छोराको जमानीमा छुटे माओवादी उपाध्यक्ष महरा

यज्ञराज पाण्डे
Read Time = 8 mins

काठमाडौं ।  सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको अनुमतिमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महरालाई रिहा गरेको हो । शुक्रबार बयान सकिएपछि उनलाई हाजिरी जमानतमा रिहा गरिएको सिआइबीले जनाएको छ ।

अदालतले दिएको चार दिनको म्यादभित्रै महराको बयान सकिएको र स्वास्थ्य अवस्था कमजोर रहेकाले उनलाई हाजिरी जमानतमा छाड्न अनुमति दिइएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रवक्ता तथा जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले जानकारी दिनुभयो । ‘अहिलेलाई बयान पनि सकिएको छ । मुख्यतः उहाँको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै हाजिरी जमानतमा छाडिएको हो,’ अर्यालले भन्नुभयो ।

सिआइबीले महरालाई जेठा छोरा निर्मलको जिम्मा लगाएको छ । कान्छा छोरा राहुल भने सुन तस्करी प्रकरणकै अनुसन्धानमा पुर्पक्षका लागि थुनामा छन् । चार दिन प्रहरी हिरासतमा राखिएका महरासँग सिआइबी र सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो ।

सुन तस्करी गिरोहका एक मुख्य पात्र दाओजिन वाङसँग सम्बन्ध देखिएपछि प्रहरीले महरामाथि अनुसन्धान गरेको हो । बयानका क्रममा भने महराले वाङसँग चिनजान भए पनि कारोबारमा संलग्न नभएको बयान दिएका छन् । पूर्वसभामुख तथा पूर्व–गृहन्त्रीसमेत रहिसकेका महरालाई पाँच चैतमा कपिलवस्तुबाट पक्राउ गरेर प्रहरीले त्यसैदिन काठमाडौं ल्याएको थियो । सोही दिन अदालत उपस्थित गराइएकोमा जिल्ला अदालत काठमाडौंले पहिलोपटक चार दिन हिरासतमा राखी अनुसन्धान गर्न सिआइबीलाई म्याद दिएको थियो । उक्त म्याद शुक्रबार नै सकिँदै थियो । सिआइबीले भने अनुसन्धानका लागि सात दिनको म्याद मागेको थियो ।

महरालाई जमानीमा छाड्दा स्वास्थ्य अवस्था प्रमुख कारण
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिर जमानीमा रिहा गर्न प्रहरीले सरकारी वकिलसँग सहमति लिएको थियो । फौजदारी कार्यविधि संहिता–२०७४ को दफा १५ अनुसार कसुरको गाम्भीर्यता हेरेर अनुसन्धान अधिकृतले हाजिर जमानी, धरौटी वा तारेखमा राख्नसक्ने व्यवस्था छ । तर, अनुसन्धान अधिकृतले छाड्नुअघि सरकारी वकिलको सहमति लिनुपर्छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले महरालाई छाड्न सहमति दिनुभएको हो ।

महरालाई छाड्दा सिआइबीले पाँचवटा आधार लिएको छ । म्याद थप गर्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालले उनलाई अस्पतालमा राख्न अनुमति दिएका थिए । पक्राउ परेपछि नर्भिक अस्पतालमा भर्ना भएका उनलाई बिमारको कारण हिरासतमुक्त गर्नुपर्ने अवस्था आएको सिआइबीको निष्कर्ष छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘बयानमा पनि उहाँले बिरामी भएको कुरा बताउनुभएको थियो, न्यायाधीशले पनि अस्पताल राख्ने आदेश गरेको अवस्था थियो ।’

महराले आठ प्रकारका औषधी सेवन गरिरहेको र स्वास्थ्य समस्याबारे अस्पतालको कागजातको आधारमा प्रहरीले उनलाई रिहा गर्ने निर्णय गरेको हो । अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘उहाँको वृद्ध अवस्था पनि हाजिर जमानीमा रिहा गर्नुपर्ने अर्को कारण रह्यो ।’ पक्राउ गरेपछि प्रहरीले सरकारी वकिलको रोहबरमा महराको बयान पूरा गरेको छ । ‘बयान पूरा भइसकेको छ’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘हाजिर जमानीमा छाडेर अनुसन्धान गर्ने कानुनी व्यवस्था पनि भएको हुनाले छाड्ने निर्णय गरिएको छ ।’

इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत पाँचमा उनलाई रुपन्देहीबाट पक्राउ गरेको थियो । २०७९ पुस १० मा चिनियाँ नागरिक ली हासोङ्गले काठमाडौंमा ल्याएको भेप छुटाउन महराले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासकलाई आग्रह गरेका थिए ।

सुन ल्याउने समूहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग महराको ‘कनेक्सन’ देखिएको छ । अनुसन्धान अधिकृतहरू सँगको बयानमा वाङसँग आफ्नो सम्पर्क रहेको महराले स्वीकार गरेका छन् । बयानमा उनले भनेका छन्, ‘दाओजिन वाङसँग सम्पर्क छ तर, कारोबार गरेको छैन ।’

यसअघि सो प्रकरणमा सिआइबीले महरालाई कागज गराएर उन्मुक्ति दिएको थियो । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महरालाई सुन तस्करीमा दोषी ठहर गरेर पुनः मुद्दा चलाउन सिफारिस गरेको छ । आयोगको प्रतिवेदनको आधारमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्षसमेत रहेका महरा अनुसन्धानको दायरामा आएका हुन् ।

अब के हुन्छ ?
अधिवक्ता वसन्त जोशीका अनुसार अब प्रहरीले राय सहितको प्रतिवेदन पेस गर्नेछ । अधिवक्ता जोशी भन्नुहुन्छ, ‘प्रहरीको राय समेतको आधारमा सरकारी वकिलले मुद्दा चलाउने वा नचलाउने विषयमा निर्णय दिन्छ । चलाउने निर्णय भएमा महराको हकमा पूरक अभियोग दर्ता हुन्छ । जुन पूरक अभियोग त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरण काठमाडौंका प्रमुख भन्सार प्रशासक अरुण पोख्रेलको जाहेरीले नेपाल सरकारविरुद्ध रेवन्त खड्कासमेत भएको आपराधिक विश्वासघात संगठित अपराधसमेत कसुरको अभियोगको पूरक अभियोगको रूपमा महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर हुन्छ ।’

यदि अनुसन्धानको राय समेतको आधारमा सरकारी वकिलले मुद्दा नचल्ने निर्णय गरेमा महराविरुद्ध मुद्दा चल्दैन । मूल अभियोगमा रेवन्त खड्का, दिनेश बस्नेत, महराका छोरा राहुल महरासमेत पुर्पक्षका लागि थुनामै रहेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?