एमसीसीमा जस्तै गठबन्धन अर्को जाल लिएर एसपीजीमा सामेल हुने सम्भावना अझै छ : अध्यक्ष ओली

Read Time = 4 mins

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीमा जस्तै याे गठबन्धन सरकारले अर्को जाल लिएर एसपीजीमा सामेल हुने सम्भावना अझै रहेकाे आशंका व्यक्त गर्नुभएको छ ।

तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७१औँ जन्म जयन्तीका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्ताे आशंका गर्नुभएकाे हाे ।

साथै उहाँले एसपीपीका सन्दर्भमा गरिएको पत्राचारका सन्दर्भमा सत्य तथ्य बाहिर ल्याउन र वास्तविक पत्र सार्वजनिक गर्न सरकार र अमेरिकी दूतावासको ध्यानाकर्षण समेत गराउनु भएकाे छ ।

उहाँले जनतालाई धोखा दिएर एमसीसी पास गर्ने शेरबहादुर देउवा र प्रचण्डले नै एसपीजीमा नेपाललाई लैजान खोजेको तर जनताको खबरदारीबाट पछि हटेको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले यसबारेमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीबाट पनि यथार्थ जानकारी आउनुपर्ने बताउनु भयो ।

ओलीले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा स्वीकृति दिइएको एसपीपीलाई प्रचण्डले अघि बढाएको समेत बताउनु भयो ।

आफू प्रधानमन्त्री भएको बेला इण्डो प्यासिफिकको प्रतिवेदनमा नेपाल र भुटानको पनि नाम आएपछि आफूले कार्यदल बनाएर रोकेको उहाँले बताउनु भयो । उहाँले एसपीजीमा मुलुकलाई लैजाने खतरा कायमै रहेको र एमसीसीमा जस्तै यो गठबन्धन अर्को जाल लिएर एसपीजीमा सामेल हुने सम्भावना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘एसपीपीका सन्दर्भमा असोज २ मा संविधान जारी भयो । ६ गते प्रधानमन्त्री तथा रक्षामन्त्री सुशील कोइराला भएका बेला सेनालाई स्वीकृति दिइयो । म प्रधानमन्त्री असोज २६ गते भएँ, मलाई थाहा नदिई कात्तिक १० मा सेनापतिको पत्र गयो भनिएको छ । तर त्यो पत्रको चलानी नम्बर टिपेक्स लगाएर हातले लेखिएको छ । पठाएको पत्रमा पनि हातले केरमेट गरेको छ । टिपेक्स लगाएर मेटेर हातले लेखिएको स्पष्ट हुन्छ । म सरकारलाई टिपेक्स नलगाएको ओरिजिनल पत्र देखाउन चुनौती दिन्छु ।’

एसपीजीमा केपी ओलीलाई मुछ्नका लागि टिपेक्स लगाएर, चलानी नम्बर फेरेर र मिति हेरफेर गरेको हातले लेखेको पत्र बाहिर ल्याइएको भन्दै ओलीले यसबारेमा अमेरिकी दूतावासले प्रष्ट पार्नुपर्ने बताउनुभयो । उहाँले थप्नुभयो, ‘म प्रधानमन्त्री हुनुभन्दा अघिको पत्र हुनसक्छ, चलानी नम्बर हातले केरमेट गरेको छ । त्यो म प्रम नहुँदै पत्र पठाइएको हो, अमेरिकन एम्बेसीले सत्य बोलोस् । तत्कालीन प्रधानसेनापतिले पनि मैले त्यति बेला निर्देशन दिएको हो कि होइन भन्न सक्नुहुन्छ ।’

अध्यक्ष ओलीले जनदवाबका कारण वर्तमान सरकार पछि हटे पनि गठबन्धनको एसपीजीमा जाने खतरा कायमै रहेको बताउनु भयो । उहाँले अहिले सार्वजनिक भएको मस्यौदा गठबन्धन सरकार बनेपछि तयार भएको भन्दै एमसीसीकै बेला देउवा र प्रचण्डले एसपीजीमा सहमति जनाएको दाबी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?