म र मेरो पार्टीबाहेक सबै नालायक !

Read Time = 18 mins

म र मेरा कार्यकर्ताहरू र मेरो पार्टीबाहेक अरू सबै नालायक हुन् भन्ने चिन्तन गर्ने पार्टी नेतृत्व नै बहुदलीय व्यवस्था र सुशासनका लागि मुख्य समस्या हुन् । सत्तामा रहादा प्रायः सबै नेताहरूले पार्टीलाई देश लुट्ने र आफू र आफ्नालाई पोस्ने साधन बनाएका छन् । यिनीहरूको साध्य भ्रष्टाचार हो । भ्रष्टाचार गर्ने यिनीहरूको भित्री अभिष्ट पार्टी सत्ताका माध्यमले पूरा भएकाले अहिले देशमा भ्रष्टाचार र कुशासनको बिगबिगी छ । म र मेरो पार्टीमात्रै ठीक । अरू सबै बेठीक भन्ने चिन्तन, दृष्टिकोण र कुकृत्य एउटा पार्टीको एउटा नेतामा मात्रै सीमित छैन् । नेपालका सबै पार्टीहरूका प्रायः सबै नेताहरूमा र तिनका कार्यकर्ताको मन मस्तिष्क र व्यवहारमा म र मेरो पार्टीमात्रै ठीक भन्ने मान्यतालाई जबर्जस्त स्थापित गरिएको छ ।

अन्य पार्टीहरूको अस्तित्व स्वीकार गर्ने र आफ्ना काम, व्यवहार र आचरणको सिंहावलोकनसम्म गर्ने चरित्र कुनै पनि पार्टीका नेताहरू र कार्यकर्तामा नहुनु अर्को दुर्भाग्य हो । व्यक्तिगत स्वार्थ र मपाईंवाद उनीहरूको पहिचान बन्यो । यस्तो सोच हुने नेतृत्व र कार्यकर्ताका कारणले नै हाम्रो बहुदलीय व्यवस्था बदनाम मात्रै छैन संकटग्रस्त पनि छ । व्यवस्था धेरै पटक परिवर्तन हुँदै गर्दा जनताको अवस्थामा तात्विक परिवर्तन नहुनुको मुख्य कारण नै नेतृत्वको निजी स्वार्थ र मपाईंवाद हो । समग्रमा भन्नुपर्दा भ्रष्टाचार हो । प्रजातान्त्रिक चरित्र र सुशासनको प्रमुख शत्रु र बहुदलीय व्यवस्थालाई बदनाम गर्ने मुख्य सूत्र पनि भ्रष्टाचार हो ।

हाम्रो प्रजातान्त्रिक व्यवस्थाले स्वाभाविक गति लिन नसक्नुको मुख्य कारण नै नेतृत्व र कार्यकर्ताहरूमा भएको मपाईंवाद, निरंकुुश चरित्र र संकीर्ण दृष्टिकोण हो । बहुदलीय व्यवस्थामा अर्काको अस्तित्वलाई स्वीकार जसले गर्दैन त्यो न प्रजातन्त्रवादी हुन्छ, न समाजवादी हुन्छ न साम्यवादी ।

निरंकुश र मपाईंवादको भूमिकालाई कममात्रै होइन निमिट्यान्न पार्न प्रजातान्त्रिक शासन व्यवस्थाको आविष्कार भएको हो । त्यसैले प्रजातान्त्रिक शासन व्यवस्थाको यदि कोही शत्रु छ भने पार्टी नेतृत्व र कार्यकर्तामा भएको निजी स्वार्थ र मपाईंवाद हो । निजी स्वार्थ र मपाईंवादको अभिन्न मित्र हो भ्रष्टाचार । नेपाली नेताहरूमा र तिनका कार्यकर्ताहरूमा भएको निजी स्वार्थ र मपाईंवादले नेपाली राजनीतिमा प्रजातान्त्रिक चरित्रको सर्वस्व हरण गरेको छ । साझा र सामूहिक दृष्टिकोण र चिन्तनमा हुर्कने र बढ्ने प्रजातान्त्रिक पद्धतिमा स्वार्थ र मपार्इंवाद साथै एकल निर्णयको अतिक्रमणले शासनमा प्रजातान्त्रिक चरित्र, व्यवहार र आचरण दुर्लभ वस्तु बने ।

हाम्रो प्रजातान्त्रिक व्यवस्थाले स्वाभाविक गति लिन नसक्नुको मुख्य कारण नै नेतृत्व र कार्यकर्तामा भएको मपाईंवाद, निरंकुुश चरित्र र संकीर्ण दृष्टिकोण हो । बहुदलीय व्यवस्थामा अर्काको अस्तित्वलाई स्वीकार जसले गर्दैन त्यो न प्रजातन्त्रवादी हुन्छ, न समाजवादी हुन्छ न साम्यवादी । वादको उत्पत्ति नै आफैंमा कोही पूर्ण हुँदैन भन्ने चिन्तन र विचारको उपज हो । आफैंलाई पूर्ण देख्ने र सोच्ने दृष्टिकोण नै बहुदलीय व्यवस्थालाई व्यवस्थित रूपमा सञ्चालन हुन नदिने अस्त्र हो । सबै म हुँ । सबै मेरा कार्यकर्ता मेरा प्रयोगका साधन हुन् । पार्टी मेरो एकलौटी हो भन्नेहरू र निरंकुुश शासकमा के अन्तर हुन्छ ? सबै म हुँ भन्ने अघिल्लो पुस्ताको सोचलाई बोक्नेहरूले नेतृत्व सम्हाले भने पनि जनताले परिवर्तनको अनुभूति भोलि पनि गर्न पाउँदैनन् ।

राजनीति गर्नेहरूको निजी स्वार्थ र आत्म प्रशंसा गर्ने चरित्र र स्वभावमा परिवर्तनविना देशले परिवर्तनको अनुभूति किमार्थ गर्दैन । प्रजातान्त्रिक शासन नीति प्रधान हुन्छ न कि नेता प्रधान । हाम्रो नेता प्रधान राजनीतिक संस्कार र संस्कृतिले बहुदलीय प्रजातान्त्रिक चरित्रमा सधैं प्रहार गरेको छ । त्यसैले व्यवस्थाहरू बारम्बार परिवर्तन हुँदै गर्दा देश र जनताको अवस्थामा कहिल्यै सकारात्मक परिवर्तन ल्याउन सकेन । नेपालका तीन–चार नेताले सेतोलाई कालो र कालोलाई सेतो भनेपछि हामी सबैले मानिदिनुपर्ने ? नेताहरूको निरंकुुशताले फस्टाएको भ्रष्टाचार र कुशासनले नेपाली जनता आजित छन् । निरंकुुश चरित्रले प्रजातान्त्रिक मूल्य र मान्यता भत्काउने काम भयो । नयाँ संरचनामा भ्रष्टाचार र कुशासनमात्रै होइन यो संरचनालाई अत्यधिक खर्चिलो बनाएर यसले देश टाट उल्टदा पनि सुध्रन कोही तयार छैनन् । जनताले अनुभव गरेको अक्कासिँदो कर प्रणाली, भ्रष्टाचार र महँगीले यिनीहरू सक्किँदैछन् । अहिले निर्णयको अधिकार हुनेहरू जो जो छन् तिनीहरूमध्ये कसैलाई पनि महँगीको प्रभाव पर्दैन । जसलाई दुख्छ त्यसले मात्र पीडालाई बुझ्छ ।

पार्टीका निर्णायक तहमा रहने वर्तमान र भूतपूर्व समेतलाई कर र महँगीले छुँदैन । किनकि उनीहरूलाई उपभोग्य वस्तु गाडी, पेट्रोल, डिजेल, मविल जस्ता अनगिन्ती वस्तुहरू सरकारले दिन्छ । तसर्थ उनीहरूलाई महँगीले प्रभाव पार्दैन । भ्रष्टाचार र कुशासनको जग नै पार्टीका नेताहरूको एकाधिकार, अहंकार र निरंकुुशता हो । कुशासनको जगमा भ्रष्टाचार मौलाएको छ । भ्रष्टाचारले यिनै सीमित नेताहरू र तिनका आसेपासेलाई फलिफाप भएको छ । फलिफाप हुनेहरू परिवर्तन चाहँदैनन् । जसले पीडाबोध गरेको छ उनीहरू असंगठितमात्रै छैनन् विविध पार्टीहरूमा चरम विभाजित छन् ।

सबै पार्टीमा रहने लम्पट कार्यकर्ता नै भ्रष्ट नेताहरूलाई जोगाउने अस्त्र हुन् । सदनमा सांसद लेखनाथ दाहालले ओलीको समयमा पशुपति नाथको जलहरि निर्माणको क्रममा ११ किलो सुन गायव भएको महालेखाको प्रतिवेदनमा समेत उल्लेख भएको विषयलाई सदनमा उठाउँदा सो आरोपलाई संसद्को रेकर्डबाट मेटाएर ओलीलाई क्लिन चिट दिने निर्णयले माओवादी, कांग्रेस र एमाले जस्ता ठूला पार्टीहरूले २०८४ को निर्वाचनमा सक्किने जबर्जस्त पूर्वाधार तयार गरे । ओलीका लम्पट कार्यकर्ताको दबाबमा भएको एउटै निर्णयले माओवादी, कांग्रेस र एमाले जस्ता पार्टीहरू एकसाथ बदनाम भए ।

प्रदेश र संघीय सांसदसमेत हिसाब गर्दा करिब हजारको संख्या पुग्छ । खर्चको हिसाब गर्ने हो भने सबैले जिब्रो टोक्नुपर्छ तर देशको निर्णयात्मक भूमिकामा सांसदहरू छैनन् । तीन–चार नेताहरूको निर्णयले देश चल्ने हो भने यत्रो संख्यामा सांसदहरू किन पाल्ने ? सांसदहरूको काम के हो ? ऊ कोप्रति जिम्मेवार हुनुपर्ने हो ? यसबारे पनि बहस अन्तक्र्रिया, छलफल प्रारम्भ गर्नुपर्ने अवस्थामा हामी छौं । संसदभित्र सरकारका कामको व्याख्या, विश्लेषण र समीक्षाको स्वतन्त्रता नै अपहरण हुन्छ भने किन चाहियो यत्रो संख्याका माननीयहरू ? खड्गप्रसाद ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवाहरू नै दशकौंदेखि राजनीति र सरकारको हर्ताकर्ता भएका छन् ।

सरकारबाट भए गरेका भ्रष्टाचार र अन्य नराम्रा कामसमेतको जिम्मेवारी उनीहरूले लिनुपर्ने कि नपर्ने ? एकजना सांसद लेखनाथ दाहालले ओलीको कार्यकालका अनियमितताका विषयहरूमा उच्चारण गर्ने हिम्मत गरे । के उनले अपराध गरे ? सांसदको काम के ? सरकारले गरेको अनियमितता र भ्रष्टाचारको समर्थन हो ? किमार्थ होइन । सबै भ्रष्टहरू मिलेर आलोपालो शासन गर्ने र एकले अर्काको भ्रष्टाचारको विरोध नगर्ने सहमतिले अब दण्डहीनता र भ्रष्टाचार घट्छ कि बढ्छ ? संविधानमा सार्वभौम लेखिएको सदनमा विचारसम्म राख्न सांसदहरू स्वतन्त्र छैनन् भने ती सांसदहरू जम्मा गरेर सदनको नाटक प्रहसनको के अर्थ ?

शक्ति पृथकीकरणको सिद्धान्तबाट चल्ने सरकारी संयन्त्रहरूलाई मात्रै तीनजना नेताहरूको सहमतिले र स्वार्थले चल्ने हो भने प्रजातान्त्रिक शासनको गहनाका रूपमा रहेको सदनको हुर्मत लिनेहरू कसरी प्रजातन्त्रवादी भए ? तीनजनाको निर्णय सबैले मान्नुपर्ने शासन व्यवस्था कसरी प्रजातान्त्रिक व्यवस्था भयो ? यदि तीनजनाको मनोमानी निर्णयले देशको शासन व्यवस्था सञ्चालन हुने हो भने न्यायालय र संवैधानिक अंगको नाटकलाई बन्द गर्दा के हुन्छ ? सर्वोच्च अदालतले तालुक अदालतहरूले गरेको फैसलालाई सदर गरेको फैसलाको पूर्ण पाठ पनि नआउँदै २० वर्षे कैदको म्यादलाई पाँच वर्षमै मिनाह गर्न नेपालको कानुनको कुन दफाले दिएको छ ?

नेताहरूमा विकसित दम्भ, अहंकार र भ्रष्टाचार आदिले उनीहरू निर्धक्क हिँड्न सक्दैनन् । जनताको प्रतिनिधि हुँ भन्नेहरू निर्धक्क जनतासँग जान किन सक्दैनन् ? तर, यिनीहरूले अयोग्य भनेर जबर्जस्ती मिल्काइएका ज्ञानेन्द्र शाह लाखौं जनताका माझ निर्धक्क पुग्छन् ।

कैद निर्धारण भएको कूल अवधिको पचास प्रतिशत कैद भुक्तान गर्ने र सो अवधिमा राम्रो चालचलन भएको व्यक्तिलाई मात्रै सरकारको सिफारिशमा राष्ट्रपतिले कैद माफ गर्ने प्राबधानको बाबुजुद सत्ताको आयु लम्ब्याउने एकमात्र ध्येयले भएको रेशम चौधरीको कैदलाई माफ गर्दा सर्वोच्च अदालत र कानुनी शासनको औचित्यमाथि नै सरकार आफैंले अविश्वास सिर्जना गर्ने निर्णयले भविष्यमा समेत सधैं आलोचित हुने घटना प्रजातान्त्रिक पद्धतिका लागि नै दुर्भाग्यपूर्ण निर्णय भन्नुपर्छ । जे पनि गर्न सक्ने ? जे निर्णय गरे पनि नेपालीले मान्नुपर्ने ? के तीन जान नेताहरू संविधान र कानुनभन्दा माथि हुन् ? यिनीहरूमा यति धेरै दम्भ र अहंकार छ कि जुन पार्टीको नेतृत्व गरेका छन् त्यो पार्टीलाई उनीहरू हाम्रो पार्टी भन्नसम्म तयार हुँदैनन् । उनीहरू मेरो पार्टी र मेरा कार्यकर्ता भनेर सम्बोधन गर्दछन् । यस्तो दम्भ र अहंकारको भँुमरीमा पार्टीहरू छन् । यो दम्भ, अहंकारको स्रोत भनेको भ्रष्टाचार हो । भ्रष्टाचारबाट जम्मा गरेको अवैध सम्पत्ति हो । हिजो तिनै नेताहरू सादगी थिए ।

उनीहरूमा विनम्रता, विनयशीलता र जनताका समस्यालाई विश्लेषण, व्याख्या गर्ने क्षमता थियो । सबै सकारात्मक गुण र क्षमतालाई नष्ट गर्ने वस्तु अरू केही होइन भ्रष्टाचार हो । नेपालका गिनेचुने तस्कर र धनाढ्यसँग सुमधुर सम्बन्ध बनाएका कारण अहिले नेतृत्व गर्ने ठूला पार्टीका नेता जनतासँग धेरै टाढिएका छन् । त्यसको कारण उनीहरूमा विकसित दम्भ, अहंकार र भ्रष्टाचार आदि हुन् । जनताको प्रतिनिधि हुँ भन्नेहरू निर्धक्क जनतासँग जान किन सक्दैनन् ? तर, यिनीहरूले अयोग्य भनेर जबर्जस्ती मिल्काइएका ज्ञानेन्द्र शाह लाखौं जनताका माझ निर्धक्क पुग्छन् ।

नेताहरूले लोकप्रियता किन गुमाए ? कुशासन, भ्रष्टाचार गरेर जम्मा गरेको धन र त्यसले उत्पादन गरेको दम्भ र अहंकार नै मुख्य कारण हुन् । यो तीतो सत्यलाई आत्मसात गरेर आफैंले आफ्नो सम्पत्ति छानबिन र कारबाहीको कठघरामा उभ्भिन के मुख्य पार्टीहरूका मुख्य नेताहरू तयार हुनसक्छन् ? यो प्रश्न यो स्तम्भकारको होइन नेपाली जनताको हो । नेताहरूले देश र जनतालाई सधैं ढाँटेका छन् । बाबुराम भट्टराईको भाषामा तिमीहरूलाई जडौरी दिने मानिस अझै केही जिउँदै पनि छन् । के तिनीहरूलाई अहिले सम्झने र भेट्ने मानसिकता तिमीहरूमा छ ?

भ्रष्टाचारको भरपर्दाे उपचार र देशको एकमात्र निकासको स्रोत जनता जाग्नु हो । श्रीलंकामा जनता जब जागे त्यहाँ राष्ट्रपति, प्रधानमन्त्री लगायतका जिम्मेवारहरू सबै भागे । त्यसैले हामीले यी भ्रष्ट, दम्भी, अहंकारी नेताहरूलाई शासनबाट विस्थापित गर्न जनता जाग्नुको विकल्प छैन । जनता सुते भने भ्रष्टहरू जाग्छन् । जनता जागे भने निश्चित छ भ्रष्टहरू भाग्छन् । म र मेरो पार्टीबाहेक सबै नालायक भन्नेहरूको चेत खुल्छ । भ्रष्टाचारले बन्द गरेको चेतना र विवेकको विर्को नै हाम्रो वास्तविक राजनीतिक समस्या हो । त्यसको एकमात्र समाधान स्वतःस्फूर्त राजनीतिक चेतनासहितको जनजागरण हो ।

Subscribe
Notify of
guest
6 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
कुलप्रसाद काे इराला ।
कुलप्रसाद काे इराला ।
2023-05-30 10:25 am

सर्वप्रथम मित्र देवीभक्त ढकाल सरलाई हृदयत: धन्यवाद छ ।नेपालकाे राजनीतिका क्षेत्रमा हुर्किएका यी लम्पट करीरवृक्ष जसमा कहिल्यै पनि पात पलाउँदैन।याे सधैं सिक्राकाे सिक्रै रहन्छ ।हाम्रा देशका दलका अगुवा र तिनकाे पिछालागुवा सबै कहिल्यै पात नपलाए जस्तै यिनकाे गिदी पनि मरुभूमितुल्य रहेकाे देखिन्छ ।पहिलाे तहका सबै र दाेस्राेे तहका छानेर विस्थापन नगर्ने हा भने याे देशका वासिन्दाले कहिल्यै पनि शान्तिकाे सासफ्न पाउने छैनन् ।अत: हामीजस्ताले अब नेपालका गाउँबाट यी लम्फु खुईल्याउने व्यवसथामा लाग्नुपर्छ ।

ganesh neupane
ganesh neupane
2023-05-30 1:03 pm

राम्रो छ।बधाई ।

Cholendra pandit
Cholendra pandit
2023-05-30 4:51 pm

कथित शीर्ष नेताहरूले मुलुक डुबाउने भए।ब्यबस्थापिका,कार्यपालिका र न्यायपालिकालाई कब्जामा लाई यिनीहरुले गरेका कुकर्मको यसै गरी भण्डाफोर गरौं।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?