सिट बाँडफाँडमा कुरा नमिले उपगठबन्धन बनाउने तयारीमा सत्तारूढ वाम दल

डिबी शर्मा
Read Time = 13 mins

काठमाडौं । प्रमुख दलहरू आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन लक्षित गठबन्धन बनाउने कसरतमा छन् । आगामी मंसिरमा हुने चुनाव लक्षित गठबन्धन बनाउने कसरतमा दलहरू जुटेका हुन् । गत वैशाखमा सम्पन्न स्थानीय चुनावमा गठबन्धन गरेका दलहरू फेरि पनि गठबन्धन कायमै राखेर जानुपर्नेमा एकमत जस्तै छन् । तर, कांग्रेसले प्रतिनिधिसभाका १६५ सिटमध्ये सकेसम्म १०० सिट नै लिने नत्र ९० भन्दा तल नझर्ने निर्णय लिइसकेको हुँदा गठबन्धनका अन्य दलहरू झस्किएका छन् । उता, माओवादीले पनि कम्तीमा ५० सिट पाउनुपर्ने दाबी गरिरहेको छ भने नेकपा एकीकृत समाजवादीले ३५ देखि ४० सिट आफूलाई दिनुपर्ने अडानमा छ । यस्तो अवस्थामा सत्ता गठबन्धनमा सितिमिति सहमति जुट्ने छाँटकाँट देखिँदैन । त्यसैले माओवादी केन्द्र लगायतका गठबन्धनभित्रका अन्य दलहरूले कांग्रेससँग बार्गेनिङ पावर बढाउनका लागि वाम गठबन्धनको कार्ड फ्याँकेका छन् । जबकि नेकपा एमालेसँगको तिक्ततापूर्ण सम्बन्धमा कुनै सुधार हुन सकेको छैन न त्यसको कुनै सशक्त आधार नै बनिसकेको छ । यसले के देखाउँछ भने माओवादी र नेकपा एकीकृत समाजवादीले वाम गठबन्धनको गीत गाएर कांग्रेसलाई तर्साउन खोजेका छन् । यो कुरा ती दलका नेताहरूका पछिल्ला अभिव्यक्तिबाटै स्पष्ट हुन्छ ।

कांग्रेससँग सिट बाँडफाँडमा सहमति नभए विकल्पका रूपमा गठबन्धनभित्रका अरू दलहरू मिलेर उपगठबन्धन बनाउने तयारी छ । उसो त वाम गठबन्धनमा को–को आउँछन् भन्ने यकिन छैन । सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको डा. बाबुराम भट्टराई समूहबीच उपगठबन्धनको प्रयास एकातिर भइरहेको छ भने अर्कोतिर बृहत् वा गठबन्धन नै बनाएर जानुपर्ने मत पनि बलियो छ । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेवको जोड फेरि पनि बृहत् वाम गठबन्धन बनाएरै जानुपर्नेमा छ । यसका लागि उहाँले एकचरण छलफलसमेत चलाउनुभयो । वाम नेताहरूसँगको छलफलबाट उत्साहित गौतमले एकल र सामूहिक छलफलसमेत गर्नुभयो । तर, छलफलले हालसम्म कुनै निष्कर्ष निकाल्न सकेको छैन । सत्ता गठबन्धनमा रहेका कांग्रेसबाहेकका दलहरू एक भएर जानेमा सहमतजस्तै भए पनि नेकपा एमालेले यसबारे इच्छा देखाएको छैन । २०७४ सालको निर्वाचनमा गठबन्धन गरेर दुईतिहाइ करिब मत ल्याएको तत्कालीन नेकपा विभाजनपछि एमाले एक्लै चुनाव लड्ने अडानमा छ । ‘माओवादी र समाजवादी कांग्रेसको पुच्छर बनेको’ भन्दै उनीहरूसँग गठबन्धन नहुने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ छ । एमालेका अधिकांश नेताहरू ओलीको भनाइमा सहमत छन् ।

वाम गठबन्धनबारे ओली अनिच्छुक देखिएपछि एमालेबाहेकको वाम गठबन्धनबारे पनि कसरत भइरहेको छ । जसमा बाबुरामदेखि प्रचण्ड र माधव नेपाल नेतृत्वका पार्टीहरू छलफलमा छन् । चुनावी गठबन्धन मात्रै होइन सम्भव भएसम्म पार्टी एकता नै गरेर जाने योजनामा उनीहरू छन् । तर, बाबुराम कम्युनिष्ट पार्टीमा नआउने भएकोले समाजवादी केन्द्र बनाउनेबारे पनि चर्चा भइरहेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पाँच दलीय गठबन्धनभित्र रहेका वामपन्थी पृष्ठभूमिका पार्टीहरूबीच एकताको प्रयास भइरहेको बताउनुहुन्छ । शनिबार जनकपुर पुगेर उहाँले यसमा छिट्टै सकारात्मक परिणाम आउने विश्वास व्यक्त गर्नुभयो ।

‘जसपाबाट डा. बाबुराम भट्टराईको समूह फुटिसकेको र औपचारिकता मात्र बाँकी छ । दुवै पक्षसँग हाम्रो छलफल चलिरहेको छ,’ उहाँले भन्नुभयो, ‘हाम्रो छलफल चलिरहेको छ । तर, अहिलेसम्म अन्तिम निर्णयमा पुग्न सकेका छैनौँ । सम्भवतः केही दिनभित्र एउटा निर्णयमा हामी पुग्छौँ ।’ सत्ता गठबन्धनमा रहेका कांग्रेसबाहेकका दलका नेताहरूका भनाइ पनि प्रचण्डको जस्तै छ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल अहिले वाम एकताको खाँचो रहेको बताउनुहुन्छ । आगामी निर्वाचनमा सम्भव भए वामपन्थी एकता गर्नुपर्ने र यसका लागि एमालेको नेतृत्व तयार हुन्छ कि हँुदैन भन्ने प्रश्न रहेको जिकिर गर्नुभयो । सबै पार्टीलाई सम्मानजनक ढंगले एकता गराउन एमालेले पहल लिए वामपन्थी एकता असम्भव नरहेको उहाँको भनाइ छ । उनीहरू पनि सत्ता गठबन्धनभित्रै भए पनि वाम उपगठबन्धन बन्ने बताउँछन् । गठबन्धनको बलमा हरेक क्षेत्रमा कांग्रेस हावी हुँदै गएको भन्दै वामपन्थीहरू एक ठाउँमा आउनुपर्नेमा उनीहरूको जोड छ ।

कति दिन गठबन्धनको डम्फु बजाएर बस्ने : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको डम्फु मात्रै बजाएर बस्न नसकिने चेतावनी दिनुभएको छ । शनिबार पार्टीनिकट नेपाल तामाङ संघ समाजवादीले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धनको डम्फु बजाउने काम छोडेर पार्टीको संगठन सुदृढीकरणको काममा जुट्न नेता-कार्यकर्तालाई निर्देशन दिनुभयो ।

‘सम्भवतः मंसिर पहिलो साता चुनावको घोषणा हुनेछ । अब कति दिन हामीले गठबन्धनको डम्फु बजाएर बस्ने ? अब डम्फु बजाउने होइन,’ उहाँले भन्नुभयो, ‘पार्टीलाई सुदृढ बनाउने कुरा गर्ने हो । हाम्रो पार्टी कमजोर छैन ।’

अध्यक्ष नेपालले दुईतिहाइको फुर्ती देखाउनेलाई सडकमा फालेर इतिहासमा कीर्तिमान बनाएको स्मरण गर्नुभयो । पछिल्लो समय कांग्रेसले अहंकार देखाउन थालेको उहाँको आरोप छ । ‘इतिहासमा हामीले कीर्तिमान बनायौँ । दुईतिहाइको फुर्ती देखाएकालाई सडकमा फालिएको पनि देख्यौँ,’ उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनायौँ । निर्वाचन भयो । कम्युनिष्टभन्दा कांग्रेस माथि पुग्यो । चुनाव जितेपछि त्यसले पनि अहंकार देखाउन थाल्यो । अर्को दुःख थपिने हो कि भन्ने चिन्ता छ । हाम्रो बुई चढेर ठूलो पार्टी बन्ने अनि हामीलाई नै बुर्कुसी मार्ने हो कि भन्ने डर छ ।’ त्यस्तै, नेकपा एसका सम्मानित नेता झलनाथ खनालले सम्मानजनक भूमिका नदिए आगामी निर्वाचनमा तालमेल हुन नसक्ने स्पष्ट पार्नुभएको छ । नेकपा एस नुवाकोट-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले कुनै दललाई बहुमत प्राप्त हुने गरी तालमेल हुन नसक्ने बताउनुभयो । कांग्रेसप्रति लक्षित गर्दै खनालले केही दलले बहुमत आउने गरी चुनावी तालमेलमा जाने निर्णय गरेको भन्दै कसैलाई बहुमत दिलाउन तालमेल नगर्ने स्पष्ट पार्नुभयो । खनालले स्थानीय तहमा जसलाई बोक्यो, उसलै आगामी निर्वाचनमा बहुमत ल्याए कम्युनिष्ट आन्दोलनको इतिहास समाप्त हुने तर्क गर्नुभयो ।

कांग्रेसको बलजफ्ती सधैँ स्वीकार्य हुन्न : श्रेष्ठ
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेसले गठबन्धनको नाममा एकलौटी र बलजफ्ती गरेको आरोप लगाउनुभएको छ । नागरिकता संशोधन विधेयक, एमसिसी र एसपिपीबारे कांग्रेसको भूमिकाप्रति असन्तुष्टि जनाउँदै उहाँले गठबन्धनको नाममा निरन्तरको बलजफ्ती सधैँ स्वीकार्य हुन नसक्ने चेतावनी दिनुभयो । ‘हाम्रो पार्टीले एमसिसीलाई राष्ट्रिय हितअनुरूप ठान्दैन, तर गठबन्धन सरकारको कारणले पार्टीभित्र मतभेदबीच बाध्यात्मक रूपमा १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन ग¥यो,’ उहाँले भन्न्ुभयो, ‘अहिले फेरि नागरिकताको विषयमा समितिको धारणा नै हाम्रो धारणा हुँदाहुँदै पनि सरकारको विधेयकलाई पारित गर्ने निर्णय भयो । एसपिपीको बारेमा अस्वीकारको पत्र सरकारले पठाएको छैन । के हामी गठबन्धनको नाममा पत्र नपठाउने कार्य सरकारले गरिरह्यो भने त्यसलाई पनि बाध्यात्मक समर्थन गर्न सक्छौँ त ? कांग्रेसले गठबन्धनको नाममा निरन्तरको बलजफ्ती हामीलाई सधैँ स्वीकार्य हुन सक्दैन भन्ने कुरा समयमै बुझोस् ।’

सत्ता प्राप्तिकै लागि एमालेले कुनै गठबन्धन गर्दैन : ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता प्राप्तिकै लागि एमालेले कुनै गठबन्धन नगर्ने स्पष्ट पार्नुभएको छ । प्रेस चौतारी रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दैै नेता ज्ञवालीले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि एमाले एक्लै चुनाव लड्न सक्ने बताउनुभयो । कांग्रेसले आफ्नो बहुमत आउने गरी गठबन्धन गर्ने निर्णय गरेपछि गठबन्धनका अन्य दलले वाम गठबन्धनको फण्डा चलाएको उहाँको भनाइ थियो । ‘कांग्रेसको निर्णयपछि गठबन्धनका नेताहरूको पसिना आएको छ । तर, एमाले एक्लै र आफ्नै खुट्टाको बलमा चुनाव लड्न सक्ने क्षमता राख्छ,’ उहाँले भन्नुभयो, ‘एमाले सत्ता प्राप्ति गर्नकै लागि जोसँग पनि लहसिनुपर्छ भन्ने मान्यताबाट टाढै छ । तर, देश र जनताका लागि हित सोचेर गठबन्धन छोडेर आउनेहरूका लागि चुनावी तालमेल वा सहकार्यको ढोका खुला छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?