प्रतिबन्धित ‘अनलाइन बेटिङ’मा चर्चित कलाकारको संलग्नता

आठजना पक्राउ, ‘वानएक्स बेट’मार्फत् लिन्थे दुईदेखि ४० लाख रकम

डिबी शर्मा
Read Time = 8 mins

काठमाडौं । प्रतिबन्धित अनलाइन बेटिङको प्रचार-प्रसारमा नेपालका चर्चित कलाकारहरूको संलग्नता देखिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले युट्युबमार्फत ‘वानएक्स बेट’को विज्ञापन र प्रचारप्रसार गर्ने गरेको पाइएको हो । अवैध ‘वानएक्स बेट’मार्फत अनलाइन जुवा खेलाउने कार्यमा संलग्न भएको आरोपमा चर्चित कालाकारसहित केही युट्युबरलाई समेत प्रहरीले पक्राउ गरेको छ । कार्यालयको टोलीले बिहीबार बल्छी ध्रुवेवे भनेर चिनिने हास्यकलाकार मरिचमान श्रेष्ठ र राजु मास्टर भनेर चिनिने राजु पौडेललगायत कलाकारलाई पक्राउ गरेको हो । उनीहरूलाई काठमाडौंको विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बल्छी र राजु मास्टरसहित पवन खतिवडा (म्याकुरी), एलिस राई, जलन घर्ती मगर, गणेश देवकोटा, सरोज घिमिरे (ढेडु बुढो) र बेगम नेपाली (भटभटे माइला) रहेका छन् । अनलाइन सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

उनीहरूले विभिन्न खेलहरू खेलाउन आफ्नो युट्युब च्यानलमार्फत वान एक्स बेटलाई प्रचारप्रसारमा सहयोग पुग्ने गरी प्रोमो कोडसमेत दिई विज्ञापन गर्ने गरेका थिए । उनीहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार उनीहरूले वानएक्स बेटको प्रमोट गरेबापत दुई लाखदेखि ४० लाख रुपैयाँसम्म लिएको देखिएको छ ।

यसअघि बुधबार मात्र यसै प्रकरणमा अनलाइनमार्फत जुवा खेलाउने गिरोहका पाँचजना पक्राउ परेका थिए । अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वानएक्स बेट’मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने र क्रिप्टोकरेन्सीको कारोबार गर्ने पाँच जनालाई प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरी सार्वजनिक गरेको थियो । कार्यालयले बुधबार ७४ करोड १३ लाख ५० हजार रुपैयाँ बराबर कारोबार गरेको देखिएको आरोपमा कैलालीको लम्कीचुहा नगरपालिका-१० का २९ वर्षीय दिनेश खड्कासहित पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

यस्तै, दिनेशकी श्रीमती काभ्रेको पाँचखाल नगरपालिका-४ की २८ वर्षीया अनिता धिताल, भक्तपुरको मध्यपुर ठिमी नगरपालिका– ४ का २७ वर्षीय दीपेश श्रेष्ठ, कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ का दिनेश चन्द र २४ वर्षीय आशिष लामिछानेलाई पक्राउ गरी सार्वजनिक गरिएको थियो । उनीहरूमध्ये एकै व्यक्तिले विभिन्न व्यक्तिका कागजात प्रयोग गरी ६३ वटा खाता खोलेर ७४ करोडको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट ३७ लाख रुपैयाँ नगदसमेत बरामद गरेको थियो ।

एक वर्षसम्म हुनसक्छ कैद
नेपालका सबैजसो युट्युब च्यानलका सञ्चालक आफ्ना हरेक भिडियोमा डिस्क्रिप्सनमा दिएको लिंकमा गएर ‘यो प्रोमो कोड प्रयोग गरी यति प्रतिशतसम्म बोनस पाउनुहोस्’ भन्दै अनलाइन जुवालाई प्रोत्साहन गरिरहेका हुन्छन् । नेपालमा सबैखाले जुवा र सट्टेबाजी प्रतिबन्धित विषयमा पर्छन् । यस्तो खेल खेल्न खेलाउन र प्रोत्साहन गर्न कानुनी रूपमा बन्देज लगाइएको छ । नेपाल सरकारले मंसिर १३ गते अनलाइन सट्टेबाजी गराउने सबैखाले एपलाई नेपालमा प्रतिबन्ध लगाएको थियो ।

नेपालको मुलुकी अपराधसंहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ । धारा १२५ को (२) को उपदफा (१) को (क)मा पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र उपदफा (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

यसैबीच, अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा पक्राउ परेका आठै जनालाई प्रहरीले मुद्दा चलाएको छ । बिहीबार प्रहरीले उनीहरूलाई सरकारी वकिलको कार्यालयमा म्याद थपका लागि उपस्थित गराएको थियो । काठमाडौं जिल्ला अदालतले उनीहरूलाई तीन दिन हिरासतमा राख्न आदेश दिएको छ । पक्राउ परेकाहरूलाई जुवा ऐन र राष्ट्र बैंक ऐनअनुसार कारबाहीका लागि प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले भन्नुभयो, ‘हामीले आठ जनालाई पक्राउ गरी सार्वजनिक गरेका छौँ । वान एक्सबेट विभिन्न माध्यमबाट, विभिन्न मिडियाबाट वान एक्सबेटलाई प्रमोसन गर्ने र त्यसको प्रोमो कोर्ड पनि राख्ने । पक्राउ गरेर हामीले अनुसन्धानको प्रक्रियामा नै लिएर गएका छौँ । पक्राउ परेका व्यक्तिले वान एक्सबेटलाई प्रमोसन गर्ने र प्रमोसन गरेबापत निश्चित कमिसन प्राप्त गरेको देखिएको छ । यसमा पपुलर टेलिसिरियल सञ्चालन गर्ने र धेरै सस्क्राइब युट्युबमा भएकाहरू छन् । हाम्रोमा यो गैरकानुनी हो । जुवा ऐन र राष्ट्र बैंक ऐन आकर्षित हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?