काठमाडौं । काठमाडौं महानगरपालिका र संघीय सरकारबीच बेलाबेलामा टसल भइरहन्छ । महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले समय समयमा संघीय सरकारलाई कडा चुनौती दिँदै आइरहनु भएको छ । अनि संघीय सरकारले पनि प्रतिवाद गर्दै आएको छ । संघीय सरकारविरुद्ध मेयर साहका कतिपय टिप्पणी र गतिविधि ‘अराजक’समेत हुने गरेको टिप्पणी हुँदै आएको छ । फोहोर व्यवस्थापनका विषयमा निर्वाचित भएदेखि नै संघीय सरकारसँग आक्रोशित साहले ‘सिंहदरबारमा आगो लगाइदिने’ सम्मको अराजक अभिव्यक्तिसमेत दिनुभएको थियो । संघीय राजधानी सार्न दिइएको चेतावनी होस् वा काठमाडौंको फोहोर सिंहदरबारमा लगेर थुपारिदिने चेतावनी चर्चा र निकै विवादमा रहे । नेताहरू तल्लो स्तरको शब्द प्रयोग गरेर गाली गर्ने सम्मको काम उहाँले गर्नुभयो । संघीय सरकारविरुद्ध मेयर साहका यस्ता अरू पनि थुप्रै अभिव्यक्ति छन्, जुन चर्चा र विवादमा तानिए ।
पछिल्लो एक सातादेखि फेरि संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसँग मेयर साहले एकपछि अर्को आक्रोश पोखिरहनु भएको छ । सडकको विषयलाई लिएर महानगर र मन्त्रालय अन्तर्गतको सडक डिभिजन कार्यालय आमनेसामने भएका छन् । यसैबीच महानगरले सडक डिभिजन काठमाडौंको गेटअगाडि ट्रकबाट फोहोर र धुलो झारिदिएपछि विवाद थप बढेको हो । यसलाई मेयर साहले मन्त्री रघुवीर महासेठलाई एक ट्रक धुलो उपहार पठाएको बताउनुभएको छ । आगामी दिनमा पनि दिनदिनै उपहार पठाउने भन्दै ‘प्रेमपूर्वक स्वीकार्न’ मन्त्री महासेठलाई मेयर साहले चेतावनीयुक्त आग्रह गर्नुभएको छ । जसको स्वयं मन्त्री र कार्यालयले समेत कडा प्रतिवाद गरेका छन् ।
महानगर प्रमुख साहले १५ वर्षयता कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तार नहुँदा काठमाडौंका जनताले धुलो खानुपरेको र काठमाडौं महानगरले अकारणमा गाली खानुपरेको गुनासो गर्नुभएको छ । यसैको असन्तुष्टिस्वरूप कार्यालयमा धुलो उपहार पठाइएको उहाँको भनाइ छ । ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । सरकारले जबसम्म काम अगाडि बढाउँदैन, तबसम्म हरेक दिन पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु’, मेयर साहले फेसबुकमार्फत चेतावनी दिनुभएको छ ।
शनिबार साँझ कार्यालयको गेटमा महानगरको मिनी टिपरबाट कार्यालय परिसर छिर्नसमेत अवरोध हुनेगरी धुलो खन्याइएको थियो । मेयर साहले उठाएको कलंकी-चक्रपथ सडक खण्ड सडक डिभिजनको क्षेत्राधिकारभित्र भने पर्दैन । महानगरले कार्यालयअगाडि धुलो खन्याएपछि डिभिजन काठमाडौंले विज्ञप्ति जारी गरेर आपत्ति जनाएको थियो । कार्यालयले अराजक व्यवहार सह्य नहुने र प्रतिकार गर्न बाध्य हुने चेतावनीसमेत दिएको थियो ।
विवादको अन्तर्य अर्कै
महानगर प्रमुख साहले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको विषय देखाए पनि सडक डिभिजनसँग रिस पोख्नुको अन्तर्य भने अर्कै छ । महानगरले न्युरोडमा पार्किङ खाली गराएपश्चात् त्यहाँको सडक साँघुरो बनाएर सडक पेटी बढाउन खोजेको छ । त्यसैका लागि शनिबार डिभिजनको जिम्मामा रहेको न्युरोड क्षेत्रमा महानगर कर्मचारीले धमाधम सडक काटेका थिए । बिना अनुमति सडक काटिएको भन्दै सडक डिभिजनले उक्त कार्यमा रोक लगाएपछि विवाद सुरु भएको हो । अहिले ११ मिटर लम्बाइ कालोपत्रे सडक रहेको न्युरोड क्षेत्रमा दायाँबायाँ २.४ र २.६ मिटरको फुटपाथ छ । फुटपाथ साढे एक मिटर बढाउने महानगरको योजना छ । ११ मिटर फराकिलो कालोपत्रे सडक सात मिटरमा खुम्च्याउने महानगरको तयारी छ । दुवैतिर डेढ मिटर थप गरी ३.९ मिटरको फुटपाथ बढाउने र आधाआधा मिटर ड्रेनेजका लागि छुट्याइने गरी महानगरले डिपिआर तयार गरेको छ ।
आन्दोलनमा उत्रिए स्थानीय
न्युरोडको सडकलाई साँघुरो पार्ने काठमाडौं महानगरको योजनामा स्थानीयले विरोध जनाएका छन् । सोमबार न्युरोडका स्थानीयले मानव साङ्लो बनाएर सांकेतिक प्रदर्शन गरेका हुन् । ‘नयाँ सडक बचाऊ, न्युरोड साँघुरो पार्न पाइँदैन’ भन्ने नारासहित स्थानीयहरू विरोधमा उत्रिएका थिए । महानगरको योजना कार्यान्वयन भए त्यसबाट नयाँसडक क्षेत्रका जनताको दैनिक जनजीवन र व्यापार व्यवसायमा दूरगामी नकारात्मक असर पर्ने उनीहरूको भनाइ छ । त्यस क्षेत्रमा गुड्ने सवारी साधनको तुलनामा सडकको चौडाइ कम भएको हुँदा अहिले नै ट्राफिक जामको समस्या रहेको उनीहरू बताउँछन् । सडकको चौडाइ अझ कम गर्दा ट्राफिक जामको समस्या अझ बढ्ने उनीहरूको भनाइ छ । वैधानिक व्यवस्था र आफूहरूको अनुरोधलाई बेवास्ता गरी बलपूर्वक यो योजना लागू गरिएमा सडकबाटै प्रतिकार गर्न बाध्य हुने उनीहरूले चेतावनी दिएका छन् ।
महानगरको क्रियाकलाप कानुनसम्मत छैन : मन्त्री महासेठ
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा गरिरहेको क्रियाकलाप कानुनसम्मत नभएको बताउनुभएको छ । संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले महानगरको गैरकानुनी काम सडक डिभिजनले रोकेको बताउनुभयो । ‘जुन प्रकारले अहिले काठमाडौं महानगरपालिकाले आफ्नो क्रियाकलाप देखाउनुभएको छ, त्यसप्रति हामीले सरसल्लाह गर्दै छौँ । न्युरोडमा अहिले जुन तोडफोड भइरहेको छ, र सडक विभागले यसलाई रोकेको छ । न्युरोडमा जुन क्रियाकलाप छ, त्यो कानुनसम्मत छैन,’ उहाँले भन्नुभयो, ‘कलंकीदेखि महाराजगञ्जको कुरा मैले व्यक्तिगत रूपमा सुझावको रूपमा लिएको छु । सल्लाहको लागि उहाँलाई धन्यवाद । मेरो कुनै आपत्ति छैन । यसलाई सकारात्मक रूपमा लिएको छु । त्यो सरकारले बनाउनैपर्छ । त्यसलाई मैले अन्यथा लिएको छैन ।’ रिङरोड बनाउने सम्झौता चीनसँग भएको भन्दै सरकारले पनि आन्तरिक बजेटबाट केही स्थानमा बनाउन बजेट व्यवस्थापन गरिसकेको उहाँले जानकारी दिनुभयो ।
बालेनको प्रश्न- ठाडो आदेशमा काम रोक्न सक्नेले बनाउन पनि सक्नुहुन्छ होला !
महानगर प्रमुख बालेनले भने ठाडो आदेशमा काम रोक्न सक्नेले बनाउन पनि सक्ने बताउनुभएको छ । विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नुपरेको उहाँको भनाइ छ । ‘तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला,’ साहले मन्त्री महासेठलाई भन्नुभएको छ, ‘विगत १५ वर्षदेखि काठमाडौंको जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौंमा हुने आधाभन्दा बढी प्रदूषणमा त्यहाँकै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलो धुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारीसाधन मर्मतमा खर्च बढी गर्नुपरेको छ, पुग्न अबेला भोग्नु परेको छ ।’ सडक विस्तार नहुँदा महानगरले गाली खानु परेको साहले बताउनुभएको छ । ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईँ काम अगाडि बढाउनुहुन्न, हरेक दिन तपाईँलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्वीकार्नुहोला ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच