पाँच महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता फराकिलो बन्दै

नारायण भण्डारी
Read Time = 11 mins

नारायण भण्डारी/हिटा
काठमाडौं । शनिबारदेखि जारी मतगणनामा धेरै पालिकाहरूको नतिजा आइसकेको छ । तर देशका ६ वटा महानगरपालिकामा र ११ उपमहानगरपालिकामा भने मतगणना जारी नै छ । काठमाडौं महानगरपालिका अहिलेसम्म ५० प्रतिशत समेत मतगणना भएको छैन । अहिलेको रफ्तार गणना हुने हो भने अझै एक सातासम्म लाग्ने देखिएको छ । बुधबार राति यो समाचार तयार पार्ने बेलासम्म काठमाडौंमा ५० हजारको हाराहारीमा मत गणना भइसकेको छ । महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ( बालेन) अग्रस्थानमा हुनुहुन्छ ।

अग्रस्थान मात्र होइन उहाँको मतान्तर झन् झन् फराकिलो हुँदै गएको छ । बालेनले १९ हजार ७९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ९ हजार ८२७ मत ल्याउनुभएको छ । त्यस्तै नेपाली (कांग्रेस) की उम्मेदवार सृजना सिंहले आठ हजार ८९३ मत पाउनुभएको छ ।

त्यस्तै सबैभन्दा चर्चाको रूपमा हेरिएको भरतपुर महानगरमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहाल अगाडि हुनुहुन्छ । दाहालले १२ हजार ३५२ मत ल्याउनुभएको छ । एमालेका उम्मेदवार विजय सुवेदीले ९ हजार ९६७ मत ल्याउनुभएको छ । कांग्रेसबाट बागी उठ्नुभएका जगन्नाथ पौडेलले ५ हजार ३५५ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ । यता उपत्यकाभित्रको अर्को महानगर ललितपुरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन अघि हुनुहुन्छ । महर्जनले सुरुवातदेखि नै आफूलाई अग्रता दिलाउँदै आउनुभएको छ । उहाँको प्रारम्भिक मत परिणाम हेर्दा पुनः ललितपुरको महानगर प्रमुखमा दोहोरिने निश्चितजस्तै देखिन्छ । चिरीबाबुले १३ हजार ६४६ मत पाउँदा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ७ हजार ५१ मत पाउनुभएको छ ।

त्यस्तै पोखरा महानगरमा गठबन्धनका उम्मेदवार धनराज आचार्य अगाडि देखिनुभएको छ । उहाँले १७ हजार २४२ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार कृष्णबहादुर थापाले १५ हजार २१० मत ल्याउनुभएको छ । विराटनगर महानगरमा कांग्रेसका नागेश कोइराला अग्रस्थानमा हुनुहुन्छ । कोइरालाले पछिल्लो मत परिणाम अनुसार १५ हजार ४३० मत ल्याउनुभएको छ । एमालेका सागरकुमार थापाले ११ हजार ४९३ मत ल्याउनुभएको छ भने स्वतन्त्र उम्मेदवारी दिएका उमेशकुमार यादवले चार हजार ८०७ मत प्राप्त गर्नुभएको छ ।

वीरगंज महानगरपालिकामा गठबन्धनका उम्मेदवार अगाडि रहनुभएको छ । जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहले १३ हजार ८७८ मत ल्याएर अगाडि हुनुहुन्छ । एमालेका विजयकुमार सरावगीले सात हजार ३०० मत पाउनुभएको छ । ११ वटा उपमहानगरमध्ये अन्यमा धनगढी र जनकपुरमा स्वतन्त्र उम्मेदवार अगाडि रहेका छन् । त्यस्तै दाङको घोराही र बाराको कलैयामा एमाले अगाडि रहेको छ भने बाँकीमा गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् । यद्यपि मतगणना गर्न अझै बाँकी रहेकाले अन्तिमसम्म नतिजा फेदबदल पनि हुन सक्छ ।

इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार हेम कर्ण पौडेल १५,४०७ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । पौडेललाई पछ्याइरहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का यामकुमार चुंगवाङ सुब्बाले १२,८८६ मत ल्याउनुभएको छ । उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी १४,४४६ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई एकीकृत समाजवादीका केशवकुमार विष्टले ९,०६७ मतसहित पछ्याइरहनुभएको छ ।

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्रका हर्कराज राई अघि हुनुहुन्छ । उहाँले ८,१४० मतसहित अग्रता लिइरहनुभएको छ । उहाँलाई नेपाली कांग्रेस उम्मेदवार किशोर राई ८,१२६ मतका साथ पछ्याइरहनुभएको छ । यस्तै एमालेकी मञ्जु भण्डारी ६,७१३ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । उमपेयरमा माओवादीका अइन्द्र विक्रम बेघा ९,१३६ मतसहित अगाडि हुनुहुन्छ भने उहाँलाई एमालेका पदमप्रसाद लिम्बुले ८,८५१ मतसहित पछ्याइरहनुभएको छ । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी ४,४४६ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । सुडीलाई पछ्याइरहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शिवशंकर साहले ३,०२३ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा कांग्रसकी किशोरी साह ४५,९३ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई रुणादेवी झाले ३,२७० मतसहित पछ्याइरहनुभएको छ ।

बाराको कलैया उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका विनोदप्रसाद साह १३,३२१ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई कांग्रेसका राजेश राय यादवले ८,६५९ मतसहित पछ्याइरहनुभएको छ । त्यस्तै उपमेयरमा पनि एमालेका रौशन परविन ९,३४७ मतका साथ पहिलो स्थानमा हुनुहुन्छ भने ८,१५४ मतका साथ उहाँलाई पछ्याइरहनुभएको छ ।

जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र) उम्मेदवार राजन पौडेल १८,२३४ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । पौडेललाई पछ्याइरहनुभएकी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सरस्वतीदेवी चौधरीले १६,६८९ मत ल्याउनुभएको छ । त्यस्तै उपमेयरमा एमालेका भोलाप्रसाद अधिकारी १६,६७७ मतसहित अगाडि रहँदा कांग्रेसकी मेघा शाहीले १५,५३६ मतसहित पछ्याइरहनुभएको छ ।

हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टीकी (एकीकृत समाजवादी) उम्मेदवार मीनाकुमारी लामाले १३,६९८ मतका साथ अग्रता लिइरहनुभएको छ भने दोस्रोमा राप्रपाका दीपक बहादुर सिंहले १३,०६२ मत प्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा रहनुभएका (एमाले)का अनन्तप्रसाद पौडेलले १२,६०१ मत ल्याउनुभएको छ । उपमेयरमा कांग्रेसका राजेश बानिया २०,६०६ मतसहित पहिलो स्थानमा हुनुहुन्छ भने एमालेकी सुमित्रा काफ्ले १५,२६० मतसहित दोस्रो स्थानमा रहनुभएको छ ।

बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार खेलराज पाण्डेय १५,५८९ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । पाण्डेयलाई पछ्याइरहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बाबुराम भट्टराईले १०,५७६ मत ल्याउनुभएको छ । उपमेयरमा एमालेकी सावित्रादेवी अर्याल ११,७२५ मतसहित अग्रस्थानमा रहँदा एकीकृत समाजवादीका चीनबहादुर गुरुङले ८,६४१ मतसहित पछ्याइरहनुभएको छ ।

दाङको घोराही उपमहानगरपालिकाको मेयरमा एमालेका नरुलाला चौधरी ३२,३९२ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने नेकपा माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेल २६,१८२ मतसहित अग्रस्थानमा हुनुहुन्छ । त्यस्तै उपमेयरमा पनि एमालेकै हुमाकुमारी डिसीले ३०,६२४ मतले अग्रता लिइरहनुभएको छ भने कांग्रेसका भुप बहादुर डाँगी ३०,२६५ मतसहित दोस्रो स्थानमा रहनुभएको छ । दाङकै अर्को उपमहानगरपालिका तुलसीपुरमा एमालेका टिकाराम खड्काले २००५ मत ल्याएर अग्रता लिनुभएको छ भने कांग्रेसका गेहेन्द्र गिरि १९४७ मतसहित उहाँलाई पछ्याइरहनुभएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्ट १५,४१९ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । विष्टलाई पछ्याइरहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पशुपति दयाल मिश्राले ७,७७६ मत ल्याउनुभएको छ । उपप्रमुखमा जसपाका कमरुद्दीन राई ११,१९८ मतका साथ अग्रता लिइरहनुभएको छ भने राप्रपाकी बिन्दु चर्ति मगरले ७,०६० मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । उता, धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल १२,४६९ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । हमाललाई पछ्याइरहनुभएका नेपाली कांग्रेसका नृपबहादुर वडले ६,०३० मत ल्याउनुभएको छ । त्यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी ५,४२७ मतसहित अगाडि हुनुहुन्छ भने एमालेकी कन्दकलाकुमारी राना ४,७४९ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?