✍️ कृष्ण बजगाईं
थेम्स नदीको पानीमा
जब ठोकिन्छ फुर्सदको एक टुक्रा समय
तैरिन्छन् समयका आँखाहरू पानीमा
उम्रिन्छन् आँखामा सपनाहरू हरेक पल
परदेशमा समयको पल भन्नु
घरदेशको एक टुक्रा सपना पनि हो
त्यही सपनामा जोडिएका हुन्छन
बा, आमा, श्रीमती र छोराछोरीका खुसीहरू ।
घरदेश मैले छाडेको थिएँ
सुन्दर सपना देख्न
भो नसोध्नोस्,
घरदेशमा सपना देख्न कसले प्रतिबन्ध लगायो भनेर
घरदेशमा पसिनाको कमाई पठाएको थिए
भो नसोध्नोस्,
मैले पठाएको रेमिटेन्स कसले खान्छ भनेर
भो नसोध्नोस्,
देश छाडेपछि के बाँकी रहन्छ
मनको देशमा भनेर ।
समय समयमा दुई टुक्रा भएर खुल्ने
थेम्स नदी माथिको टावर ब्रिज जस्तै
टुक्राटुक्रा हुन्छ मेरो मनको देश जहाँबाट बग्छन्
थेम्स नदीको पानी भन्दा पनि धेरै
आँशु र पसिनाका धाराहरू ।
सपनीमा मात्र खुल्ने गर्दछन्
मेरा खुसीका फाटकहरू
र, खत्रक्क खस्छन्
मनका योजनाहरू थेम्सको देहमा
जसरी खस्छ
शरदको चन्द्र धरती काखमा ।
कसको सम्झना बोकेर
बहन्छ हँ लन्डनमा थेम्स नदी ?
घरदेशको सम्झना बोकेर
वर्षौंदेखि हेलिरहेको छु
म दुःखको नदीमा ।
संवादको अभेद्य पर्खालमाथि उभिएर
किन पछ्याउँछ प्रवाशी पंक्षीले मलाई
थेम्स नदीको किनारामा
कसरी बुझ्न सक्छु र उसको मौन भाषा
त्यसलाई पनि के थाहा मेरो मनको पीर
बरु थाहा पाएर पनि बुझपचाउँछन्
सत्तामा बस्ने शासकहरुले
विदेशिने म जस्ता लाखौं नेपालीहरुका पीडा ।
पीडा भन्नु अभाव र दुःखको काली दह मात्र होइन
यहाँ पनि कहिलेकाहीँ फुल्छन्
खुसीका कमल फूलहरू
त्यही फूल टिपेर
सिउरी दिने छु आमाको चुल्ठोमा ।
लण्डन
प्रवासको पीडा प्रवासीले मात्र मनन गर्न सक्छ
।मन छूने कविता ।