयो तर उहाँ आफ्नो हत्या गर्न आएकाहरूसँग किन्चित झुक्नु भएन, बरू हत्या स्वीकार गर्नुभयो । उहाँको विचार अजेय रहृयो ।
आफ्ना कार्यकर्ता, जनतान्त्रिक संस्थाहरू नष्ट गरेको माओवादीलाई पीडा र अपमान सहेर पनि मुलुकमा शान्ति स्थापनाका लागि गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सातदलीय गठबन्धनले संसदीय मूलधारमा ल्याउन नयाँ दिल्लीमा १२ बुँदे सम्झौता गरेको थियो । फलस्वरूप उनीहरू पुनःस्थापित संसदमा सिधै कल्पना गर्नै नसकिने संख्यामा भित्रिए । उनीहरूलाई चुनावै लड्नु परेन । मन्त्री बनेर संविधान सभाको चुनाव लडेका थिए । प्रजातान्त्रिक राजनीतिक संस्कार रातारात बन्ने कुरा थिएन, बनेन । दुई दशक लामो अभ्यास ज्यादै निराशाजनक देखिँदै छ ।
जनताको अभिमतमा स्थापित भएका कम्युनिष्टले संसदीय पद्धतिलाई बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो भनेर दोहोरो मापदण्ड राखेको देखाएका छन् । उनीहरूको बोलीमा माक्र्सवाद, वैज्ञानिक समाजवादको रटान छ, आचरण त्यसको ठीक विपरीत सत्ताको लागि जे पनि गर्ने खालको छ । माक्र्सवाद जस्तो उच्च तहको विशुद्ध दर्शनलाई यावत् समस्याहरूको निदान गर्ने बुटी देख्ने प्रवृतिले समाज गाँजिएको छ । हाम्रो राजनीतिक, आर्थिक, सामाजिक, बौद्धिक र शैक्षिक क्षेत्रहरूको समाधान माक्र्सवादी शासन व्यवस्थामा देख्नेहरूका कारणले समाजलाई विद्रूप बनाएको छ । महत्वपूर्ण दर्शन यस्तो द्वैध चरित्रको राजनीतिमा गाँजिएको छ ।
यसलाई शासन पद्धतिमा घिसार्ने बितण्डा गर्नु हँुदैनथ्यो । माक्र्सवादी दर्शनलाई शासनप्रशासनमा जोड्दा समाज र राज्य व्यवस्था अस्तव्यस्त हुने गरेको विश्वको इतिहासबाट मनन गर्नुपर्ने हो, गरिएन । एउटा विशुद्ध दर्शनलाई प्रशासकीय ढाँचामा स्थापित गर्न खोज्नु राष्ट्र र जनतालाई धोका दिनु हो । हुनै नसक्ने, असम्भव आस्वासन दिने यस्तो बेइमानी बाटो समातेर सत्तामा पुग्ने महत्वाकांक्षी राजनीति मुलुकको लागि अभिशाप हो । अहिले त्यही भइरहेको छ । राष्ट्रिय ढुकुटीमा हालीमुहाली गर्ने, विलासी जीवन जिउने, मौलिक राजनीतिक जग खल्बल्याउने भत्काउने जस्ता काम माक्र्सवादको माला जप्नेहरूबाट हुँदै आएको छ । यसले बरबादी निम्त्याएको कुरा जति लुकाएर लुक्न सक्दैन ।
यी र यस्तै गतिविधिको मूल्यांकन गरेर हुनसक्छ माओवादी केन्द्रले आफ्नो नाम फेर्ने उद्घोष गरेको छ । डा.बाबुराम भट्टराईले नयाँ युगको चाहना र आवश्यकता कम्युनिष्ट पार्टीले सम्बोधन गर्न नसक्ने उद्घोष गर्दै माओवादी पार्टी परित्याग गरेका थिए । अहिले उनीसमेतको मिलोमतोमा समाजवादी पार्टीको नाउँमा पूर्वमाओवादीहरू एकताबद्ध हुने जमर्काे गर्दैगर्दा पानीको फोकाजस्तो बन्न पुग्यो । साम्यवादी स्वप्नित शासन युग सापेक्ष छैन । जनआकांक्षा बुझेर नेताहरूले कदम चाल्ने अपेक्षा राख्नु स्वाभाविक होला । बीपी कोइरालाले कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठसँग पार्टी एकताको कुरा गर्नुभएको थियो तर त्यसो हुन सकेन । अहिले माओवादीहरू बीचको एकता त एउटै विचारका बीचको एकताको चर्चा हो तैपनि त्यसो हुन सकिरहेको छैन ।
हालै सम्पन्न स्थानीय तथा संसदीय चुनावमा नेपाली कांग्रेसले माओवादी केन्द्रसित गठबन्धन गरेको थियो । चुनावको क्रममा जनस्तरबाट माओवादीसितको गठबन्धनप्रति घोर विमति व्यक्त गरियो त्यसको विरोध भयो । विगतका घटनाको लागि गठबन्धन भएको राजनीतिक दलसित जोडिएको नाताले धेरै ठाउँमा क्षमायाचना गर्नुपर्यो ।
हिंसा हत्यालाई राजनीतिक जलप लगाउने दिन फागुन १ गतेलाई वैधता दिने पुष्पकमल दाहालको पहल राष्ट्रिय हितमा छैन भन्ने कुरा राष्ट्रव्यापी विरोधले पुष्टि गरेको छ । जनयुद्धको नाउँमा माओवादी पार्टीले अहिंसात्मक राजनीतिका पक्षधर नेपाली कांग्रेसका नेताहरू, शिक्षक, स्वास्थ्यकर्मी, समाजसेवीहरूको शृंखलावद्ध हत्या गरेको छ । हालै सम्पन्न स्थानीय तथा संसदीय चुनावमा नेपाली कांग्रेसले माओवादी केन्द्रसित गठबन्धन गरेको थियो । चुनावको क्रममा जनस्तरबाट माओवादीसितको गठबन्धनप्रति घोर विमति व्यक्त गरियो त्यसको विरोध भयो । विगतका घटनाको लागि गठबन्धन भएको राजनीतिक दलसित जोडिएको नाताले मुटुमाथि ढुंगा राखी धेरै ठाउँमा क्षमा याचना गर्नुपर्यो । माओवादीहरू संसदीय पद्धतिको मूलधारमा राजनीति गर्न हामीहरूसित गठबन्धन गरेका हुन् भनेर कसमसम्म खानुपरेको थियो ।
विगतका दुःखद् घटनाले सामाजिक सद्भाव, सौहाद्र्रता र भाइचाराको भावना विषाक्त बनाएको छ । ती अपरिमीत पीडा-व्यथा बिर्साउन र एकता-मेलमिलापको वातावरण सृजना गर्न माओवादी केन्द्रको नाउँ फेर्न अपरिहार्य देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले समय-सापेक्ष चिन्तन गर्नुभएको छ । नयाँ समाजवादी पार्टी गठन गरेर सम्बन्धित दलले जनसमक्ष क्षमायाचना गरेमा प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस तथा अन्य प्रजातान्त्रिक पार्टीलाई गठबन्धन अस्वीकार्य हुँदैनथ्यो होला ।
हिंसात्मक बाटो परित्याग गरी मूलधारको राजनीतिमा आबद्ध भएर प्रजातान्त्रिक राजनीतिको अभ्यास गर्दा मुलुकको भविष्य उज्ज्वल हुन्छ भन्ने अमर शहीद राममणि ज्ञवालीको चाहना थियो । आशा राखौं- नेताहरूले आमजनमानसको भावना बुझेर कदम चाल्नेछन् । मानिसले निराशा र कुण्ठाको भारी बिसाउँन पाउने छन् । अस्तु ।। २१औं पुण्यतिथिको अवसरमा अमर शहीद रामदाइप्रति शब्द श्रद्धाञ्जलि ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच