आफू बद्लिन नसक्ने नेताले आफ्नो पार्टी बदल्न सक्दैन : उपसभापति गुरुङ

हिमालय टाइम्स
Read Time = 3 mins

-राधिका बुढाथोकी

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नवनिर्वाचित जनप्रतिनिधि तथा पार्टीका नेताहरूलाई आफैँ बद्लिनु आवश्यक रहेको बताउनु भएकोे छ ।

विहीबार काठमाडौंको बत्तिसपुतलीमा आयोजित ‘तीनपाटन गाउँपालिकाका नव-निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान पत्र कार्यक्रममा’ उहाँले देश बद्लिनुअघि नेताहरू आफैँ बदलिए समृद्ध देश बनाउन सकिने धारणा राख्नु भयो ।

‘आफू बदलिन नसक्ने नेताले आफ्नो पार्टी बदल्न सक्दैन । आफ्नै पार्टी बदल्न नसक्ने नेताले देशको ताला चावी पाए पनि देशको मुहार बदल्न सक्दै सक्दैन,’ उहाँले भन्नुभयो ।

उहाँले निष्ठाको राजनीति गर्न आवश्यक रहेको बताउँदै सबै नेता सच्चिनु आवश्यक रहेको बताउनु भयो । ‘पालिका प्रमुख, उपप्रमुखदेखि मन्त्री र प्रधानमन्त्री भएकाहरूकोसम्म, नेतालगायत उच्च कर्मचारीहरू सबैको सम्पती छानविन गरौँ भनेपछि लगलग खुट्टा कमाउने नेताहरूले देश चलाउन सक्दै सक्दैन,’ उहाँले थप्नुभयो, ‘निष्ठाको राजनीतिलाई तल्लो तहसम्म पुर्याउन आवश्यक छ ।’

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उहाँले विदेशी उत्पादन प्रयोग गरेर देश समृद्ध बन्न नसक्ने पनि बताउनु भयो ।

आफूले रक्सी नखाने कुरा बताउँदै उहाँले भन्नुभयो, ‘स्वदेशको लोकल रक्सी माटोमा पोख्ने र विदेशी रक्सी जती सबै नेपालमा ल्याएर खानाले पनि देश गरिब भएको छ । रक्सीमै अरबौँ रुपैयाँ विदेश पठाएर देशको विकास हुँदैन ।’

उहाँले स्वदेशी रक्सीलाई गुणस्तरीय बनाएर, करको दायराभित्र ल्याएर स्थानीय उत्पादनलाई प्रर्वधन गर्ने र विदेशी उत्पादनको प्रयोग कम गदैँ जानु पर्नेमा जोड दिनु भयो ।

रक्सी मात्र होइन, लुगा पनि विदेशी ब्रान्डका नलगाउने उहाँको तर्क थियो । ‘विदेशी ब्रान्डका ब्रान्डेट लुगा लगाएर हिड्ने नेता, नेता हुनै सक्दै सक्दैन,’ उहाँले भन्नुु भयो । उहाँले ३० मिनेट भाषण गर्नु हुँदा कार्यक्रमका सहभागिहरूले तीन पटक ‘तरररर’ ताली पिटेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?