काठमाडौं । सरकारले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले शुक्रबार बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको हो । शुक्रबार पत्रकार सम्मेलन गरी भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका अधिकृत छविराम नेपालीले भन्नुभयो, ‘बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको छ ।’
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले व्यक्तिको नाममा लगिएका वा लाने प्रयत्न गरिएका राज्यको नाममा रहेको सम्पत्ति सरकारमातहत ल्याउने अभियान थालनी भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कम्पनीको नाममा गएको जग्गाको कुनै प्रमाण भेटिएको छैन । सरकारले कुनै निर्णय गरेको भेटिएन । अन्य प्रक्रियाहरू पनि भरपर्दो भेटिएन । त्यसैले उक्त १० रोपनी जग्गा निर्णय प्रक्रियाबाट मालपोत ऐनको दफा २०३४ को दफा २४ मा भएको व्यवस्थालाई प्रयोग गर्दै सरकारको नाममा ल्याएका छौँ ।’
मालपोत ऐन २०२४ अनुसार बाँसबारी छालाजुत्ता कारखानाको जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको हो । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही दिनअघि निर्देशन दिनुभएको थियो । यसअघि भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले बाँसबारीको १० रोपनी जग्गा सरकारका नाममा ल्याउन गत माघ अन्तिम साता च्याम्पियन फुटवेयरका नाममा २१ दिने सूचना जारी गरेको थियो ।
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले व्यवसायी अरुण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो । उनीहरू काठमाडौं जिल्ला अदालतको आदेशमा हाजिरी जमानीमा रिहा भइसकेका छन् ।
सोही प्रकरणमा सिआइबीले बिहीबार उद्योगीसमेत रहनुभएका सांसद विनोद चौधरीसँग पनि बयान लिएको थियो । कपडाका जुत्ता उत्पादन गर्ने उद्देश्यले २०४३ कात्तिक २७ मा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको च्याम्पियन फुटवेयरले तत्कालीन बाँसबारी छालाजुत्ता कम्पनीको १० रोपनी जग्गा खरिद गरेको थियो । यसमा चौधरी परिवारका सदस्यहरूसहित बाँसबारी छालाजुत्ता कम्पनीसमेत सेयरधनी थिए । तर, जग्गा लिँदा मिलेमतो भएको र तीन वर्षमा च्याम्पियन फुटवेयर बन्द गरी पूरै जग्गा कब्जा गरिएको दाबी छ ।
के हो बाँसबारी जग्गा हिनामिना प्रकरण ?
कपडाका जुत्ता उत्पादन गर्ने उद्देश्यले २०४३ कात्तिक २७ मा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको च्याम्पियन फुटवेयरले तत्कालीन बाँसबारी छालाजुत्ता कम्पनीको १० रोपनी जग्गा खरिद गरेको थियो । यसमा चौधरी परिवारका सदस्यहरूसहित बाँसबारी छालाजुत्ता कम्पनीसमेत सेयरधनी थिए । तर, जग्गा लिँदा मिलेमतो भएको र तीन वर्षमा च्याम्पियन फुटवेयर बन्द गरी पूरै जग्गा कब्जा गरिएको दाबी छ ।
२०२२ साउनमा चिनियाँ सरकारले स्थापना गरिदिएको जुत्ता कारखाना ८३ रोपनीमा फैलिएको थियो । कम्पनी निरन्तर घाटामा गएको कारण देखाएर सञ्चालक समितिले जग्गा बिक्री गर्ने निर्णय गरेको थियो । यस क्रममा सञ्चालक समितिले प्रतिरोपनी साढे दुई लाखका दरले १० रोपनी (दुईपटक गरी) जग्गा २५ लाखमा च्याम्पियन फुटवेयरलाई बेचेको थियो ।
जग्गाको कुल मूल्य २५ लाख रुपैयाँ कायम भएकामा सो बराबर हुनेगरी च्याम्पियन फुटवेयरको २५ सय कित्ता सेयर बाँसबारीले पाएको थियो । यसरी च्याम्पियनमा २५ प्रतिशतको सेयरधनी बाँसबारी भएकामा बाँकी ७५ प्रतिशत सेयर चौधरी परिवारका विनोद, अरुण, वसन्त, बाबु लुनकरणदास, दिदी गंगादेवी र भिनाजु महेशकुमार अग्रवालका नाममा कायम भएको सिआइबीको अनुसन्धानबाट पत्ता लागेको थियो । च्याम्पियन फुटवेयरमा २५ प्रतिशत सेयरका लागि बाँसबारीको जग्गाको मूल्यांकनबाट २५ लाख लिइएकामा ७५ प्रतिशत सेयरबापत चौधरी परिवारले भने आठ लाख मात्र भुक्तान गरेको देखिएको सिआइबीको दाबी छ ।
बाँसबारीको २५ प्रतिशत सेयर पनि लिएपछि च्याम्पियन फुटवेयर लिमिटेडलाई प्रालि बनाइएको थियो । यस क्रममा चौधरी परिवारका अरू सदस्य हटेर अरुण र पत्नी शिलाको स्वामित्व कायम भएको थियो । २०६६ कात्तिक २५ मा डिल्लीबजार मालपोत कार्यालयबाट हालसाबिक गरेर यो जग्गा अरुण चौधरी सहितका नाममा कायम भएको देखिएको थियो ।
च्याम्पियन फुटवेयर प्रालि अहिले ‘सिजी चाँदवाग रेसिडेन्सी प्रालि’ बनेकामा यो जग्गामा अहिले चाँदवाग स्कुल चलाइएको छ । बाँसबारीको ८३ रोपनीमध्ये १० रोपनी जग्गा च्याम्पियन हुँदै चौधरी समूहमा गएपछि बाँकीमध्ये ५२ रोपनी जग्गा २०५२ भदौमा गंगालाल अस्पतालका लागि छुट्याइएको थियो । मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पर्क कार्यालय र बाँसबारी क्लबले पनि बाँसबारीको जग्गा भोगचलन गरिरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच