हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णयप्रति निजी शैक्षिक संस्थाहरू असन्तुष्ट

Read Time = 3 mins

काठमाडौं । निजी शैक्षिक संस्थाहरुले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन् ।

हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरूमा मानसिक प्रेसर पर्ने र अध्ययन पठ्यक्रम पनि समयमा अध्यापन गराउन नसकिने भएको भन्दै निजी शैक्षिक संस्थाहरूले सरकारले यस निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । सरकारले निजी शैक्षिक क्षेत्रसँग बिना कुनै छलफल र परामर्श नगरी अचानक अव्यवहारि निर्णय गरेको उनीहरूको गुनासो छ ।

उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) का महासचिव लोकबहादुर भण्डारीले सरकारले निजी शैक्षिक संस्थाहरुसँग बिना कुनै छलफल हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय नमान्ने बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुरामा उहाँले हप्तामा दुईदिन बिदा दिँदा विद्यार्थीहरूमा मानसिक प्रेसर पर्ने र पढाएको नबुझ्ने उल्लेख गर्दै सरकारको निर्णय मान्न नसक्ने बताउनु भयो । महासचिव भण्डारीले सरकारले दिने सर्वाजनिक बिदा पनि धेरै रहेको र सार्वजनिक बिदाको कटौती नगरी हप्ताको दुई दिन बिदा दिँदा पाठ्यक्रम पढाउन नसकिने स्पष्ट पार्नुभयो । उहाँले सरकारले दुई दिन बिदा दिने कुराको वास्तविक कारण पनि नदिएकोले निजी शैक्षिक संस्था शनिवार बाहेकका दिनमा खुल्ने बताउनु भयो ।

त्यस्तै राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघका सचिव विष्णु पराजुलीले सरकारले निजी क्षेत्रसँग छलफल नै नगरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले कर्मचारीहरूलाई हेरेर सो निर्णय गरेको तर विद्यालयको हकमा त्यो लागू गर्न नसकिने बताउनु भयो ।

सचिव पराजुलीले शिक्षामा वार्षिक १३ करोड बढी खर्च हुन्छ भनेर हप्तामा दुई दिन बिदा गर्नु व्यवहारिक नभएको बताउनु भयो । उहाँले कोरोनाबाट थला परेको शैक्षिक क्षेत्रलाई उठाउनु पर्ने बेला पुनः नित्साहित हुने गरी निर्णय गर्नु दुर्भाग्यपूर्ण रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?