✍️ ठाकुर बेलवासे
कुनै पनि देश निर्माणको इतिहास पढ्दाको आनन्द भिन्न हुन्छ । अझ छिमेकी देशको राजनीतिक, सामाजिक र सांस्कृतिक पक्षको इतिहास पढ्न त झन रमाइलो हुन्छ नै । नेपाली पाठकका लागि छिमेकी मुलुक भारतका हरेक पक्षहरू रुचिका विषय बन्दै आएका छन् । सायद नेपालका यस्तै पक्षहरू भारतीय पाठकका लागि पनि रुचिका विषय बनेका होलान् । अथवा बनेका छन् । नेपाल-भारतको संस्कृतिक र सामाजका पक्षहरू उस्तै उस्तै भएका कारण पनि दुवै देशका मानवीय सरोकारका विविध घटनाक्रमहरू नागरिकका लागि चासोका विषय बन्दै आएका छन् । बन्नु स्वाभाविक नै हो । भारतको राजनीतिक घटनाक्रमहरू पनि नेपालीजनलाई उस्तै रुचिका विषय बन्ने गरेका छन् ।
गान्धीले चलाएको विदेशी वस्त्र बहिष्कारका बारेमा छोटोमा निकै रोमाञ्चकारी शैलीमा प्रस्तुत गरिएको छ । गान्धीले महिलाहरूलाई आन्दोलनमा एकीतृत पार्नका लागि मद्यपान निषेध र विदेशी वस्त्रको बहिष्कार गर्ने जिम्मा महिलालाई नै दिएको जस्ता थुप्रै घटना पुस्तकमा पढ्न पाइन्छ ।
यसको पनि कारण छ, भारतीय राजनीतिक नेतृत्वको प्रभाव नेपाली राजनीतिमा पर्ने गर्दछ । अझ भारतको स्वतन्त्रता आन्दोलनमा नेपालका नेता बीपी कोइरालालगायत सर्वसाधरण नेपाली जनताको समेत सहभागिता हुन पुग्यो । यसैले पनि भारतको स्वतन्त्र आन्दोलनका प्रति नेपालीजनको पनि सद्भाव आजसम्म उस्तै छ । र, त्यो आन्दोलनका कथाब्यथा पढ्नमा नेपालीहरूको अभिरुचि पनि उस्तै छ । यसै सन्दर्भमा, भारतीय सामाजिक, सांस्कृतिक र राजनीतिक पक्षहरूलाई थप गहिरो गरी अध्ययन गर्ने नेपाली पाठकहरूको चाहनालाई बुझेर अनुवादक/साहित्यकार श्याम प्रधानले भारतका प्रथम राष्ट्रपति राजेन्द्रप्रसादको आत्मकथाको नेपाली संस्करण बजारमा ल्याएका छन् ।
यो पुस्तक भारतका प्रथम राष्ट्रपति राजेन्द्रप्रसादको आत्मकथा भईकन पनि तत्कालीन सिंगो भारतको बलियो दस्ताबेज हो । तत्कालीन सिंगो भारतलाई बुझ्न खोज्ने पाठकका लागि यो पुस्तक काफी छ । बेलायती साम्राज्यका विरुद्ध भारतीय नागरिकले गरेको आन्दोलन, गान्धीको उदय, गान्धीले अपनाएको राजनीतिक विद्रोहको शैली र राजेन्द्रप्रसाद जस्ता नेताहरू गान्धीका अनुयायी बनेका सन्दर्भहरू । संगठन निर्माणका विषयहरू र सत्याग्रहको तयारी लगायतका घटनाहरू निकै रुचिकर छन् । सँगै राजेन्द्रप्रसादका पुर्खादेखि उनको शिक्षादीक्षा अनि राजनीतिक रुचिसम्मका कुराहरू पुस्तकमा पढ्न सकिन्छ । स्वतन्त्र भारतका लागि सन् १९४२ को क्रान्ति अत्यन्तै महत्वपूर्ण मानिन्छ ।
यस पुस्तकमा यो क्रान्तिका बारेमा निकै सरल ढंगबाट व्यख्या गरिएको छ । गान्धीले जनतालाई प्रभावमा पारेर आन्दोलन ‘गर यार मर’को देशभक्तिपूर्ण मन्त्र दिएका जस्ता घटनाहरूले नेपाली पाठकलाई पनि उत्साहित तुल्याउँछ । यस सन्दर्भले त नेपाली कांग्रेसले सुरु गरेको वि.सं. २००७ सालको क्रान्ति, कम्युनिष्टहरूले गरेको विसं २०२८ को झापा विद्रोह, विसं २०४६ को कांग्रेस-कम्युनिष्टको संयुक्त जनआन्दोलन र विसं २०५२ देखि सुरु भएको माओवादी युद्धदेखि मदेसको आन्दोलनसम्मका ती समर्पणहरूको याद गराउँछ भने क्रान्तिपछि नेताहरूमा देखिएको भ्रष्टीकरणले मन चिसो पनि हुन्छ ।
गान्धीले चलाएको विदेशी वस्त्र बहिष्कारका बारेमा छोटोमा निकै रोमाञ्चकारी शैलीमा प्रस्तुत गरिएको छ । गान्धीले महिलाहरूलाई आन्दोलनमा एकीतृत पार्नका लागि मद्यपान निषेध र विदेशी वस्त्रको बहिष्कार गर्ने जिम्मा महिलालाई नै दिएको जस्ता थुप्रै घटनाहरू पुस्तकमा पढ्न पाइन्छ । पुस्तकमा भारतलाई स्वतन्त्र बनाउन गरिएका राजनीतिक, सामाजिक प्रयासहरू सबै समेटिएका छन् । राष्ट्रिय झण्डालाई वैधानिकता दिन गरेका प्रयास हुन या पहिलो विधानसभाको चुनाव होस्, पुस्तकमा उल्लेख गरिएको छ । यी घटनाहरूबाट नेपालका नेताहरूले पाठ सिकेका भए, नेपालले संविधान प्राप्त गर्न आठ वर्ष कुर्नुपर्ने थिएन भने अर्बौंको आर्थिक नोक्सान पनि हुने थिएन ।
पुस्तक स्वतन्त्र भारत बनाउने महान् अभियानदेखि आन्दोलन सफलतापछिको संक्रमणकालीन तत्कालीन भारतीय राजनीतिक, सामाजिक एवं संस्कृतिक पक्षको एउटा ऐतिहासिक दस्तावेज पनि हो । यो पुस्तक पढ्दा विसं २०४६ सालमा नेपालमा भएको राजनीतिक परिवर्तन र त्यसपछि उत्पन्न राजनीतिक तथा सामाजिक संक्रमणलाई पनि सम्झना गराउँछ । यस्तै माओवादीयुद्ध अनि विसं २०६२/०६३ को शान्ति सम्झौता र त्यसपछि नेपालमा देखापरेका जातीय एवं धार्मिक असमझदारीलाई पनि पुस्तककले सम्झना गराउँछ ।
राजनीतिक परिवर्तनपछि भूगोलका हिसाबले विशाल भारतमा देखापरेका धार्मिक र सामाजिक द्वन्द्वलाई भारतका नेताहरूले सुल्झाएका घटनाहरू पढ्दा नेपाली पाठकको मनमा नेपालका नेताप्रति चित्त दुःख्न सक्छ । प्रत्यक्ष अप्रत्यक्ष भारतीय राजनीतिसँग जोडिएका नेपाली नेताहरूले राजनीतिक समास्या समाधान गर्न पाठ नसिकेकाप्रति नेपाली नेताहरूमाथि पाठकका मनमा घृणा उत्पन्न हुन सक्छ । त्यसबेला एकातिर स्वतन्त्र भारतको महाअभियान र अर्कोतिर हिन्दू, मुस्लिमका बीचको लडाइँका कारण भारतीय नेताहरूले ठूलो चुनौती र चिन्ताको सामना गर्नुपरेको थियो । देशकाप्रति निःश्वार्थ लडेका गान्धी, बल्लभभाइ र राजेन्द्रप्रसाद जस्ता नेताहरूले समस्यालाई सरल ढंगबाट सम्बोधन गर्दै राजनीतिक आन्दोदलनलाई अगाडि बढाएका दृष्टान्तहरूले नेपाली राजनीतिक नेतृत्वको कमजोरीलाई आँखामा ल्याइदिन्छ । परिवर्तनका साढे तीन दशक बित्दा पनि नेपाली राजनीति संक्रमणकालमै रहनुको पीडाबोध पनि पाठकलाई हुन सक्छ ।
पुस्तकमा राजेन्द्रप्रसादका समकक्षी स्वतन्त्र भारतका सेनानी एवं निमार्ता तथा स्वतन्त्रभारतका प्रथम गृहमन्त्री बल्लभभाइ पटेलले सानो भूमिका लेखेका छन् । पटेल लेख्छन्-‘हिन्दू र मुसलमानका बीचमा भेदभावको जुन खाडल वृद्धि हुँदै गएको देखिन्छ । त्यसको पूर्तिको र दुवै जातका बीचमा शुद्ध स्नेहको जुन चित्र यस आत्मकथामा छ ।’ ‘सन् १९०५ मा भारत छोडको जमानादेखि नै राजेन्द्रबाबुमाथि देशभक्तिको रंग पोतिन थालेको थियो । सन् १९१७ मा चम्पारनको झगडाका बेला उहाँले गान्धीका पाइला पच्छ्याउँदै सरलता (जोगिपन)लाई आत्मासाथ गर्नुभयो’ पटेल लेख्छन् ।
यो कृति तत्कालीन भारतीय राजनीति, समाज र संस्कृतिलाई बुझ्न महत्वपूर्ण दस्ताबेज बनेको छ भने देशका प्रति भारतका तत्कालीन नेताहरूको दूरदर्शितालाई पनि मुखर गरिदिएको छ । यो कृति नेपाली राजनीतिज्ञहरू, दलका कार्यकर्ताहरू र कूटनीतिज्ञहरूसँगै सामान्य पाठकका लागि संग्रहनीय छ ।
भारतलाई गहिरो गरी बुझ्न सहयोगी यो पुस्तक नेपाली भाषामा अनुवाद गरेर प्रकाशन गरेकामा अनुवादक श्याम प्रधानले नेपाली पाठकलाई ठूलो गुन लगाएका छन् । अझ म जस्ता हिन्दी भाषाको अल्पज्ञानी पाठकहरू त प्रधानको यस कर्मले ऋणि भएका छन् । त्यसो त हिन्दीभाषाका जानिफकारका लागि पनि प्रधान उदाहरणीय बनेका छन् । पुस्तक नेपाली भाषामा अनुवाद हुनु र प्रकाशित हुनुले नेपाल-भारतका नागरिकतहको प्रगाढ सम्बन्धलाई समेत अझ बढी कसिलो बनाएको छ भने नेपाल-भारतको राजनीतिक-कूटनीतिक सम्बन्धलाई समेत सुमधुर बनाउन यसले सहयोग पुर्याउने पक्का छ ।
अनुवाद गरेको पुस्तक पढ्दैछु भन्ने पाठकले कतै पनि अनुभूत गर्न सक्दैनन् । भाषाका कारण अत्यन्तै सरल र सहज रूपमा लेखिएको नेपाली ग्रन्थ पढ्दै गरेकोे झल्को पुस्तकले दिन्छ तर घटनाक्रम र पात्रहरू त भारतीय नै हुन् । नेपाल र नेपालीले राजनीतिक, सामाजिक अनि सांस्कृतिक संक्रमण झेल्दै गरेको ताजा अवस्थाका कारणले पनि पुस्तक पढ्न पाठकलाई रुचि बढ्छ भने भाषाले पाठकलाई तान्छ, जसका कारण पुस्तक पढ्न थालेपछि छोड्न मन लाग्दैन । भारतमा जन्मिए, हुर्किएका प्रधानको विद्यालयीय र उच्च शिक्षाको अध्ययन भारतमै भएका कारण उनको हिन्दी भाषा–साहित्यमा राम्रो पकड रहेको पुष्टि यो पुस्तकले गरेको छ ।
प्रधानले विश्वप्रसिद्ध भारतीय साहित्यकार प्रेमचन्दका उत्कृट कथाहरूको अनुवाद, प्रेमचन्दकै उपन्यास ‘हिनामिना’ र अर्का विश्वप्रसिद्ध लेखक शरतचन्द्र चट्टोपाध्यायको उपन्यास ‘देवदास’ को नेपाली भाषामा अनुवाद गरेर आफ्नो अनुवाद कला र शिल्पलाई स्थापित गरिरकेका छन् । आलोचनाका लागि सियो खोजेजस्तो केही कमजोरी खोज्न त सकिएला, होइन भने अनुवादक प्रधानले अघिल्ला कृतिमा जस्तो यस कृतिमा पनि आफ्नो परख देखाएका छन् । सवारी साधनको दुर्घटनाका कारण कालको मुखबाट फुत्किएर घाउचोटसँग पीडाका बिलौला गर्दै बिताउने समयलाई प्रधानले यो महत्वपूर्ण ‘आत्मकथा डा.राजेन्द्रप्रसाद’ कृतिको अनुवाद गरेर दुःखाइलाई पराजित गरेको उनको भूमिकामा पढ्न पाइन्छ । प्रधानको यो साहसी र सिर्जनात्मक काम अनुकरणीय पनि छ । दुःखमा सिर्जनाले पीडा भुलाउन सकिने राम्रो उदाहरण प्रधानले दिएका छन् ।
समग्रमा यो कृति तत्कालीन भारतीय राजनीति, समाज र संस्कृतिलाई बुझ्न महत्वपूर्ण दस्ताबेज बनेको छ भने देशका प्रति भारतका तत्कालीन नेताहरूको दूरदर्शितालाई पनि मुखर गरिदिएको छ । यो कृति नेपाली राजनीतिज्ञहरू, दलका कार्यकर्ताहरू र कूटनीतिज्ञहरूसँगै सामान्य पाठकका लागि संग्रहनीय छ । कृति ओरिएन्टल पब्लिकेसन हाउसबाट प्रकाशित भएको हो । अत्याधुनिक साजसज्जामा प्रकाशित कृतिको मूल्य ६५० राखिएको छ । दोस्रो संस्करणमा मूल्यमा सरलता गर्न ध्यान दिएमा अनुवादक श्याम प्रधान र प्रकाशक हरि गौतमप्रति पाठक थप कृतकृत्य हुने थिए कि !
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच