शिवरात्रिको महिमा र व्रतको प्रभाव

Read Time = 23 mins

-तोयराज नेपाल

काठमाडौं । शिवरात्रिको व्रत ‘निशीथव्यापी’ अर्थात् जुन दिन मध्यरातमा फाल्गुन कृष्ण चतुर्दशी तिथि पर्छ, त्यसै दिन गनुपर्दछ । अर्धरात्रियुता यत्र माघकृष्णचतुर्दशी । शिवरात्रिव्रतं तत्र सोक्श्वमेधफलं लभेत् ।। यहाँ अमान्त मानले माघकृष्ण भन्नाले पूर्णान्त मानले फाल्गुन कृष्ण चतुर्दशीलाई लिनुपर्दछ । शिवरात्रिको व्रत गर्दा अश्वमेध यज्ञ गरेसरह फल प्राप्त हुन्छ भनिएको छ । यदि यो व्रत आइतबार र मंगलबार प¥यो भने अझ उत्तम मानिएको छ । यस विषयमा पार्वतीले शिवजीलाई सोध्नुभएको र त्यसको उत्तरमा शिवजीले पार्वतीलाई व्रतको महात्म्य बताउनुभएको छ । नैमिषारण्य क्षेत्रमा सूतजीले शौनकादि ८८००० ऋषिहरूलाई बताउनुभएको कथा यस प्रकार छ :
दानैर्यज्ञैस्तपोभिश्च व्रतैश्च विविधैरपि ।
न तीर्थैर्यद्भवेत्पुण्यं तत्पुण्यं शिवरात्रितः।। (नारदसंहिता)
शिवरात्रिसमं नास्ति व्रतानामुत्तमं व्रतम् ।
अज्ञानात् ज्ञानतो वापि कृत्वा मोक्षमवाप्नुयात् ।।
मृतास्ते नरकं त्यक्त्वा गतास्ते शिवमन्दिरम् ।। (लिंगपुराण)
अर्थात् दान, यज्ञ, तपस्या र अरू विभिन्न व्रतबाट जुन पुण्य प्राप्त हुँदैन, त्यो पुण्य शिवरात्रिको व्रतबाट प्राप्त हुन्छ । ज्ञानपूर्वक वा अज्ञानवश नै भए पनि यो व्रत गरिन्छ भने ती प्राणीहरू मोक्ष भई शिवलोकमा प्राप्त हुन्छन् ।

यस विषयमा एउटा उपाख्यान यस्तो छ :
अघि कुनै समयमा पहाडका फेदीमा बस्ने एउटा व्याधा थियो । त्यो व्याधा सधैं पशु–पंक्षीहरूको हिंसागरी पशुपक्षी मारेर परिवार पाल्दथ्यो । त्यो व्याधा एकपटक शिवरात्रिका दिन बिहानै उठेर सिकार खेल्न भनी निस्कियो । शिवरात्रि भन्ने उसलाई थाहै थिएन । जंगलमा सिकार खोज्दा कुनै सिकार भेटेन । शीतले भिजेर स्नानगरेझैँ भयो, केही खानेकुरा न भेटेर उपवास भयो, यताउती डुल्दा र केही सिकार नभेट्दा हैरान भएर खुøय गर्दै हरे शिव !! हरे शिव !! भनेको हुँदा शिवजीको नामकीर्तन भयो, जंगलका माझमा शिव लिंग थियो । शिकारको खोजीमा त्यो शिवलिंगका वरिपरि घुम्दा प्रदक्षिणा भयो । त्यत्तिकैमा उसका साहुहरूले भेटेर पैसा माग्दा दिन नसकेपछि शिव मन्दिरमा लगेर थुने । भोक र थकाइले गर्दा बारम्बार शिव ! शिव ! भन्दा शिवजीको बारम्बार कीर्तन भयो ।

त्यस मन्दिरमा शिवरात्रिका व्रतीहरूले गरेको शिवको पूजा आराधना पनि देख्यो र भक्तहरूले गाएको– ॐ नमः शिवाय ! यो पञ्चाक्षर मन्त्र र अरू शिवजीका स्तोत्र र कथाहरू पनि सुन्यो । शिवका भक्तहरूको दर्शन भयो । साँझमा शिव मन्दिरमा भक्तहरूले गरेको आरती पनि देख्यो । साँझ परेपछि भोलि पैसातिर्ने सर्तमा साहुहरूले छोडिदिए । अनि त्यो व्याधा सिकारको खोजीमा जंगलमा खुबसँग घुम्यो । कतै सिकार नपाएर रित्तै घर जाउँ भने परिवार भोकै छन्, आशा गर्छन् । यहाँ तलाउ रहेछ, यो तलाउमा पानी खान पक्का पनि मृगहरू आउँछन, त्यसकारण यसैका छेउमा छाप्रो हालेर लुकेर बस्छु भनी झाडीमा जान बाटो बानाउँदा र कुटिया बनाउँदा बेलुका सेउला भाँचेर केही सेउला र पात फाल्यो । झाडीमा बीचमा शिवलिंग रहेछ, त्यसका टाउकामा बेलपाती प¥यो, त्यसैले शिवरात्रिका राति शिवजीमा बेलपाती चढ्न पुग्यो ।

भोक र चिन्ताले हरे शिव ! हरे शिव !! भनेर बारम्बार भन्दै गर्दा त्यत्तिकैमा रातको पहिलो प्रहर बित्यो । अनि एउटी सुन्दरी गर्भिणी मृगी पानी खान त्यस तलाउमा आई । व्याधाले बाण हान्न लागेपछि बेलका पातले छेकेको हुँदा ती पात टिपेर दाहिनेतिर फाल्दा शिवलिंगका टाउकामा परे । रातका दोस्रा प्रहरमा पनि शिवलिंगमा बेलपाती चढ्न पुग्यो । फागुनको दिन भएको हुँदा शीत परेर स्नान भइराखैकै थियो । जब मृगीलाई बाण हान्न लाग्यो त्यो मृगीले मान्छेको जस्तो आवाज बोलेर भनी ए व्याधा किनमलाई मार्छौं ? त्यसोभन्दा व्याधा आश्चर्यचकित भएर सोध्यो (हे मृगी तिमी को हौ ? कसरी मान्छेको बोली बोल्छेउ ? भन्यो, अनि मृगीले भनी (म स्वर्गकी अप्सरा थिएँ । मेरो नाच मनपराएर शिवजी सधैं हेर्नुहुन्थ्यो ।

शीतद्वारा स्नान, केही खाने कुरा नपाएर उपवास, मृगको खोजीमा दौडँदा प्रदक्षिणा, साहुले मन्दिरमा थुनेका हुँदा शिवलिंगको दर्शन, शिवको पूजा गर्न आएका भक्तहरूको दर्शन, ती भक्तहरूले भनेका कथा सुनिएका हुँदा कथाश्रवण, झाडी पन्साउँदा शिवमा विल्वपत्रार्पण, भोक, निद्रा, चिन्ता र थकाइले शिव ! शिव ! भन्दा शिवको भजन, कीर्तन हुँदा व्याधाका हृदयमा सद्बुद्धि पलायो ।

मेरा पति हिरण्याक्ष दैत्य थिए । एक दिन पतिसँग क्रीडा गर्दा नाचमा जान ढिला भएछ । शिवजीले रिसाएर किन ढिलो गरेकीभन्दा श्रापका डरले मैले साँच्चो भने । तँ बढी कामासक्त रहिछस्, तँ र तेरो पति मृग र मृगी भएर वनमा विहार गर्नेछौं, व्याधाले मार्न खोज्दा पूर्वजन्मको स्मरण भई शिवलिंगको दर्शन गरेर मोक्ष हुनेछौं भनी श्राप दिनुभएको थियो । म दुब्ली र गर्भिणी पनि छु मलाई नमार, पछि अर्की बल्ली मृगिणी आउँछे, त्यसलाई मार्यौं भने परिवारलाई आहार पुग्छ । अथवा म नै घरगई बच्चा जन्माएर घरमा अह्राइवरी आउनेछु, अनि मलाई मारौला भनी । त्यसो भए भोलि आउनेमा सत्यप्रतिज्ञा गरेर जा, भनेर व्याधाले भन्यो । अनि मृगी भन्छे ! ब्राहृमण भएर जो वेद पढ्दैन, स्नान सन्ध्यादि गर्दैन, यज्ञ गराउन नहुनेलाई यज्ञ गराउँछ, नास्तिक छ, वेदको बिक्री गछ, एघारौंको दिनको शैøया लिन्छ, जो बत्तीमा बत्ती सल्काउँछ, गोहत्या ब्रहृमहत्या, नारी हत्या र गुरु हत्या गर्दछ त्यस्तालाई जुन पाप लाग्छ सो पाप मलाई लागोस् । कृतघ्नलाई, कदरेलाई सम्पत्ति भएर पनि परिवार तथा आफूलाई नख्वाउने र नखानेलाई कदरे भनिन्छ । त्यस्तालाई लाग्ने पाप, कथाभन्दा विघ्न गर्ने, कन्याबिक्री गर्ने, पत्नी र छोराछोरीलाई नदिई एक्लै मीठो खानेलाई जुन पाप लाग्छ, यदि भोलि म नआएमा त्यो पाप मलाई लागोस् । भनेपछि व्याधाले मृगीलाई छाड्यो । फेरि वेलपाती टिपेर फाल्दा शिवका शिरमा परेर दोस्रो प्रहरको पूजा पनि भयो ।

त्यसपछि कामले पीडित भएर पति खोज्दै अर्की मृगी आई । त्यसलाई मार्न खोज्दा त्यो पनि पहिलेकी मृगीझैँ बोली (हे व्याधा मेरी बहिनी आएकी थिई ? सत्य भन् । फेरि विरहले मेरो बल तेज सबै समाप्त भएको छ, मलाई मारेर तिम्रा परिवारको जीविका पुग्दैन, मलाई नमार । बरू पछि बलियो मृग आउनेछ त्यसलाई मारेमा छाक टर्छ, भनी । अनि व्याधाले हो आएकी थिई, बिहान आउँछु भनेर सत्यप्रतिज्ञा गरेर गई भन्यो । अनि त्यस मृगीले पनि सत्यप्रतिज्ञा गरी, तलाउ कुवा आदि नाश गर्ने, बाटामा अवरोध गर्ने, क्षत्रीय भएर लडाइँबाट भग्ने आदिलाई जुन पाप लाग्छ म भोलि नआाएमा त्यो पाप मलाई पनि लागोस्, भनेपछि त्यसलाई पनि छोडिदियो । फेरि बेलका पात टिपेर फ्याँक्दा शिवका शिरमा प¥यो र तेस्रो प्रहरको पूजा पनि भयो । त्यसपछि भोक र थकाइले हरे शिव ! हरे शिव !! भन्दै मृगको बाटो हेरिरहेका बेला एउटा ठूलो, मोटो र बलियो मृग आयो । त्यसलाई मार्न खोज्दा त्यसले पनि मान्छेकै जस्तो आवाज बोलेर मेरी प्राण समानकी पत्नी पनि यसले मार्यो ।

हा...कष्टम् भार्यया न समं सौख्यं गृहेक् पि च वनेक्पि च । वृक्षमूलेक्पि दयिता यत्र तिष्ठति तद्गृहम् ।
प्रासादोक् पि तया हीनः कान्तारादतिरिच्यते ।
यस्य भार्य गृहे नास्ति साध्वी च प्रियवादिनी ।
अरण्यं तेन गन्तव्यं यथारण्यं तथा गृहम् ।
पत्नी विना बाँच्नु धिक्कार छ । पत्नी विनाको घर जंगल समान हो । धर्म, अर्थ काम र मोक्षकी सहयोगिनी पत्नी नै हो । हे व्याधा साँचो भन । यहाँ दुईवटी मृगी आएका थिए ? ती कता गए ? व्याधाले भन्यो.. हो आएका थिए । भोलि आउँछौं भनेर सत्य प्रतिज्ञा गरेर गए । अनि मृगले भन्यो हे ! व्याधा अहिले मलाई नमार । मेरी पत्नी ऋतुमती छ, त्यसाई ऋतुदान दिएर घरमा अराइपराइ गरेर उँछु, भन्दा कस्तो प्रतिज्ञा गर्छौ भनी व्याधाले सोद्धा मृगले भन्यो, श्रीमानलाई ठग्ने, मालिकलाई ठग्ने, मित्रलाई ठग्ने, गुरुद्रोह गर्ने, एउटै पंतिमा बसेकालाई पंतिभेद गर्ने, अर्काको निन्दा गर्ने, परस्त्रीमा आसक्त, वेदशास्त्रको निन्दा गर्ने, विष्णु, शिव, देवी, सूर्य र गणेशलाई छाडेर अरूको पूजा गर्ने, यी पाँचमा भेद गर्ने–आमा बुबालाई हेला गर्ने, कन्याबिक्री गर्ने, आदिलाई जुन पाप लाग्छ, त भोलि नआएमा त्यो पाप मलाई लागोस् भनेपछि व्याधाले छोडिदयो । फेरि शिव ! शिव ! भन्दै बेलका पात टिपेर फाल्दा शिवका शिरमा परेर चौथो प्रहरको पूजा भयो । त्यसपछि सूर्योदय भयो र अर्की मृगी बच्चाहरू लिएर आई । त्यसलाई मार्न खोज्दा बच्चायुक्त मृगीलाई मार्न हुँदैन भनी ।

मेरा जहान बच्चा भोकै छन्, त्यसकारण तँलाई मार्छुभन्दा त्यो मृगी पनि सत्य प्रतिज्ञा गर्छे, झूटो बोल्ने, झूटो साक्षी बक्ने, दान गर्न लाग्दा रोक्ने, परस्त्री र परपुरुषसँग गमन गर्नेलाई जुन पाप लाग्छ, म नआए त्यो पाप मलाई लागोस् भनेर त्यो मृगी पनि गई । त्यसपछि व्याधा पनि भोक, निद्रा, चिन्ता र थकाइले निराश भएर हरे शिव ! भन्दै घरतिर लाग्यो । शीतद्वारा स्नान, केही खाने कुरा नपाएर उपवास, मृगको खोजीमा दौडँदा प्रदक्षिणा, साहुले मन्दिरमा थुनेका हुँदा शिवलिंगको दर्शन, शिवको पूजा गर्न आएका भक्तहरूको दर्शन, ती भक्तहरूले भनेका कथा सुनिएका हुँदा कथाश्रवण, झाडी पन्साउँदा शिवमा विल्वपत्रार्पण, भोक, निद्रा, चिन्ता र थकाइले शिव ! शिव ! भन्दा शिवको भजन, कीर्तन हुँदा व्याधाका हृदयमा सद्बुद्धि पलाएर हा...कष्ट प्राणी हत्या गर्ने मेरो कुन गति होला ! भन्दै आफ्ना दुष्कर्मप्रति पश्चात्तापसमेत गरेरको हुँदा अज्ञानवश भएका शिवरात्रिका व्रतका प्रभावले त्यसका सबै पापराशी भष्म भए ।

अनि घर गएर मृग नमार्ने विचार गरी बस्यो । यता मृग र मृगीहरू सबै भेला भए । अनि मृगले मैले व्याधालाई आउँछु भनेर सत्य प्रतिज्ञा गरी आएको छु, म मर्न जान्छु, तिमीहरू राम्रोसँग बसभन्दा मृगीहरूले पनि हामीले पनि सत्य प्रतिज्ञा गरिआएका छौं, हामी पनि जान्छौं । किन कि सत्यभन्दा ठूलो धर्म अर्को केही छैन । भनिएको पनि छ– अश्वमेधसहस्त्रं च सत्यं च तुलया धृतम् । अश्वमेधसहस्राद्धि सत्यमेव विशिष्यते ।। अर्थात् अघि हजार अश्वमेध यज्ञ एकातिर र सत्य अर्कातिर राखेर ब्रहृमाले जोख्ता सत्य नै गह्रौं भएको थियो । सत्यमा सबै धर्म अडेको छ । त्यसकारण सत्यको पालना गर्नुपर्छ । फेरि पतिविना स्त्रीले बाँच्नुको औचित्य पनि छैन । भनिएको छ :
मितं ददाति हि पिता मितं भ्राता मितं सुतः ।
अमितस्य च दातारं भर्तारं का न पूजयेत् ।।
नास्ति भर्तृसमो धर्मो नास्ति धर्मसमः सुहृत् ।
नास्ति भर्तृसमो नाथः स्रीणां भर्ता परा गतिः ।।

अर्थात् पतिभन्दा ठूलो धर्म अर्को छैन, धर्मभन्दा ठूलो मित्र कुनै छैन । नारीका लागि पतिभन्दा ठूलो नाथ र परं गति अर्को कुनै छैन । किनभने बुबाले खटाएर दिन्छन्, भाइले र छोराले समेत खटाएर दिन्छन् तर पतिले नखटाइकन सर्वस्व सुम्पिन्छन् । फेरि विधवा भएर बाँच्नु पनि मरण तुल्य नै हुन्छ । त्यसकारण हामी पनि हजुरका साथमा मर्न जान्छौ भने । अनि मृगलाई द्विविधा भयो, म मर्न जाउँ भने बच्चासमेत मृगीहरू पनि मर्ने भए, नजाउँ भने सत्य नाश हुन्छ । बरू छोरा, छोरी, पत्नीको र आफ्नो मरण श्रेष्ठ छ । तर सत्य छोडियो भने प्रलयपर्यन्त रौरवादि नरकमा पर्नुपर्छ । त्यसकारण मर्नु नै असल हो, भनी जाने निश्चय गरी सबै कर्म सन्यास गरी परिवारसमेत व्याधाका घरमा गयो र भन्यो ! हे व्याधा ! लौ हामीलाई मार ! भन्दा व्याधाले भन्यो ! हे मृग ! मैले सबै शस्त्र परित्याग गरेँ, अब म प्राणीको हत्या गर्दिन । पत्नी पुत्रादिको माया पनि छोडेँ । तिमी मेरा बन्धु, गुरु रक्षक, माता, पिता, मित्र सबै तिमी नै हौ ।

बेलपाती, धूप दीप नैवेद्य, फलफूल, ताम्बुल नीराजन प्रदक्षिणा आदि समस्त उपचारकासाथमा शिवपूजा, शिवप्रदक्षिणा, शिवलिंगको दर्शन, स्पर्शन, शिवनाम जप, कथाश्रवण रात्रिमा जागरण गरी उद्यापनसमेत गरेर ब्राहृमणभोजन गराई शिवरात्रिको व्रतपूर्ण गर्दा ता झन् कति धेरै फल मिल्ला भन्ने विषयमा के बताइरहनु पर्ला र ।

त्यस कारण सपरिवार तिमी घरमा गएर सुखपूर्वक बस भनी धनु भाँची मृगलाई प्रदक्षिणा गरेर क्षमा मग्यो । त्यसपछि आकाशमा दुन्दुभि बजे । पुष्पवृष्टि भयो र विमान लिएर देवदूत आए । देवदूतले भने ! हे व्याधा तिमीले जसतसले गर्न नसक्ने गरी शिवरात्रिको व्रत ग¥यौ । तिमी धन्य छौ । त्यस व्रतका प्रभावले यो विमानमा राखी रुद्रलोकमा लैजान म आएको हुँ । विमानमा बस भने । अनि मृगलाई भने, हे मृग तिमीहरू पनि यस विमानमा बस, किनकि मर्ने डरले र चिन्ताले भए पनि नखाई र नसुती शिरात्रिको व्रत ग¥यौ । फेरि सत्यको पालन गर्न मृत्युको डर छाडी तिमीहरू व्याधाका अगाडि मर्न उपस्थित भयौ । त्यस कारण तिमीहरू पनि रुद्रलोकमा जान विमानमा प्रवेश गर । तिम्रा नामले मृगशिरा नक्षत्र प्रसिद्ध हुनेछ भनी विमानमा राखी आकाश मार्गबाट लगे ।

आकाशमा अहिले पनि तीन तारे वा तीन आँख्ले नामका ताराहरू प्रसिद्ध छन् । व्याधा नामको तिनीहरूभन्दा अलिक ठूलो र चम्किलो तारो पनि आकारमा प्रसिद्ध छ । यसरी अज्ञानवश विना श्रद्धा विना भक्ति हुनगएका शिवरात्रिका व्रतको ता यस्तो ठूलो प्रभाव हुन्छ भने श्रद्धा एवं भक्तिसाथ स्नान, उपवास, चारै प्रहरमा विल्वपत्रार्पण गरी पाद्य अघ्र्य आचमनीय, पञ्चामृत, वस्त्र, यज्ञोपवीत, चन्दन, अक्षता, फूलपाती, बेलपाती, धूप दीप नैवेद्य, फलफूल, ताम्बुल नीराजन प्रदक्षिणा आदि समस्त उपचारकासाथमा शिवपूजा, शिवप्रदक्षिणा, शिवलिंगको दर्शन, स्पर्शन, शिवनाम जप, कथाश्रवण रात्रिमा जागरण गरी उद्यापनसमेत गरेर ब्राहृमणभोजन गराई शिवरात्रिको व्रतपूर्ण गर्दा ता झन् कति धेरै फल मिल्ला भन्ने विषयमा के बताइरहनु पर्ला र । अर्थात् अनन्तकालसम्म शिवलोकमा बास गरी अन्त्यमा मोक्ष पदवी प्राप्त गर्न सकिन्छ । त्यस कारण हामी पनि श्रद्धा एवं भक्तिपूर्वक शिवरात्रिको व्रत गरौं, हाम्रो पनि कल्याण हुन्छ ।

झवामांके च विभाति भूधरसुता देवापगा मस्तके ,भाले बालविधुर्गले च गरलं यस्योरसि व्यालराट् । सोक्यं भूतिविभूषणः सुरवरः सर्वाधिपः सर्वदा, शर्वः सर्वगतः शिवः शशिनिभः श्रीशंकरः पातु नः ।। जसका बायाँ काखमा पार्वतीमाता सुशोभित हुनुभएको छ, जसका शिरबाट गंगाजी बहनुभएको छ, जसका निधारमा भर्खर उदाएका चन्द्रमा विराजमान हुनुभएको छ, जसका गलामा कालकूट विषको नीलो चिहृन शोभायमान छ, जसका छातीमा सर्पराज वासुकि लड्किएर सुशोभित भइरहेका छन्, जसको गहना भन्नू नै विभूति छ, अर्थात् जसले गहनाका रूपमा शरीरभरि बिघुत घसेर पनि सुशोभित भइरहनुभएको छ, जो सम्पूर्ण देवतामा श्रेष्ठ हुनुहुन्छ र सबैका अधिपति हुनुहुन्छ, जो सर्वत्र व्याप्त भएर रहनुभएको छ, जसले चन्द्रमा तुल्य चहकिला भएर सबैतिर प्रकाश ज्योति दिइरहनुभएको छ, यस्ता भगवान् शंकरले हामी सबैको रक्षागरी सदासर्वदा कल्याण गरिरहून् ।

ॐ नमः शिवाय ।। ॐ हरये नमः

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?