काठमाडौं । चीनको हाङझाउ शहरमा आयोजना भएको १९औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । कराँते र कबड्डीका विजयी नेपाली टोलीलाई स्वागत गर्न विमानस्थलमा नेकपा माओवादीका नेता, नेपाली कांग्रेसका नेता, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य-सचिव प्रकाश कुसारी, राखेपका प्रशासन विभागका प्रमुख प्रेम मल्ल, नेपाल कराँते महासंघका अध्यक्ष एवं राखेपका पूर्व सदस्य-सचिव युवराज लामा र महासचिव दावा गुरुङ, कर्मचारी संघका अध्यक्ष सरस्वती केसी, पूर्वअध्यक्ष रञ्जन थापालगायतको उपस्थिति थियो ।
एसियाली खेलकुदमा नेपालले सहभागिता जनाएका २९ खेलमा कराँते खेलाडी एरिका गुरुङले रजत र कबड्डी टोलीले कांस्य पदक प्राप्त गरेको थियो । खेलाडीहरूलाई विमानस्थलबाट विभिन्न स्थानको परिक्रमा गरी राष्ट्रिय खेलकुद परिषद्मा विशेष कार्यक्रमका बीच स्वागत र सम्मान गर्ने कार्यक्रम रहेकोमा नेपाल सरकारले शोक दिवस घोषणा गरेका कारण औपचारिक कार्यक्रम स्थगन भएको थियो ।
एसियन गेम्समा कराँतेबाट एरिका गुरुङ र महिलाको कबड्डी टिमले रजत पदक जितेको थियो । एरिकाले शनिबार ६८ केजी तौल समूहमा रजत पदक जित्नुभएको थियो । एसियाडमा कराँतेले रजत पदक जितेको यो नै पहिलोपल्ट हो ।
यसअघि नेपालमा सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारी र २०१८ मा प्याराग्लाइडिङ टोलीले रजत पदक जितेको थियो । यसअघि नेपालले १८औँ संस्करणसम्म आइपुग्दा दुई रजत र २२ कांस्यसहित २४ पदक जितेको थियो ।
महिला ६८ किलो तौल समूहमा १९ वर्षीया गुरुङ फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासित ३-० अंकले पराजित हुँदै रजतमा खुम्चिनुभएको थियो । सेमिफाइनलमा गुरुङले हङकङकी यान काई होलाई पराजित गर्नुभएको थियो । गुरुङले यान काई होलाई ८-४ अंकले हराउँदै फाइनल यात्रा तय गर्नुभएको थियो । यस्तै, क्वाटरफाइनल खेलमा गुरुङले जापानकी खेलाडी युजुकी सावाएलाई पराजित गर्नुभएको थियो । दुवैबीचको खेल एक–एक अंकको बराबरीमा सकिए पनि गुरुङ सेन्शु (पहिलो अंक जोडेको) आधारमा विजयी हुनुभएको थियो ।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ का अनुसार एसियाडमा व्यक्तिगत स्पर्धामा रजत पदक जित्ने खेलाडीले १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रावधान छ । यस्तोमा एरिकाले रजत पदकका लागि साढे १९ लाख रुपैयाँ पाउनुहुनेछ । त्यसबाहेक उहाँलाई विभिन्न व्यक्ति तथा संस्थाले पनि नगद पुरस्कार दिने घोषणा गरिसकेका छन् ।
यसअघि नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो । कार्यविधिअनुसार समूहगत स्पर्धाको कांस्य पदक विजेता कबड्डी टोलीका हरेक खेलाडीले जनही तीन लाख ९० हजार रुपैयाँ पाउनेछन् । कबड्डीका खेलाडीहरूमा मेनुका राजवंशी (कप्तान), अनुजा राई, जयन्ती बडू, गंगा घिमिरे, रविना चौधरी, अर्पना चौधरी, सिर्जनाकुमारी थारु, कलावती पन्त, इशा राई, सुनिता थापा, नितु गुरुङ, मनमती विष्ट हुनुहुन्थ्यो ।
कांस्य जित्ने खेलका मुख्य प्रशिक्षकले दुई लाख ६० हजार र सहायक प्रशिक्षकले एक लाख ३० हजार रुपैयाँ पाउनेछन् । कबड्डीमा पार्वती राई मुख्य प्रशिक्षक र विष्णुदत्त भट्ट प्रशिक्षक हुनुहुन्छ । व्यवस्थापक डिल्लीराम काफ्लेले पनि एक लाख ३० हजार पाउनुहुनेछ । त्यस्तै, कबड्डी संघले तीन लाख ९० हजार रुपैयाँ पाउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच