झापा । दूध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्द्धन नाराका साथ २४औँ अन्तर्राष्ट्रिय विश्व दूध दिवस मनाइएको छ । शनिबार झापाको एनएमसी फार्म परिसर मेची नगरपालिका १४ ढुवागडीमा आयोजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी शाहले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी डेरीले किसानबाट खरिद गरेको दूधको महिनौंदेखि भुक्तानी नदिएको गुनासो आएको भन्दै भुक्तानीका लागि मन्त्रालयले सहजीकरण गर्ने बताउनुभयो । पछिल्लो समय मुलुकमा दूधको उत्पादन बढेका कारण दुग्धजन्य पदार्थ बिक्री नभएर थन्किरहेको उहाँले बताउनुभयो । दुग्ध विकास संस्थानको भण्डारमा एक अर्ब २५ करोडभन्दा बढीको दुग्धजन्य उत्पादन बिक्री नभएर थन्किरहेको मन्त्री साहको भनाइ थियो ।
मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्न दूधमा आत्मनिर्भर भएरमात्र नपुग्ने भएकाले निर्यातमा जोड दिनुपर्ने र निर्यातको सहज व्यवस्था हुनसके किसानको भुक्तानी समस्या समाधान पनि हुने उहाँले बताउनुभयो । कोशी प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राईले दुग्ध पदार्थमा आधारित उद्योग सञ्चालन र वस्तु प्रवद्र्धनमा प्रदेश सरकारले अनुदान दिँदै आएको बताउनुभयो ।
दुग्ध विकास संस्थानका महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले चरणबद्धरूपमा किसानको दूधको भुक्तानी गर्ने व्यवस्था मिलाइएको जानकारी गराउँदै दुर्ई दिनभित्र नयाँ भुक्तानी रकम आइपुग्ने दाबी गर्नुभयो । कोशी प्रदेश डेरी उद्योग समितिका संयोजक रामचन्द्र उप्रेतीले एक दशकमा कोशी प्रदेशमा ११ ठूला डेरी उद्योग सञ्चालनमा आएका उल्लेख गर्दै प्रदेश सरकारको २० करोड रुपैयाँ अनुदानमा निजी क्षेत्रका उद्योगीले ३० करोडको लागतमा पाउडर उद्योग स्थापना गरेको बताउनुभयो । कार्यक्रममा उत्कृष्ट डेरी उद्योगका रूपमा एनएमसी डेरी उद्योग, उत्कृष्ट सहकारीका रूपमा चितवनको पिठुवा दुग्ध उत्पादक सहकारी र सुनसरीको कामधेनु दुग्ध विकास सहकारी संस्था, उत्कृष्ट कृषकका रूपमा झापाका राजकुमार तामाङ र मोरङका विज्ञान बस्नेतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखराज दाहाल, पशु सेवा विभागका उपमहानिर्देशक डा. विनयकुमार कर्ण, सिडिक्यानका अध्यक्ष अमरबहादुर कुँवर, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दिपप्रसाद धमला, महासचिव हेमचन्द्र खनाल, पूर्वअध्यक्ष सुमित केडिया, दुग्ध विकास संस्थानका निमित्त महानिर्देशक राजेन्द्रप्रसाद अधिकारी, कोशी प्रदेशका विभिन्न सरकारी निकायका प्रतिनिधि गरी करिब एक हजारजनाको उपस्थिति रहेको थियो ।
दिवसका अवसरमा देशभर बालबालिका तथा वृद्धाश्रमका वृद्धवृद्धालाई दुग्धपान, उपत्यकाव्यापी स्कुलस्तरीय दूधको सेवनसम्बन्धी वक्तृत्वकला प्रतियोगिता एवं दूधपान कार्यक्रम, दुग्ध क्षेत्रमा योगदान पुर्याउने विशिष्ट दैनिक गुणस्तरीय दूध सेवनका लागि जनचेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोगमा वृद्धि गर्न प्रचारप्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न जनचेतना जगाउने, दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहँुच पु¥याउन पहल गर्ने, दूध तथा दुग्ध पदार्थको उपभोगमार्फत् खाद्य पोषण सुरक्षणमा सुनिश्चित गर्न सहयोग पुर्याउने विभिन्न कार्यक्रम आयोजना गरिएको बोर्डका निर्देशक डा. बालक चौधरीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच