काठमाडौँ । हमासको आक्रमणमा परी इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही समय लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले बुधवार अपरान्ह पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायल सरकारले शव हस्तान्तरण गरेपछि मात्रै सो शव नेपाल ल्याउन सकिने बताउनु भयो । उहाँले उनीहरुको शव छिटो ल्याउन सरकारले सहकार्य गरिरहेको र अहिले ती शवहरु इजरायल सरकारको संरक्षणमा सुरक्षित रहेको स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार नेपाल फर्कन चाहनेहरुलाई ल्याउन बुधवार (आज) राति नेपाल एयरलाईन्सको वाइडबडी विमान त्यसतर्फ पठाईनेछ । इजरायलमा नेपालको नियमित उडान पनि भएकाले आउन इच्छुक नेपालीहरुका लागि त्यहाँस्थित नेपाली दुतावासले सहजीकरण गर्ने पनि प्रवक्ता लम्सालले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अज्ञात अवस्थामा रहनु भएका विपिन जोशीको हकमा इजरायल सरकारको समन्वयमा निरन्तर रुपमा उच्च प्राथमिकताका साथ खोजी गर्ने कार्य जारी छ । सबै मृतकको शव इजरायली सरकारको संरक्षणमा सुरक्षित रुपमा राखिएको छ । मृतकहरुको शव यथाशीघ्र छिटो नेपाल ल्याउनेगरी हामीले समन्वय र सहकार्य गरिरहेका छौं । इजरायल सरकारबाट शव हस्तान्तरणको प्रक्रिया सकिनासाथ उच्च प्राथमिकताका साथ शवहरु नेपाल ल्याई सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने कार्यमा हामी क्रियाशील छौं । २८८ जना भन्दा बढिले नेपाल फर्कन चाहनुभएको छ । नेपाल फर्कन चाहनु हुनेहरुका लागि नेपाल एयरलाईन्सको २५० सिट क्षमता भएको बाईडबडी विमान आज रातिनै इजरायल प्रस्थान गर्दैछ । इजरायलबाट नियमित वायुसेवा पनि चलिरहेकाले फर्कन इच्छुक नेपालीहरुलाई नेपाली दुतावासले सहजीकरण गर्ने व्यहोरा पनि म यहाँहरुलाई अवगत गराउन चाहन्छु ।’
प्रवक्ता लम्सालले घाइते अवस्थामा रहेका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएको पनि जानकारी दिनुभयो । अन्य २ जनाको भने उपचार जारी रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
लम्सालले भन्नुभयो, ‘घाइते ४ जना मध्ये २ जना भर्खर अस्पतालबाट डिस्चार्ज हुनु भएको भन्ने प्रारम्भिक जानकारी छ हामीलाई । २ जनाको उपचार भइरहेको छ । बेपत्ता एक जनाको खोजिका लागि सबै संयन्त्रलाई परिचालन गरिएको छ । खोजी कार्य जारी छ ।’
बेपत्ता एक जनाको खोजीमा सम्पूर्ण सामथ्र्य परिचालन गरिएको पनि प्रवक्ता लम्सालले बताउनु भयो ।
गत शनिबारबाट हमासको आक्रमणमा परेको इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि बुधबार राति ११ बजे नेपाल वायुसेवा निगमको जहाज त्यसतर्फ जान लागेको हो ।
नेपाल एयरलाइन्सको जहाज बुधबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईलाई ट्रान्जिट बनाएर इजरायल जाने भएको छ । उक्त विमानमा परराष्ट्रमन्त्री एनपी साउद आफैं जाने हुनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच