कालीकोट । कालीकोटको सुनथराली विमानस्थलको औपचारिक उद्घाटन भएको छ । निर्माण सुरु भएको ३८ वर्षपछि सोमबार विमानस्थलको उद्घाटन गरिएको हो । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थलको उद्घाटन गर्नुभयो । ०४२ सालमा निमार्ण कार्य थालिएको विमानस्थलमा ०७३ साल माघ २९ गते कच्ची धावनमार्गमा तारा एयरको जहाजमार्फत पहिलोपटक परीक्षण उडान गरिएको थियो । त्यसको आठ वर्षपछि आइतबार बिहान पुनः तारा एयरकै विमान अवतरण गरेर दास्रोपटक परीक्षण उडान गरिएको थियो । विमानस्थल उद्घाटनका लागि सोमबार उपप्रधानमन्त्री खड्का, पर्यटनमन्त्री किराँतीका साथै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्रीद्वय महेन्द्रबहादुर शाही र जीवनबहादुर शाही सहितको टोली नेपाल एयरलाइन्स र तारा एयरका दुईवटा विमानसहित कालीकोट पुग्नुभएको थियो । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमानस्थल उद्घाटन गर्ने कार्यतालिका थियो । तर, विशेष कारणवश प्रधानमन्त्री नगएपछि उपप्रधानमन्त्री खड्का अन्य मन्त्री तथा नेताहरूको जम्बो टोली लिएर कालीकोट पुग्नुभएको हो ।
विमानस्थलको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले निकै लामो त्याग तपस्या र संघर्षका बाबजुद सुनथराली विमानस्थलको उद्घाटन गरिएको बताउनुभयो । विमानस्थल उद्घाटन नै भएन भनेर पटक-पटक चर्चा हुन्थ्यो बल्ल आज उद्घाटन भयो, उहाँले भन्नुभयो, ‘धेरैको रगत र पसिना बगेको यो विमानस्थलमा नियमित हवाई उडान हुन कालीकोटवासीका लागि खुसीको कुरा हुनेछ ।’ उहाँले यसको नियमितताका लागि प्रतिबद्धता जनाउन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई आग्रह पनि गर्नुभयो ।
हुन त कर्णालीकै केही विमानस्थल उद्घाटनपछि उडान बन्द भएका छन् । तिनका आ-आफनै समस्या र बाध्यता रहेका छन् । कोटवाडा विमानस्थलमा नियमित उडान हुनेमा कुनै शंका नै नरहेको खड्काले आश्वासन दिलाउनुभयो । विमानस्थल उद्घाटन सत्रमा बोल्दै पर्यटनमन्त्री सुदन किरातीले पटक-पटक यो विमानस्थल उद्घाटन गर्ने मिति तोकिँदा पनि सम्भव नभएका कारण योपटक तोकिएकै समयमा उद्घाटन गरिएको जानकारी गराउनुभयो । मन्त्री किरातीले सुनथरालीमा हप्ताको एकपटक यात्रुको फ्लो र संख्यालाई मध्यनजर गरेर नियमित हवाई उडान भर्ने बताउनुभयो । कालीकोट मात्र नभएर अहिले कर्णालीका अन्य जिल्लामा सञ्चालन गरिएका विमानस्थलहरूमा समेत नियमित उडान हुन सकिरहेको छैन । विमानस्थलको अवस्था यात्रुको चापलाई हेरेर हप्ताको एकपटक भए पनि कोटबाडामा रहेको सुनथराली विमानस्थलमा नियमित उडान भर्ने मन्त्री किरातीले प्रतिबद्धता जनाउनुभयो । नेपाल एयरलाइन्सको जहाजले सातामा एकदिन यस विमानस्थलमा उडान भर्नेछ ।
०४२ सालदेखि निर्माण सुरु भएको यो विमानस्थल एक वर्षअघि मात्रै कालोपत्रे भएको थियो भने उद्घाटन नहुँदा कालीकोटवासीको ‘चिलगाडी’ चढ्ने सपना पूरा हुन सकेको थिएन । ०७३ माघ २९ मा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले कच्ची धावनमार्गमा परीक्षण उडान गराएयता जहाज आएको थिएन । कहिले स्थान छनोटको विवाद, कहिले बजेट अभाव त कहिले सशस्त्र द्वन्द्वको असरको कामले गति लिन नसक्दा कोटवाडा विमानस्थल काम सकिएर पनि जहाज नआउने विमानस्थलका रूपमा चर्चामा रहृयो । विमानस्थल बने पनि त्यहाँ पुग्ने पक्की सडक, सदरमुकाम मान्मबाट कोटवाडा जोड्ने केबुलकार निर्माण भएपछि मात्र विमानस्थल पुग्न सहज हुने भएकाले अझै थप प्रयास गर्नुपर्ने सरोकारवालाको भनाइ छ । उद्घाटनमै ३८ वर्ष लागे पनि उद्घाटनपछि हवाई नियमित उडान गराउनुपर्नेमा यहाँका स्थानीयको माग छ । ‘विमानस्थल गौचरन बनेपछि घर आँगनबाटै जहाज चढ्ने सपना बुनिसकेका हामी निराश थियौँ । पुनः विमानस्थल निर्माणका लागि बजेट आएर उद्घाटन भएपछि हाम्रो खुसी फर्किएको छ’ नरहरिनाथ गाउँपालिका–१ कोटवाडाका दमन विष्टले भन्नुभयो ।
एक वर्षमा सातपटक सरेको थियो उद्घाटन मिति
पटक-पटकको उद्घाटनकै विषयलाई लिएर चर्चामा आउने सुनथराली विमानस्थलको उद्घाटन मिति मात्रै एक वर्षमा सातपटक सरेको थियो । ०४२ बाट निर्माण सुरु भएको विमानस्थल डेढ वर्षअघि कालोपत्रे सकिए पनि उद्घाटन नहुँदा कालीकोटवासीको चिलगाडी चढ्ने सपना पूरा हुन सकेको थिएन । ०७३ माघ २९ मा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले धावनमार्गमा परीक्षण उडान गराए पनि त्यसपछि जहाज भने कहिल्यै फर्किएन । तर, विमानस्थल उद्घाटनको मिति भने पटक-पटक फर्कियो त्यो सम्भव भएन । विमानस्थलको कालोपत्रे सकिएपछि गतवर्ष विमानस्थल सञ्चालनमा ल्याउन पहल गर्ने भन्दै पत्रकार महासंघ कर्णाली प्रदेशको साधारण सभासमेत यहीँ विमानस्थलमा आयोजना गरिएको थियो । त्यसपछि चैत १५, वैैशाख १, वैशाख १५, जेठ १५, असार १५, साउन १०, भदौ २५ गते उद्घाटनको मिति तोकेर स्थगित हुँदै आएको थियो ।
निर्माणकै क्रममा ३६ जनाले गुमाएका थिए ज्यान
विमानस्थल निर्माणका क्रममा ३६ जना मजदुरले ज्यान गुमाएका थिए । ३६ जना मजदुरलाई नेपाली सेनाले एकैपटक एकै चिहान बनाएको थियो । नेपालमा चलेको १० वर्षे सशस्त्र युद्धका बेला अछाम आक्रमणपछि आएको सेनाको टोलीले विमानस्थलमा काम गरिरहेका ३६ जना मजदुरको हत्या गरेको थियो । विमानस्थल निर्माणका क्रममा धादिङ जोगीमारा स्थायी घर भई विमानस्थल निर्माणको सिलसिलामा कोटवाडा आएका ३० जना कामदार र ६ जना स्थानीय कामदारलाई २०५८ सालमा तत्कालीन राज्यपक्षको शाही सेनाद्वारा विमानस्थलमै गोली हानी हत्या गरिएको थियो ।
उडान नियमित हुनेमा आशंका
विमानस्थल उद्घाटन भए पनि नियमित उडान हुनेमा स्थानीय अझै आशावादी देखिएका छैनन् । पटक-पटक उद्घाटनको आशा जगाएर सञ्चालनमा आउन नसक्दा योपटक पनि त्यस्तै हो कि भन्ने त्रासमा उनीहरू छन् । हुन पनि अझै साबिक कर्णालीका चार जिल्ला प्रदेश राजधानी सुर्खेतसँगको सिधा हवाई सेवाको पहुँचबाहिर छन् । २०७४ अघि साबिक कर्णालीका जुम्ला, मुगु, हुम्ला र डोल्पा तथा सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा सुर्खेत विमानस्थलबाट नियमित रूपमा हुँदै आएका उडानहरू त्यसयता नेपालगञ्जबाट हुँदै आएका छन् । जसले हवाई सेवा प्रयोग गरी प्रदेश राजधानी आउन लुम्बिनी प्रदेशको नेपालगञ्ज धाउनुपर्ने बाध्यतामा नागरिकहरू छन् ।
काठमाडौं-सुर्खेत सिधा हवाई उडान हुने विमानस्थलमा नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमको कार्यालयसमेत सुर्खेतमा छैन । अझ नेपाल वायुसेवाले सुर्खेत विमानस्थल भएर कर्णालीका कुनै पनि जिल्लामा हालसम्म एउटा पनि उडान भरेको अवस्था छैन । यस्तै, यस विमानस्थल निर्माणको सुरुवात २०४२ सालबाट गरिएको थियो । तत्कालीन जिल्ला विकास समितिले विमानस्थल निर्माणका लागि एक लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, देशमा चलेको सशस्त्र द्वन्द्वले विमानस्थललाई अघि बढ्न भने दिएन । द्वन्द्वको चपेटामा पर्दा विमानस्थल निर्माण कार्यमा निकै सुस्तता आयो । २०६३ मा माओवादी र राज्य पक्षबीच शान्ति सम्झौता भएपछि मात्र विमानस्थल निर्माणले गति लिएको थियो । यस्तै, बारम्बार यस विमानस्थलमा परीक्षण उडानसमेत गरिएको थियो ।
यसअघि २०७३ साल माघ २९ मा परीक्षण उडान गरिएको थियो । त्यसको सात वर्षपछि अर्थात् २०८० वैशाखमा अन्तिम परीक्षण उडानको तयारी थियो । तर, वैशाखको पहिलो हप्ताबाट विमानस्थलमा परीक्षण उडानको तयारी भए पनि आइतबार पुनः परीक्षण उडान सफल भएपछि सोमबारबाट विमानस्थलको औपचारिक उद्घाटन भएको हो । विमानस्थलमा ६४० मिटरको धावनमार्ग निर्माण गरिएको छ । भौगोलिक रूपमा विकट यो जिल्लामा हवाई सेवा एक मात्र भरपर्दो विकल्प हो । हालसम्म उडान सुरु नहुँदा स्थानीयवासी पैदल हिँड्न बाध्य थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच