आजदेखि एशियाली खेलकुदको महाकुम्भ

हिमालय टाइम्स
Read Time = 11 mins

काठमाडौं । चीनका हाङ्चाओ सहरमा शनिबारदेखि १९औं एशियाली खेलकुद प्रतियोगिता (एसियाड) सुरु हुँदैछ । प्रतियोगितामा एसियाली देशहरूका खेलाडी, व्यवस्थापक तथा पदाधिकारी गरी १२ हजार पाँच सयभन्दा बढीको सहभागिता रहनेछ । जसमा ४० खेल, ६१ वटा विधा र ४८१ प्रतिस्पर्धा हुनेछन् । एशियाली खेलकुद कुम्भ मेलाको उद्घाटन चीनका राष्ट्रपति सी चिनफिङले गर्नुहुनेछ ।

खेलाडीको मनोबल बढाउन तथा खेल कूटनीतिमा नेपालको भूमिका स्थापित गर्न चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ । प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिन सिरियालगायत कयौं मुलुकका राष्ट्रपति र सरकार प्रमुख र नेताहरू हाङ्चाओ शहर पुग्नुभएको छ ।

प्रतियोगितामा एशियाली मुलुकका कीर्तिमानधारी खेलाडीको ठूलो संख्यामा सहभागिता हुनेछ । भविष्यमा हृदयदेखि हृदयसम्म (हर्ट टु हर्ट एट फ्युचर) मूल नारा रहेको उक्त प्रतियोगिताका लागि हाङ्चाओ शहर हरेक तयारीका हिसाबले चुस्त, व्यवस्थित, सुन्दर, मनमोहक र झकिझकाउ तुल्याइएको छ । हाङ्चाओ ओलम्पिक खेलकुद केन्द्रमा चम्किलो लाइट शोसमेतको व्यवस्थापन गरिएको छ ।

एशियाली मुलुकका लागि प्रतियोगिता एक आकर्षक र प्रतिष्ठाको विषय बनेको छ । प्रतियोगिता हाङ्चाओका साथै नजिकका छिमेकी शहरमा समेत आयोजना हुनेछ । विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १२७ महिला र १२६ जना पुरुष गरी दुई सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

एसियाडमा नेपालबाट तेक्वान्दोमा ११, फुटबलमा २२, बास्केटबलमा चार, आर्चरीमा चार, एथलेटिक्समा आठ, ब्याडमिन्टनमा आठ, बक्सिङमा १३, ब्रेकिनमा एक, क्यानोइमा एक, क्रिकेटमा १५, साइक्लिङमा दुई र इ-स्पोर्टस्मा २३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
करातेमा आठ, गल्फमा छ, कुस्तीमा चार, हृयान्डबलमा १६, जुडोमा आठ, कपर्दीमा १२, रग्बीमा १२, सुटिङमा दुई, स्क्वासमा छ, पौडीमा चार, फेन्सिङमा छ, टेबल टेनिसमा छ, टेनिसमा छ, ट्रायथलनमा चार, भलिबलमा २४, भारत्तोलनमा पाँच तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ ।

एसियाडमा ठूलो संयामा नेपाली खेलाडी सहभागिता हुनलागेको पहिलो घटना हो । नेपालले कराँते र तेक्वान्दालगायत मार्सल आर्ट खेल विधामा विगतदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको छ । प्रतियोगितामा मुलुकका तीन सुरक्षा निकायका विभागीय टोलीबाट एक सय ६२ जना खेलाडी सहभागिता रहनेछ । नेपाली सेनाका ६३, सशस्त्र प्रहरी बलका ५३ र नेपाल प्रहरीका ४६ खेलाडीले विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्नुहुनेछ ।

प्रतियोगितामा भाग लिन केही खेलाडी प्रतियोगितास्थल पुगिसकेका छन् भने केही जाने क्रममा छन् । क्रिकेट होस् वा अरु कुनै पनि खेल विधामा पछिल्लो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ । एसियाडमा पदक लक्षित गरी नेपालले डेढ महिनादेखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको थियो ।

खेलकुदमात्र एउटा यस्तो विधा हो, शक्तिशाली राष्ट्रका अत्याधुनिक सुविधा सम्पन्न रंगशालामा आफ्नो देशको झण्डा फर्हयाउने र राष्ट्रिय धुन घन्काउने अवसर प्रदान गर्छ । खेल कूटनीतिमार्फत आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा हुने भएकाले खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार बनेको छ ।

सरकारले खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीको आत्म स्वाभिमान, प्रोत्साहन, पुरस्कारको व्यवस्थापन गरेको छ । वृत्ति विकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील छ । एशियाली खेलकुद प्रतियोगितामा सहभागी खेलाडीको बिदाइ कार्यक्रममा प्रधानमन्त्री दाहालले खेलाडीको मनोबल र वृत्ति विकासलाई सधैं प्राथमिकतामा राखिने विश्वास दिलाउनुभएको थियो ।

सदस्य-सचिव घिसिङ झण्डोत्तोलनमा सहभागी
राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव एवं १९औं एसियाली खेलकुदमा सहभागी नेपाली टोलीका चिफ दि मिसन टंकलाल घिसिङ हाङझावस्थित एथलिथ भिलेजमा आयोजित झण्डोत्तोलन कार्यक्रममा सहभागी हुनुभएको छ । सो अवसरमा एसियाडमा सहभागी नेपालसहित ४५ राष्ट्रका प्रतिनिधि, खेलाडीको उपस्थितिमा आ-आफ्नो राष्ट्रका राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको थियो । त्यसै अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव घिसिङ र आयोजकका प्रतिनिधिबीच मायाको चिनो आदान-प्रदान गरिएको थियो ।

भियतनामसँग हार
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १९औं एसियाली खेलकुदअन्तर्गत समूह ‘डी’को पहिलो खेलमा भिएतनामसँग हार व्यहोरेको छ । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने दुई गोल खाएसँगै दुई–शून्यको हार व्यहोरेको हो । भिएतनामका लागि ५३औं मिनेटमा फाम हाई एनले गोल गर्नुभयो । थी बीच थुइले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक एञ्जिलाले बचाए पनि रिबाउण्डमा उहाँ बिट हुनुभएको थियो ।

त्यसको १० मिनेटपछि थी बीच थुइले दोस्रो गोल गर्नुभयो । बायाँ विंगबाट आएको क्रसलाई उहाँले पेनाल्टी क्षेत्रभित्र डाइभमार्फत हेडरमा गोल गर्दै दोस्रो गोल गर्नुभयो । नेपालले अब सोमबार समूहको दोस्रो खेलमा जापानको सामना गर्नेछ । समूहको अन्तिम खेल बंगलादेशसँग विहीबार हुनेछ । हरेक समूहबाट शीर्ष टोली र उत्कृष्ट ३ उपविजेता अघि बढ्नेछन् ।

भिएतनामविरुद्ध नेपालबाट एन्जिला तुम्बापो सुब्बा, हिरा भुजेल, अमृता जैशी, गीता राना, विमला चौधरी, समिक्षा घिमिरे, पूजा राना, रेनुका नगरकोटे, सरु लिम्बू प्रीति राई, अनिता केसी, दीपा शाही रेखा पौडेल, अमिषा कार्की र सावित्रा भण्डारीले खेल्नुभएको थियो ।

टेबुलटेनिसमा हार
टेबल टेनिसको प्रारम्भिक चरणमा नेपालले पहिलो दिन महिला र पुरुष दुवैको टिम इभेन्टमा हार बेहोरेको छ । पुरुषतर्फ जापानसँग तीन-एकले हारे पनि १७ वर्षीय रुविन महर्जनले तोमोकाजु हारिमोटोविरुद्ध पहिलो सेट जित्दै नेपाललाई राम्रो सुरुवात दिलाउनुुभएको थियो । जापानविरुद्ध नेपालका कुनै पनि खेलाडीले सेट जितेको यो पहिलो अवसर पनि हो ।

पहिलो सेट ११-६ ले जित्नुभए पनि रुविन त्यसपछि भने ११-२, ११-३ र ११-५ ले पराजित भयो । संयोग कपालीले माहारु योशीमुरासँग ११-७, ११-३ र ११-७ को हार व्यहोर्‍यो । विलोश श्रेष्ठले सुन्सुके तोगामीसँग ११-६, ११-३ र ११-३ को पराजय भोगे ।

यस्तै नेपालको महिला टोली सिंगापुरसँग ३-० ले पराजित भयो । पहिलो खेलमा नेपाल नम्बर १ नविता श्रेष्ठ जिंगी झोउसँग ११-४, ११-३ र ११-४ को अन्तरमा पराजित हुनुभयो । दोस्रो खेलमा सिक्का सुवाल जियान जेंगसँग ११-१, ११-२ र ११-४ को हार व्यहोर्न पुग्नुभयो । तेस्रो खेलमा इभाना थापामगर ११-३, ११-७ र ११-४ ले पराजित हुनुभयो । नेपालले अब समूह चरणमा शनिबार बिहान महिलातर्फ भारत र पुरुषतर्फ उत्तर कोरियाको सामना गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?