स्याङ्जा । स्याङ्जा जिल्ला अस्पतालमा मृगौला रोगीका उपचारका लागि आवश्यक डायलाइसिस सेवालाई थप विस्तार गरिने भएको छ ।
बिरामीहरु डायलासिसको लागि पोखरा काठमाडौँलगायत जिल्ला बाहिरका विभिन्न ठाउँमा जानुपर्ने भएपछि बिरामीको समस्यालाई सम्बोधन गर्ने उद्देश्यले अस्पतालले सेवा बिस्तार गर्न लागेको हो ।
गण्डकी प्रदेश सरकारले डायलाइसिस सेवा बिस्तार गर्नका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिने भएपछि जिल्ला अस्पताल स्याङ्जामा मृगौला रोगीहरुका लागि डायलाइसिस सेवा बिस्तार गर्न लागिएको हो ।
डायलाइसिस सेवा बिस्तारका लागि ३ जना स्टाफ नर्स र १ जना मेडिकल अफिसरको खर्च व्यवस्थापनका लागि अस्पताललाई प्रदेश सरकारबाट आवश्यक बजेट उपलब्ध गराइसकिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.रुक्मिना अधिकारीले जानकारी दिनुभयो ।
‘अस्पतालमा डायलाइसिस सेवा बिस्तारका लागि थप जनशक्ति चाहिन्छ । यसका लागि प्रदेश सरकारले थप जनशक्तिको व्यवस्था गरिदिएको छ । सोही अनुसार हामीले जनशक्ति छनोट गरी सेवा बिस्तार गर्नेछौं ।’ डा.अधिकारीले भन्नुभयो ।
जिल्ला अस्पतालमा डायलाइसिस सेवा २०७७ साल साउन २२ मा सुरु भएको थियो । त्यहाँदेखि हालसम्म अस्पतालमा जिल्लाका विभिन्न ठाउँका बिरामीहरु उपचारबाट लाभान्वित भइसकेका छन् । सुरुमा अस्पतालमा डायलाइसिस सेवाका लागि ५ जना तालिम प्राप्त जनशक्तिको व्यवस्था गरिएको थियो । बिरामीको चाप बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै जनशक्ति बढाएर अस्पतालले सेवा बिस्तार गर्न लागेको हो ।
हाल अस्पतालमा १६ जना मृगौला पीडित बिरामीले डायालाइसिस सेवा लिइराखेका छन् । अस्पतालमा जम्मा ८ वटा डायलाइसिस मेसिन छन् । तीमध्ये हाल ५ वटा डायलाइसिस मेसिन चालु अवस्थामा छन् भने ३ वटा बिग्रेका छन् । बिरामी बढ्ने अवस्थामा दुई सिफ्ट चलाउन अस्पताल सक्षम रहेको अस्पतालका जनस्वास्थ्य निरीक्षक चिरञ्जीवी खनालले बताउनुभयो । उहाँका अनुसार सेवा बिस्तारपछि करिब ३० जना मृगौला पीडितलाई डायलाइसिस सेवा दिन सकिन्छ ।
केही समय अगाडि जिल्ला अस्पताल स्याङ्जाले डायालाइसिसका बिरामी भए पठाइदिन अनुरोध गर्दै विभिन्न पालिका र स्वास्थ्य कार्यालय स्याङ्जालाई पत्र लेखेको थियो । नेपाल सरकारले डायलाइसिस गर्नुपर्ने बिरामीलाई निशुल्क उपचारको व्यवस्था गरिएको अवस्थामा जिल्ला अस्पताल स्याङ्जाले सरकारको उक्त सुविधाबाट बिरामी लाभान्वित हुने गरी डायलाइसिस सेवालाई प्रभावकारी बनाउने तयारी गरेको हो ।
जिल्ला अस्पतालमा पुतलीबजार नगरपालिकाको सहयोगमा फोहोरलाई निर्मलीकरण गरी मेसिनको प्रयोगद्वारा व्यवस्थापन गरिएको छ । केही समय अगाडिदेखि अस्पतालमा फिजियोथेरापी सेवा पनि सुरु गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच