धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री शाहले प्रदेश सांसदहरू पृथ्वीबहादुर सिंह, झपट साउद, रमेश धामी र गीतादेवी माललाई मन्त्री नियुक्त गर्नुभएको हो । सिंह कांग्रेस सांसद हुनुहुन्छ भने साउद, धामी र माल माओवादी केन्द्रका सांसद हुनुहुन्छ ।
नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शनिबार अपरान्ह प्रदेश प्रमुखको कार्यालयमा मन्त्रीहरू सिंह, साउद र धामीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । त्यस्तै राज्यमन्त्री माललाई मुख्यमन्त्री कमलबहादुर शाहले शपथ गराउनु भएको थियो । प्रदेश प्रमुख जोशीले गत माघ २६ गते गठित प्रदेश मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ बमोजिम मन्त्रीको नियुक्ति र कार्यविभाजन गर्नुभएको हो ।
मुख्यमन्त्री शाहले शनिबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गराउनुभएको हो । नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंह मन्त्री बन्नुभएको छ । उहाँले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । त्यस्तै, माओवादी केन्द्रबाट मन्त्री बन्नुभएका झपट साउदले सामाजिक विकास मन्त्रालय र रमेश धामीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बन्नुभएको छ ।
२०७९ माघ २६ गते मुख्यमन्त्री नियुक्त हुनुभएका शाहले भोलिपल्टै कांग्रेसका प्रकाशबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई मन्त्री नियुक्त गर्नुभएको थियो । देउवाले भौतिक पूर्वाधार र शाहीले आर्थिक मामिला मन्त्रालयको जिम्मा पाउनुभएको थियो । त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्न सकेको थिएन ।
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने दल नागरिक उन्मुक्ति पार्टीले भने मन्त्रीका लागि नाम दिएको छैन । उक्त पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले आफूहरूलाई दुईवटा मन्त्रालय दिने सहमति भएको भए पनि अहिले मुख्यमन्त्रीले एउटा मात्र नाम मागेकाले सरकारमा सहभागी नभएको बताउनुभयो । उहाँले सुदूरपश्चिम सरकारको बिषयमा आइतबार काठमाडौंमा बैठक बस्ने र त्यहीँबाट के गर्ने भन्ने निर्णय हुने बताउनुभयो । मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खाली राख्नुभएको छ । मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्रीको जिम्मामा भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालय रहेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता शाह, नेकपा (माओवादी केन्द्र), नेकपा एस र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच