विवादै विवादमा विमला : मुख्यमन्त्रीको आग्रहपछि वलीलाई बुटवल सारियो

Read Time = 11 mins

-विवेक खड्का
दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई बुटवल सारिएको छ ।
तुलसीपुर ईप्रकाको गेटमा राज्यमन्त्री विमलाविरूद्ध नाराबाजी र प्रदर्शन हुन थालेपछि माहोल बिग्रन सक्ने ठानेर प्रहरीले दिउँसो राज्यमन्त्री विमलालाई जिल्ला प्रहरी कार्यालय घोराही पु¥याएको थियो । परिस्थिति सबै सहज भएको र मुख्यमन्त्रीले पनि बुटवल पठाइदिन आग्रह गरेको हुँदा पठाइएको प्रहरीले बताएको छ । राज्यमन्त्री विमलाले यो हर्कत गर्नु पछाडिको कारण के थियो ? भन्ने बारेमा स्पष्ट जवाफ प्रहरी प्रशासनले पनि दिन सकेको छैन ।

विवादै विवादमा विमला

राज्यमन्त्री विमला यो घटनामा मात्रै हैन, समग्रमा उहाँको प्रदेशसभा यात्रा नै बिवादमुक्त बन्न सकेन । फलतः उहाँको राजनीतिक यात्रालाई नै ‘हल्का’ टिप्पणी गर्ने वातावरण उहाँकै कारण सृजना भयो ।

लुम्बिनी प्रदेशसभा सदस्य श्रीमान उत्तरकुमार वलीको जीप दुर्घटनामा परि निधन भएपछि तत्कालीन नेकपाले उत्तरकुमारकी पत्नी बिमलालाई प्रदेशसभा उम्मेदवार बनाएर वली परिवार प्रति सहानुभूती जगायो । तत्कालीन प्रदेशसभाको उपनिर्वाचनमा कांग्रेसलाई पराजित गरेर प्रदेशसभा भित्रिएकी बिमलाको यो राजनीतिक यात्राको सुरुवाती महत्वपूर्ण ‘ईनिङ’ थियो । किनकी उहाँ यसअघिसम्म सकृय राजनीतिमा हुनुभएको थिएन न त राजनीतिक ‘चेत’ नै थियो ।

प्रदेशसभामा उहाँको प्रतिनिधित्वले उहाँको राजनीतिक यात्राको महत्वपूर्ण मार्ग कोरिरहेको भएपनि उहँको यात्रा तत्कालीन नेकपा खारेजी पश्चात ढुलमुलाउन थाल्यो। अनि संसदमा चल्ने अंकगणितको हिसावमा बिमला जोड र घटाउका प्रमुख ‘चिन्ह’ बन्न थाल्नुभयो । अनि ‘बिमला बेपत्ता’ काण्डहरु एक पछि अर्को गर्दै जन्मिए ।

दाङ क्षेत्र नम्बर ३ (ख) को उपनिर्वाचनबाट निर्वाचित बिमला २०७८ वैशाख १९ मा पहिलो पटक बेपत्ता भएको खबर बाहिरियो । नेकपा खारेज भई एमाले र माओवादी केन्द्र अलग भैसकेको अवस्थामा सत्तारुढ एमालेले उनलाई बिपक्षी गठबन्धनले बेपत्ता पारेको आरोप लगायो। नेकपा खारेजी पश्चात दल रोज्ने अधिकार पाएकी बिमला माओवादी रोज्ने तयारीमा हुनुभयो । उहाँ बेपत्ता भएको खबर बाहिरिएको केहीबेरपछि उहाँले पत्रकार सम्मेलनै गरेर भन्नुभयो ‘म बेपत्ता भएको छैन, म यहीँ छु।’

त्यो पत्रकार सम्मेलन मार्फत नै उहाँले आफूले नेकपा माओवादी केन्द्र रोजेको स्पष्ट समेत पार्नुभयो । तर एमालेले भने त्यो बेला माओवादीले नै बिमलालाई कब्जामा लिएर बलजफ्ती पार्टी प्रवेश गराएको भनेर आरोप लगायो ।

सत्तारुढ एमालेको नजरमा बेपत्ता बनेकी उनै सांसद बिमला तीन महिना पश्चात २०७८ साउनमा फेरि बेपत्ता बन्नु हुनुभयो । वैशाख १९ मा उहाँले रोजेकै दल नेकपा माओवादी केन्द्रसंग उहाँको सम्पर्क टुटेपछि माओवादी केन्द्रले उहाँलाई बेपत्ता भएको धारणा सार्वजनिक गर्यो ।

केही समयपछि सम्पर्कमा आएकी उहाँले त्यो बेला आफू बिरामी भएर उपचारका लागि नेपालगन्जमा रहेको र बेपत्ता नभएको बताउनुभएको थियो । माओवादी केन्द्रले भने सांसद बिमला बेपत्ता भएको मात्रै बताएन, सत्तारुढ एमालेले नै उहाँलाई बेपत्ता पारेको दाबी गरेको थियो । त्यो बेला शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार फेरबदलको कसरत चलिरहेको थियो ।

सरकार फेरबदलका लागि बिमलाको मत नै निर्णायक थियो। यही योजना मुताबिक सांसद बिमलालाई एमालेले आफ्नो पक्षमा पार्ने रणनीति बनाएको आरोप माओवादी केन्द्रको थियो। उहाँ बेपत्ता भएको भनिएकै बेला बिमलाकै नाममा आफू एमालेमा रहेको बिज्ञप्ति सार्वजनिक भैसकेको थियो ।

एमालेको अपहरणमा परेको र आफू माओवादीमै रहेको भनेर स्पष्टिकरण दिनुभएकी बिमलाको मतको जोडबलमा तत्कालीन शंकर पोखरेल नेतृत्वको सरकार विस्तापति हुन पुग्योे । अनि त्यही योगदानकै प्रतिफल माओवादी नेतृत्वको वर्तमान प्रदेश सरकारले विमलालाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेको थियो । पटक पटक बेपत्ता पारिएको, बन्धक बनाइएको भनेर बिवादित बनेकी सांसद बिमला राज्यमन्त्री बनेपछि महिला तथा बालिका कुटपिटको अर्को जघन्य मुद्दामा मुछिनुभएको छ ।

राज्यमन्त्री विमला विरुद्ध मीनाको उजुरी

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीबिरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको छ । विमलाले घरको बेडरुममै गएर आफू र छोरीलाई कुटपीट गरेको भन्दै मिना भण्डारी बस्नेतले इप्रका तुलसीपुरमा किटानी जाहेरी दिनुभएको छ । ईप्रका तुलसीपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक रञ्जन स्वाँरले स्वास्थ्य राज्यमन्त्रीबिरुद्ध किटानी जाहेरी आएको पुष्टि गर्नुभएको छ । रााज्यमन्त्रीविरुद्ध किटानी जाहेरी हामीकहाँ आएको छ’, स्वाँरले भन्नुभयो, ‘जिल्लाको आदेशअनुसार किटानी जाहेरी जिप्रका पठाउँदैछौँ ।’ ‘राज्यमन्त्रीज्यूविरुद्धको जाहेरी जिप्रकामा दर्ता गर्छौ,’ एसपी काफ्ले भन्नुभयो,

के छ जाहेरीमा ?

मीनाले विमलाविरुद्ध अभद्र व्यवहारमा जाहेरी दिनुभएको छ । विमला बिहान ८ः४५ बजे आफ्नो घरमा आएर ढोकामा हानेपछि आफूले गेट खोलिदिएको जाहीरीमा छ । त्यसपछि घरभित्र पसेर एकराजको खोजी गरेपछि आफूले मेरो श्रीमान घर हुनुहुन्न भन्दा विमलाले ‘तेरो श्रीमान होइन मेरो श्रीमान हो, तुरुन्तै निकाल’ भन्दै आफूमाथि हमला गरेको मीनाले प्रहरीमा दिएको जाहेरीमा छ । त्यस क्रममा आफ्नो कपाल लछेर लडाई लात्ती र मुड्कीले हानेको जाहेरीमा छ । छुट्याउन आउँदा ६ वर्षकी छोरीलाई समेत हातपात गरेको उल्लेख छ ।

राज्यमन्त्री वलीले तुलसीपुर– ५ स्थित एकराज बस्नेतको घर भित्र पसेर मंगलबार बिहान मिना भण्डारी र उहाँकी अढाई बर्षीया छोरीमाथि कुटपिट गरेको आरोप लागे पछि वलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि अनाहकमा अर्काको घरमा पसेर महिला तथा बालबालिकामाथि कुटपिट गर्ने राज्य मन्त्रीलाई कारबाहीको माग गर्दै स्थानीय महिलाहरुले इप्रका अगाडि नाराबाजी र प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा उत्रिएका महिलाहरुले राज्यमन्त्री वली मुर्दाबाद, दोषी राज्यमन्त्री वलीलाई कारबाही गर भन्ने जस्ता नाराबाजी गरेका थिए ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले घटनाको अनुसन्धान भइरहेकाले थप कुरा अनुसन्धानपछि मात्रै खुल्ने बताउनुभयो । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ परेको विषयमा अध्ययन गर्ने बताउनुभएको छ ।

नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तर कुमार वलीको दुर्घटनामा मृत्युपछि तत्कालीन नेकपाबाट श्रीमती विमला वली सांसद निर्वाचित हुनुभएको थियो । नेकपा विभाजनपछि उहाँ एमाले संसदीय दलको बैठकमा सहभागी भए पनि सरकार परिवर्तनका बेला माओवादीतिर लागेकी लाग्नुभएको थियो । एमालेले उहाँलाई कारवाही गरी प्रदेशसभा सदस्यबाट निस्कासनको सूचना सभामुखलाई दिए पनि उहाँलाई कारवाही नभए पछी अहिले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?